मासु उद्योगबाट निस्किने सबैभन्दा महँगो चिज के होला ? भनेर कसैले सोध्यो भने गाईको पित्तथैलीको पत्थरी भन्ने उत्तर सायद कसैबाट पनि आउँदैन होला।
तर गाईको पित्तथैलीमा भेटिने स-साना पत्थरी अर्थात् ढुंगाहरू वास्तवमै सुनभन्दा पनि महंगा हुन्छन् भन्ने वास्तविकता थाहा पाउँदा जो कोहो पक्कै अचम्ममा पर्छ ।
अझ रोचक त के भने यस्तो बेकारजस्तो लाग्ने चिज विश्वका विभिन्न ठाउँमा चोरी, तस्करी र कालोबजारी भइरहेको छ ।
चिनियाँ परम्परागत चिकित्सा प्रणालीमा ‘निउ हुआङ’ भनेर चिनिने गाईको गलस्टोन हजारौँ वर्षदेखि औषधिको रूपमा प्रयोग हुँदै आएको छ । उच्च रक्तचाप, स्ट्रोक, मुटुसम्बन्धी समस्या र चेतना गुम्ने अवस्थासम्मका गम्भीर रोगमा यसको प्रयोग हुने गर्छ । विशेषगरी अंगोंग निउहुआङ वान नामको औषधि बनाउन यो निकै महत्वपूर्ण मानिन्छ । चीनमा मस्तिष्कघातको दर अत्यधिक भएकाले यसको माग पछिल्लो समयमा झन् चुलिएको छ ।
द वालस्ट्रिट जर्नलमा सन् २०२५ मा प्रकाशित रिपोर्ट अनुसार गाईको पित्तथैलीको पत्थरीको मूल्य प्रतिऔंस ५ हजार ८०० डलरसम्म पुगेको थियो । त्यो भनेको उक्त समयको सुनको मूल्यभन्दा झन्डै दोब्बर हो । अहिले पनि यसको मूल्य घटेको छैन ।
तर यस्तो महँगो चीज सजिलै पाइँदैन । सबै गाईको पित्तथैलीमा यस्तो पत्थरी बन्दैन । सामान्यतया वृद्ध अवस्थाका तथा स्वास्थ्य समस्याका कारणले गर्दा मात्रै गाईको शरीरमा यस्तो पत्थरी बन्ने भएकाले यो निकै दुर्लभ हुन्छ । यसको आपूर्ति निकै सीमित छ । चीनको आधुनिक कृषि प्रणालीमा गाईहरू कम उमेरमै मासुका लागि काटिने भएकाले यस्तो पत्थरी भेटिने सम्भावना झन् कम हुन्छ ।
ब्राजिल, अष्ट्रेलिया र अमेरिकाको टेक्सास जस्ता ठाउँमा त अवस्था झन् अचम्मलाग्दो छ । ब्राजिलको साओ पाउलो नजिकैको एउटा गाउँमा त हतियारधारी समूहहरूले गाई चोर्नका लागि होइन कि गाईको शरीरभित्रको त्यो ढुंगा निकाल्न गाई फार्ममा आक्रमण गर्न थालेका छन् । कतिपय वधशालाका कर्मचारीहरूले पनि चुपचाप गाईको शरीरभित्रको पत्थरी लुकाएर बेच्ने गरेको पाइएको छ जसले कालोबजारीलाई झनै तताएको छ।
उता गाईको शरीरमा बन्ने त्यस्ता प्राकृतिक पत्थरीले नपुगेपछि चिनियाँ अनुसन्धानकर्ताहरूले प्रयोगशालामै त्यस्ता पत्थरी उत्पादन गर्न समेत थालेका छन् । ती कल्चर्ड केही हदसम्म प्राकृतिक रुपको पित्तथैलीको पत्थरीजस्तै हुने भएपनि बजारमा सक्कली कै उच्च माग छ ।
अझ विचित्र कुरा त के भने मानव शरीरमा बन्ने पित्तथैलीको पत्थरीको पनि माग बढ्न थालेको छ । केही रुसी मिडियाका अनुसार चीनमा मानिसको शरीरबाट निकालिने पित्तथैलीको पत्थरीको एउटा टुक्राको मूल्य १ लाख रुबल (करिब १,२७० डलर) सम्म पर्ने गरेको छ ।
अनलाइन प्लेटफर्महरूमा यस्ता पत्थरीहरु बेच्ने विज्ञापनहरू खुलेआम देखिन थालेका छन्। मानौँ कि त्यहाँ गरगहना तथा किमती पत्थरको बिक्री भईरहेको छ ।
एजेन्सी
प्रतिक्रिया 4