News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
- प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात, साथै लुम्बिनी र पूर्वी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
- प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास र यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, घरको झ्यालढोका बन्द गर्न र जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ।
५ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले मौसम बदलीसँगै देशका विभिन्न भागमा भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस्तो अपिल गरेको हो ।
प्राधिकरणका अनुसार शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ ।
साथै, शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा ) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि-मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।
पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।
प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4