४ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्तिबारे सरोकारवालासँग छलफल गरेका छन् । मुख्यमन्त्री शाहले बुधबार प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका प्रशासन एवं आपूर्तिसँग सम्बन्धित क्षेत्रका सरोकारसँग बैठक बसेर आपूर्ति प्रणालीको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
बैठकमा विभागीय मन्त्रालयलेका सचिवसहित कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेशका सुरक्षा अंगका प्रमुखहरू, नेपाल आयल निगम प्रादेश कार्यालयका प्रमुख मनोहर डीसी, प्रदेश पेट्रोलियम डिलर्सका पदाधिकारी, उद्योग वाणिज्य संघ, ग्यास डिलर्स एसोसिएसन तथा ग्यास उद्योगका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकले पाँचवटा बुँदामा महत्वपूर्ण निर्णय समेत गरेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
यस्ता छन् पाँच निर्णय:
१. डिजेल, पेट्रोल, खान पकाउने एलपीजी ग्याँसलगायतका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा सुपरिवेक्षण तथा बजार अनुगमन गरी उपभोक्ता संरक्षण ऐन नियमावली लगायतका प्रचलित कानुन बमोजिम गठित अनुगमन समिति तथा संयन्त्रहरू मार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने । बजार अनुगमन तथा आपूर्ति नियमनकारीमा सरोकारवाला सरकारी निकायहरूलाई व्यवसायिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी संघ संस्थाहरूले आवश्यक सहयोग र समन्वय एवं सहजीकरण गर्ने ।
२) सबै पेट्रोलियम पदार्थ तथा ग्याँस उत्पादक उद्योग र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव, बढी मुल्य लिएर विक्री गर्नेजस्ता क्रियाकलाप हुन नदिनेतर्फ सचेत रहन अनुरोध गर्ने ।
३) कोही कसैले पनि पेट्रोलियम लगायतका अत्यावश्यक वस्तुको कालोबजारी गरेको, अत्याधिक मात्रामा लुकाएको, बढी मूल्य लिएर बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेको जस्ता क्रियाकलापहरु गरेको पाइएमा सम्बन्धित अनुगमन गर्ने निकायले प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने तर्फ ध्यान दिने ।
४) ग्याँस, पेट्रोलियम पदार्थहरूको मितव्ययी प्रयोग, खपत न्यूनीकरण, सहज आपूर्ति, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने लगायतका विषयमा सम्बन्धित निकायहरूले जनचेतनामूलक सूचना एवं सन्देशहरू प्रवाह गर्ने ।
५) हाल कुनै पनि पेट्रोलियम पदार्थहरू र अन्य अत्यावश्यकीय वस्तुहरूको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन र आपूर्ति व्यवस्थाको नियमन कार्यमा सरकारी निकायहरूले प्रभावकारी ढंगले सम्पादन गरिरहेको जानकारी सर्वसाधारणलाई अनुरोध गर्ने ।
प्रतिक्रिया 4