७ चैत, काठमाडौं । नेपालको सामुदायिक शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ ग्लोबल कोअपरेशन फर डेभलपमेन्टले एकैपटक ५ हजार ५ जना विद्यार्थीलाई करिब १ करोड बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोगमा सञ्चालित यो अभियानले ललितपुर र लमजुङका ५६ वटा विद्यालयका बालबालिकालाई मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
सन् २०२१ देखि नेपालको शिक्षा क्षेत्रमा क्रियाशील यो संस्थाले यसपटक बागमती प्रदेशको ललितपुर र गण्डकी प्रदेशको लमजुङमा रहेको सामुदायिक विद्यालय छनौट गरेको हो ।
प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्मका ५ हजार ५ जना बालबालिकालाई स्कुल ब्याग, स्टेशनरी र व्यक्तिगत सरसफाइका लागि हाइजिन किट्स वितरण गरिएको ग्लोबल कोअपरेशनका अध्यक्ष मुक्ति मरासिनीले जानकारी दिए ।
चैत ६ गते शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिकाका ७ वटा विद्यालय श्री कालिदेवी, लुभु मावि, सिङ्घेरी सामुदायिक, श्री सूर्योदय बालविकास, नारायण आधारभूत, सिस्नेरी मावि र बालोदय आधारभूत विद्यालयका १,४३९ विद्यार्थीलाई २७ लाख ९५ हजार २१४ रुपैयाँ बराबरको सामग्री महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले हस्तान्तरण गरेका हुन् । उनले यस्तो सहयोगले बालबालिकाको पठन विकासमा सहयोग पुग्ने बताए ।

यसैगरी, ललितपुरकै दक्षिणी भेगमा अवस्थित कोन्ज्योसोम गाउँपालिकाका १४ विद्यालयमा १,१०२ जना विद्यार्थीलाई २७ लाख २४ हजार रुपैयाँ बराबरको सहयोग पुर्याइएको छ ।
पालिका अध्यक्ष कृष्णमान लामाले हस्तान्तरण गरेको यो सहयोगले दुर्गम क्षेत्रका बालबालिकालाई विद्यालयमा टिकाइराख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यस्तै गण्डकी प्रदेशको लमजुङ जिल्लाका ३५ विद्यालयमा पनि ४७ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सामग्री वितरण गरिएको छ । वरिष्ठ शिक्षा अधिकृत हिमलाल शर्माको नेतृत्वमा मंगलबार र बुधबार सञ्चालित सो कार्यक्रमले २,४६४ विद्यार्थीको शैक्षिक आवश्यकतालाई सम्बोधन गरेको छ ।
ग्लोबल कोअपरेशनका अध्यक्ष मुक्ति मरासिनीका अनुसार, १९ वटा शैक्षिक र स्वास्थ्य सामग्री रहेको ब्याग प्रत्यक विद्यार्थीलाई दिइएको हो, जसको मूल्य भ्याटसहित १,९४२ रुपैयाँ ४७ पैसा परेको छ ।
उनले नेपालको सार्वजनिक शिक्षा प्रणालीलाई सुदृढ बनाउने एक दीर्घकालीन प्रयास रहेको बताए ।

‘हामीले एक विद्यार्थीका लागि झन्डै दुई हजार रुपैयाँ बराबरको प्याकेज तयार पारेका छौं, जसमा विद्यालय झोलादेखि व्यक्तिगत सरसफाइका सामग्रीसम्म छन्,’ मरासिनीले भने, ‘बालबालिकालाई लेखपढमा सहज होस भनेर हामीले गुणस्तरीय ब्याग र शैक्षिक सामग्री दिएका हौं ।’
यो संस्थाले सन् २०२१ देखि चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट सँगको साझेदारीमा नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।
यस वितरणको मुख्य विशेषता भनेको सामग्रीको गुणस्तर र पारदर्शिताका लागि गरिएको ‘सोसल अडिट’ (सामाजिक परीक्षण) हो, जसले वैदेशिक सहायता सिधै लक्षित वर्गसम्म पुगेको सुनिश्चित गरेको छ ।
प्रतिक्रिया 4