+
+
Shares

भित्रिँदै वर्षा र हावाहुरीको नयाँ प्रणाली, कति शक्तिशाली छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा र हावाहुरी हुने प्रक्षेपण गरेको छ।
  • मौसमविद्हरूले काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्का वर्षा र हावाहुरी चल्ने सम्भावना रहेको बताएका छन् ।

१२ चैत, काठमाडौं । यो साताको अन्तिममा पश्चिमी वायु पुन: सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्मै वर्षा हुने सम्भावना देखाएका छन् । तर पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम प्रभाव पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् । विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताए ।

यसअघि चैत ६ र ७ गते काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा हावाहुरी र असिनासहित पानी परेको थियो । हिमाली जिल्लाहरुमा हिमपात भएको थियो । वर्षाले खेतीपातीमा संलग्न किसानहरुका लाई राहत भए पनि असिना र हुरीले भने मर्कामा पारेको थियो ।

ताजा उपग्रह तस्विरमा भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिन्छ । त्यसको असर नेपालमा पनि पर्ने सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका मौसमविद बिनु महर्जन विहीबारदेखि नै त्यसको असरको संकेत देखिन थाल्ने बताउँछिन् । ‘शुक्रबार र शनिबार पानी पर्ने सम्भावना छ । त्यसको संकेत विहीबारदेखि नै देखिन थाल्छ,’ महर्जनले बुधबार दिउँसो अनलाइनखबरसँगको कुराकानीमा भनेकी थिइन् ।

उनका अनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रिमनसुनको समय भएकाले यतिबेला हावाहुरी चल्ने र चट्याङका घटना बढी हुने भएकाले सतर्कता अपनाउन उनले सुझाव दिइन् ।

काठमाडौंमा पनि हुरी चल्न सक्ने

आगामी दिनमा भित्रिन लागेको नयाँ प्रणालीले हावाहुरी, असिना, पानी र हिमपात हुने सम्भावना छ । साथै चिसो पनि महसुस हुनेछ । त्यसको असर काठमाडौं उपत्यकामा पनि पर्ने सम्भावना छ ।

मौसमविद डा. विनोद पोखरेलका अनुसार अहिलेको प्रणालीले पश्चिम तराईमा वर्षाको सम्भावना अलि थोरै भए पनि अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने राम्रो सम्भावना छ ।

जलवायु अध्येता डा. धर्मराज उप्रेतीले वर्षासँगै काठमाडौं उपत्यकामा समेत साँझतिर हुरी चल्ने सम्भावना रहेको बताए । तर तराईका जिल्लाको तुलनामा डाँडैडाँडाले घेरिएको काठमाडौं उपत्यकामा भने ठूलो हुरी बतास चल्ने सम्भावना कम रहेको उनको भनाइ छ ।

‘भारतको बिहार र उत्तरप्रदेशतर्फबाट पनि सिस्टम नेपाल प्रवेश गर्ने भएकाले त्यसको प्रभाव लुम्बिनी–चितवनसम्म अलि बढी तर काठमाडौं उपत्यकामा कम पर्नसक्ने आँकलन गर्न सकिन्छ,’ उनले भने, ‘तर त्यो पनि आइसोलेटेड र मोडरेट खालको छ ।’

उनका अनुसार उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना छ ।

कति शक्तिशाली छ नयाँ प्रणाली ?

चैत ६ र ७ गतेको भन्दा यो प्रणाली कम शक्तिशाली हुने ठानिएको छ । ‘अहिलेसम्मको अवस्था हेर्दा पहिलेको भन्दा कम शक्तिशाली हुन्छ जस्तो देखिन्छ,’ मौसमविद महर्जनले भनिन् ।

जलवायु अध्येता डा. धर्मराज उप्रेतीका अनुसार युरोपियन युनियन, जर्मन र भारतका मौसम पूर्वानुमान सम्बन्धी संस्थाहरुको मोडेलले आगामी शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना देखाएका छन् । वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम हुने सम्भावना देखिएको उनको भनाइ छ । तर हावाहुरीको प्रभाव भने पश्चिममा बढी र पूर्वमा कम हुने सम्भावना छ ।

‘यसको प्रभाव शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म पर्ने सम्भावना देखिएको छ,’ उप्रेती भन्छन्, ‘काठमाडौं उपत्यकामा शुक्रबार साँझ हावाहुरी र वर्षा हुने सम्भावना देखिन्छ ।’

भारतमा पर्ने छ बढी प्रभाव

भारतको मौसम विज्ञान विभागका अनुसार यो प्रणालीले भारतका विभिन्न प्रदेशमा बढी प्रभाव पर्ने अनुमान गरेको छ । त्यसैले भारतमा मध्यम जोखिमको अलर्ट जारी गरिएको छ ।

स्याटेलाइट तस्वीरको आधारमा उत्तर–उत्तरपूर्वी भारतमा मौसम सक्रिय रहने र त्यसले गर्दा तापक्रममा गिरावट आई चिसो बढ्ने अनुमान गर्न सकिन्छ ।

यसको प्रभावले जम्मु–कश्मिर, हिमाचल प्रदेश र उत्तराखण्ड लगायतका हिमाली क्षेत्रहरूमा वर्षा र हिमपात हुने सम्भावना छ । यसैगरी पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशका पश्चिमी केही भागहरूमा मेघगर्जन, हावाहुरी र हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।

यसैगरी उत्तर–पूर्वी भारतका आसम, मेघालय र अरुणाचल प्रदेशमा पनि बादल लागेकाले वर्षाको गतिविधि जारी रहने देखिन्छ । दक्षिण भारतको मौसम भने तुलनात्मक रूपमा स्थिर देखिन्छ । यद्यपि कतै–कतै बादलहरु भने देखिएको छ ।

यसले गर्दा नेपालको तापक्रममा समेत केही गिरावट आई चिसो महसुस हुने पूर्वानुमान छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?