News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।
- फागुन मसान्तसम्म नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षभन्दा १२.५४ प्रतिशत बढी हो।
- नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ र व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ कायम छ।
८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ औं महिनामा निर्यात २ खर्ब नजिक पुगेको छ ।
भन्सार विभागका अनुसार साउन–फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको हो । समीक्षा अवधिमा निर्यात व्यापार २०.८३ प्रतिशतले विस्तार भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ हाराहारी मात्र थियो ।
चालु आवमा वनस्पति तेल नेपाल आयात गरी भारततर्फ निर्यात गर्ने व्यापार फस्टाउँदा निर्यातमा सकारात्मक प्रगति देखिएको हो । नेपालको निर्यात व्यापारको सर्वाधिक ठूलो अंक वार्षिक २ खर्ब ७७ अर्ब रुपैयाँ हो । जुन गत आवमा बनेको कीर्तिमान हो ।
चालु आवमा अहिलेकै गतिमा निर्यात वृद्धि भएमा सो कीर्तिमानी तोडिने छ । २ खर्ब नजिक पुगेको निर्यातमा यस वर्ष सबैभन्दा धेरै योगदान प्राकृतिक तेल तथा घ्यूको रहेको छ । जुन ८ महिनामा ८८ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।
दोस्रो स्थानमा कफी, चिया तथा मसला रहेको छ । यसको हिस्सा १३ अर्ब ३६ करोड रुपैयाँ बराबरको छ । तेस्रो स्थानमा धागो तथा रेसा छ । जुन ८ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । कार्पेट र कार्पेटजन्य वस्तुको निर्यात ७ अर्ब ५५ करोड रुपैयाँ बराबरको भएको तथ्यांक छ । फागुन २०८२ मा मात्र २२ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
आयातको वृद्धिदर खुम्चिँदै
फागुन नेपालमा निर्वाचनको महिना थियो । यसका बाबजुत एक महिनामा वस्तु आयात १ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको भएको छ । तर, आयातको वृद्धिदर भने अघिल्लो महिना (माघ)को तुलनामा केही खुम्चिएको छ ।
फागुन मसान्तसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १२.५४ प्रतिशत धेरै हो । माघमा भने १३.६५ प्रतिशतले आयात बढेको थियो ।
८ महिनामा सबैभन्दा धेरै वस्तु आयात पेट्रोलियम पदार्थ/इन्धनको भएको छ । यस अवधिमा नेपालमा २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वनस्पति तेल तथा जनावरको बोसो आयात समेत १ खर्ब माथि भएको छ । ८ महिनामा यस्ता वस्तुको आयात १ खर्ब ८ अर्ब रुपैयाँ बराबर भएको छ ।
मेसिनरी र मेकानिकल उपकरण आयातमा ९१ अर्ब ९७ करोड रुपैयाँ विदेशिएको छ । फलाम र स्टीलको आयात ८९ अर्ब ७४ करोड रुपैयाँ बराबर भएको छ । विद्युतीय मेसिनरी र उपकरणको आयात ८८ अर्ब २३ करोड रुपैयाँको भएको छ । सवारी साधन आयातमा ७३ अर्ब ४६ करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । बहुमूल्य धातु, सुन र पत्थरको आयातमा ५४ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको छ । मल आयात ४५ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको छ ।
८ महिनाको वैदेशिक व्यापार
आयात : १२ खर्ब ८९ अर्ब
निर्यात : १ खर्ब ९१ अर्ब
कुल वैदेशिक व्यापार : १४ खर्ब ८० अर्ब
व्यापार घाटा : १० खर्ब ९८ अर्ब
आयात/निर्यात अनुपात : ६.७५
आयातको हिस्सा : ८७.०९
निर्यातको हिस्सा : १२.९१
८ महिनामा कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.५५ प्रतिशत धेरै हो । व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ बराबर छ । जुन अघिल्लो आवको तुलनामा ११.२२ प्रतिशत धेरै हो ।
गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापारको आकार १३ खर्ब ३ अर्ब थियो । व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ थियो । यो अवधिमा आयात/निर्यात अनुपात ६.७५ रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७.२४ रहेको थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ०.८८ प्रतिशतले खुम्चिएर ८७.०९ प्रतिशत कायम भएको छ । निर्यातको हिस्सा भने ६.४१ प्रतिशतले विस्तार भएर १२.९१ प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ ।
भारत र चीनसँग धेरै व्यापार, उस्तै व्यापार घाटा
नेपालको अधिकतम व्यापार भारत र चीनमा केन्द्रित छ । भारतबाट ८ महिनामा ७ खर्ब २४ अर्बको वस्तु नेपाल भित्रिएको छ । नेपालबाट १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वस्तु भारत निर्यात भएको छ । चीनबाट यस अवधिमा २ खर्ब ६५ अर्बको वस्तु नेपाल आएको छ । नेपालबाट चीनतर्फ भने ९८ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।
तेस्रो ठूलो व्यापार साझेदार मुलुक अर्जेन्टिना बनेको छ । यस मुलुकबाट ७५ अर्ब बराबरको वस्तु नेपाल आएको तथ्यांकले देखाएको छ । चौथो व्यापार साझेदार मुलुक यूएई रहेको छ । यस मुलुकबाट ४५ अर्ब ७६ करोडको वस्तु आयात भएको छ । पाँचौ स्थानमा अमेरिका छ । सो मुलुकबाट २० अर्ब ३७ करोडको सामान नेपाल आएको छ । नेपालबाट १२ अर्ब ८० करोडको वस्तु अमेरिका निर्यात भएको छ ।
आयातमा डिजेल पहिलो स्थानमा
८ महिनामा आयात भएका वस्तुमध्ये डिजेल पहिलो स्थानमा छ । यस अवधिमा ८२ अर्ब १० करोडको डिजेल आयात भएको छ । कच्चा सोयाविन तेल ८१ अर्ब १८ करोडको आयात भएको छ । पेट्रोल ४३ अर्ब ८९ करोडको आयात भएको छ ।
एलपीजी ग्यासको आयात ३७ अर्ब ३१ करोडको भएको छ । यस अवधिमा २९ अर्ब ९३ करोड बराबरका स्मार्टफोन आयात भएको छ । सुन २३ अर्ब ४९ करोड बराबरको आयात भएको तथ्यांक छ ।
निर्यातमा पहिलो स्थानमा सोयाविन तेल रहेको छ । जुन ७५ अर्ब ७७ करोड बराबरको निर्यात भइसकेको छ । दोस्रो स्थानमा अलैँची रहेको छ । जुन ९ अर्ब ४९ करोडको भएको छ । तेस्रो स्थानमा कार्पेट छ । जुन ६ अर्ब ५३ करोड बराबरको भएको तथ्यांक भन्सार विभागको छ ।
प्रतिक्रिया 4