+
+
Shares

बालेनको पुर्ख्यौली गाउँमा उत्साह, कोही मिठाई बाँड्दै र कोही दीपावलीको तयारीमा

बालेन प्रधानमन्त्री बन्न लागेको खबरले उनको पुर्ख्यौली गाउँ एकडारामा उत्साह छ । कोही मिठाई बाँड्ने र कोही दीपावली गर्ने तयारीमा छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ चैत १३ गते १०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन प्रधानमन्त्री बन्ने भएपछि उनको पुर्ख्यौली गाउँ एकडारामा उत्सवको माहोल छ।
  • बालेन प्रधानमन्त्री बन्न लागेको खुसीमा मिठाई बाँड्ने र दीपावलीसहित उत्सव मनाउने तयारी छ ।
  • बालेनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दैछन् ।

१३ चैत, जनकपुरधाम । महोत्तरीको एकडारास्थित बालेन शाहको पुर्ख्यौली घर अगाडि उभिएकी ६५ वर्षीया मान्ती देवी पासवान हर्षित मुद्रामा थिइन् । उनी हर्षित हुनेको कारण हो बालेन प्रधानमन्त्री बन्न लागेको खबर ।

बालेन सानो छँदा आफ्नै काखमा राखेर खेलाएको स्मरण गर्दै उनले अनलाइनखबरसँग भनिन्, ‘बड खुसी, बड आनन्दमे छी, बालम प्रधानमन्त्री बनिरहल है (धेरै खुसी, धेरै आनन्द लागिराखेको छ, बालेन प्रधानमन्त्री बन्दैछन्) ।’

उनका अनुसार मान्तीदेवी बालेनकै घरमा काम गर्थिन् । बालेन बुबा–आमासँगै काठमाडौंबाट घरमा उनले खेलाउँथिन्, माया गर्थिन् । विगत सम्झिँदै उनले भनिन्, ‘अहिले उहाँ प्रधानमन्त्री बन्न लाग्नु भएको छ, हाम्रो लागि योभन्दा ठूलो खुसी के हुन सक्छ !’

उनले कहिल्यै बालेन प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरेकी थिइनन् । तर फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा १८२ सिट जितेको रास्वपाले विहीबार बरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्‍यो ।

यससँगै उनी प्रधानमन्त्री बन्ने पक्का पनि भयो । बालेनले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दैछन् ।

मान्ती देवी पासवान

यो खबर सुनेपछि मान्तीदेवी उत्साहले भरिएकी छन् । बालेन प्रधानमन्त्री बन्न लागेको खबरले मान्तीदेवीमा मात्र होइन बालेनको पुर्ख्यौली गाउँ एकडारामै उत्साह छ ।

गाउँकै सत्यनारायण साह बालेनले प्रधानमन्त्रीको शपथ लिने खुसीमा उत्सव मनाउने तयारीमा छन् । उनले गाउँभरि मिठाई बाँड्ने, रङ–अबिर लगाएर र पटाका पड्काएर खुसी साटासाट गर्ने योजना बनाएको बताए ।

‘हाम्रो गाउँबाट बालेन प्रधानमन्त्री बन्न लाग्नु भएकोमा हामी निकै खुसी छौँ । सक्दो मिठाई बाँड्छौँ, रङ–अबिर लगाएर उत्सव मनाउँछौँ र पटाका पड्काउँछौँ,’ उनले आफ्ना योजना सुनाए ।

सत्यनारायण साह

बालेनको घर अगाडि किराना पसल चलाउँदै आएका ६६ वर्षीय जयसुन्दर ठाकुर पनि उत्तिकै उत्साहित छन् । ‘यो त सपना जस्तै लागिरहेको छ । मधेशको गाउँबाट कुनै केटा यसरी प्रधानमन्त्री बन्छ भन्ने त कल्पनै थिएन,’ उनले भने, ‘यो त भगवानको उपहार जस्तै हो । अब पक्कै केही परिवर्तन हुन्छ भन्ने आशा छ ।’

विगतमा बालेनको घरमा मजदुरी गर्ने मरनी देवी महरा पनि अरूझैं अत्यन्त खुसी देखिन्छिन् । ‘बड खुसी, बड निक । अतेक खुसी कि कही नै सकैछी । हमसभ भोटो देनेछली, आब प्रधानमन्त्री सेहो भगेलै (धेरै खुसी, धेरै राम्रो । यति खुसी त कहिल्यै लागेको थिएन । हामी सबैले भोट दियौं, प्रधानमन्त्री पनि बनिहाले)’ उनले भनिन् । खुसीसँगै अब आफूजस्ता गरिबहरूको जीवनस्तर पनि बालेनले उकास्ने आशा उनको छ ।

उनीजस्तै गाउँका हरेक छिमेकीमा पनि उल्लास देखिएको छ । कोही लड्डु बाँडेर खुसी साट्दै छन् भने कोही दीपावली गरेर उत्सव मनाउने तयारीमा छन् ।

तर यतिबेला बालेनको पुर्ख्यौली घर भने सुनसान छ । उनका परिवारका सदस्यहरू घरमा छैनन् । पछिल्लो समय चुनावी प्रचारप्रसारको क्रममा गत फागुनमा बालेन आफ्नो घर आएका थिए । त्यस बेला उनले घर प्रवेश गरी कुलदेउवालाई ढोगेका थिए । गाउँलेले भव्य स्वागत गरेका थिए ।

बालेन जन्मेदेखि नै उनका बुबा रामनारायण साह जागिरे भएकाले परिवार प्राय: बाहिरै बस्दै आएको थियो । रामनारायण साह वरिष्ठ आयुर्वेद चिकित्सक थिए । उनी घर आउँदा छोराछोरी लिएर आउँथे । घरमा काम गर्ने मजदुर तथा स्थानीयले उनका छोराछोरीहरुलाई   खेलाउने गर्थे । त्यसमा बालेन पनि गाउँकै बालबालिकासँग रमाएर खेल्थे ।

‘रामनारायण छोराछोरीहरु लिएर घर आउँदा मेरा छोराछोरीहरु र गाउँका अरु बच्चाहरुसँगै खेल्थे । रमाउँथे,’ स्थानीय जयसुन्दर ठाकुरले विगत सम्झिए ।

जयसुन्दर ठाकुर

गत मंसिर १५ गते उनका बुबा रामनारायण साहको ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भयो । रामनारायणका दुई विवाह भएका थिए । दुवै पक्ष मिलाएर उनका ६ सन्तान छन् । भारतको धनसपट्टीकी जेठी श्रीमतीबाट तीन छोरी छन् । त्यसमा एकजना छोरा सानो छँदै बितिसकेको स्थानीय बताउँछन् ।

त्यसपछि उनले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा ध्रुवदेवी शान्तिसँग दोस्रो बिहे गरे । उनीबाट जेठी छोरी सुजाता अनि छोराहरु कौशलेन्द्र र बालेन्द्र (बालेन) जन्मिए । सुजाता आर्ट्समा स्नातकोत्तर गरेकी छन् । छोरा कौशलेन्द्र (सीए) र बालेन्द्र (बालेन) इन्जिनियरसँगै र्‍यापर बने । सानैदेखि पढाइमा अब्बल र समाज बुझेका उनलाई केही गरौं भने हुटहुटि पहिलेदेखि थियो । २०७९ को चुनावमा उनी देशकै राजधानी भएको केन्द्र काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए । कम बोल्ने, काम गर्ने र इमान्दार तथा स्वच्छ शैली भएकै कारण उनले जनताको विश्वास जित्दै गए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात बदलिएको परिस्थितिमा उनले संसदीय राजनीतिका लागि रास्वपा रोजे । रविसँग समझदारी गरी भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित हुँदै संसदीय चुनावमा भिड्न गत माघ ४ गते काठमाडौंको मेयर पदबाट राजीनामा दिए । गत फागुन २१ गते सम्पन्न चुनावका लागि उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पुगेर चुनाव लडे । ४९ हजार ६१४ मतान्तरले उनले ओलीलाई पराजित गरे ।

बालेनको प्रवेशसँगै रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी झण्डै दुई तिहाइ अर्थात् १८२ सिट जित्न सफल भयो । भर्खर ३६ वर्ष पुगेका बालेनले झण्डै दुई तिहाइ बहुमतको बलियो सरकारको नेतृत्व गर्दैछन् ।

बालेन प्रधानमन्त्री बनेर शपथ लिन लागेकोमा स्थानीय शैलदेवी लोहार गौरवान्वित छन् । ‘म बालेनको घरमा खाना पकाउने काम गर्थें । २०/२५ जनाको खाना दिनहुँ पकाउँथे, खुवाउँथे । आज यति मिलनसार घरको मान्छे प्रधानमन्त्री हुँदा निकै खुसी छु,’ उनले सुनाइन्, ‘प्रधानमन्त्री बन्छ भन्ने विश्वास त थिएन । तर हामीले जस्तै धेरै नेपालीले माया गरे । त्यही भएर उहाँ सफल हुनुभएको छ ।’

शैलदेवी लोहार

उदार जमिन्दार परिवार

अहिले पनि बालेनको पुर्ख्यौली थलोमा घर, हबेली र विघौं जग्गा यथावत् छन् । हबेलीमा एकडारा गाउँपालिका कार्यालय सञ्चालनमा छ भने बाँकी पुरानो घर दलानकै रूपमा रहेको छ । छेउको एउटा पुरानो दलान भने उजाडिसकेको छ । घर पछाडि मन्दिर र त्यसपछि पोखरी रहेको छ । घर अगाडि–पछाडि आँपलगायतका फलफूलका रुखरू छन् ।

स्थानीय रामवरण पासवानका अनुसार घर रहेको जग्गाको क्षेत्रफल ५ विघाभन्दा बढी छ । उक्त जग्गा छिमेकीहरूले कसैले मनखपमा त कसैले अधियामा खेती गर्दै आएका छन् । खाली रहेको चौरमा गाउँकै गाईभैँसी चराउने गरिन्छ । स्थानीयले उब्जाएको अन्नपातमध्ये चाहिनेहरूले दिने गरेका छन्, नभए बालेनको परिवारबाट कुनै करकाप छैन ।

पासवान आफैंले वार्षिक ५–६ हजार रुपैयाँमा एक विघा (२० कठ्ठा) जग्गा मनखपमा लिएको बताउँछन् । ‘जग्गा जमिन यहीँका मान्छेले उब्जाउँछन् । मैले पनि केही जग्गा मनखपमा लिएको छु । उहाँहरूले लिनु पनि हुँदैन, कुनै करकाप छैन,’ बिहीबार घर छेउको जग्गाको फाँट देखाउँदै उनले भने ।

बालेनको परिवार पहिलेदेखि नै उदार स्वभावको छ । घर अगाडि फुलेको आँपको मजर देखाउँदै ६८ वर्षीय रामवरणले भने, ‘यी आँप हेर्नुहोस्, यो बालेन र उहाँको परिवारले खाने होइन । सबै यहीँका मान्छेले खाने हुन् ।’

रामवरण पासवान

बालेन प्रधानमन्त्री बन्न लागेको खुसीमा उनी पनि मिठाई बाँड्ने कार्यक्रममा सहभागी हुने र दीपावलीसहित उत्सव मनाउने तयारीमा छन् ।

चारपुस्तादेखि उनको परिवार बुझेका छिमेकी जयसुन्दरका अनुसार बालेनको परिवार पुस्तौंदेखि जमिनदार परिवार हो । बालेनका हजुरबुबाका बुबाको नाम मेथुर साह थियो । मेथुर साहका एक छोरा मुनिलाल साह थिए । मुनिलालका चार छोरा छन्– डा. रामनारायण शाह, इन्जिनियर सत्यनारायण साह, जीतनारायण साह र लालबाबु साह । सम्पन्न परिवारका भएकाले मुनिलालसम्म मात्र गाउँमा बसोबास भयो । अरुको बसोबास शहरतिर भयो ।

‘बालेनका बाजे मुनिलालसम्म मात्र घरमा बस्नुभयो । छोराहरूको पठनपाठनका लागि बाहिर जानुभयो । रोजगारीका क्रममा बाहिरै बसोबास भएपछि सन्तानहरू पनि बाहिरै हुर्के–बढे । चाडपर्वमा उत्सवमा मात्र घर आउने–जाने हुन्थ्यो,’ जयसुन्दरले सुनाए ।

बालेनको पुर्ख्यौली घर

बालेनका हजुरबुबा मुनिलालको करिब १० वर्षअघि निधन भयो । त्यसयता घर प्राय: खाली नै रहने गरेको छ । मुनिलालका छोराहरू गाउँमा हुर्किए पनि उच्च शिक्षा बाहिरै हासिल गरे र रोजगारीका सिलसिलामा बाहिरै बस्न थाले ।

यसै क्रममा चिकित्सक छोरा डा. रामनारायणले काठमाडौंको सिनामंगलमा घर बनाएर बसोबास गर्न थाले । अहिले बालेनको परिवार पनि सिनामंगलकै घरमा बस्दै आएको छ ।

बालेनको परिवार पुस्तौंदेखि भद्र र शालीन छ । धनका कारण हुने अहंकारजस्तो गलत प्रवृत्ति यस परिवारमा कहिल्यै देखिएन । ‘बालेनको परिवार पुस्तौंदेखि अत्यन्त शालिन परिवार छ,’ उनी भन्छन् । यही मिलनासर उदार स्वभावको कारण मुनिलाल हुँदासम्म घरमा छेउछाउका बस्तीका मानिसहरूको आवतजावत भइरहन्थ्यो । मुनिलालले हात्ती समेत पालेका थिए । घर अगाडि जाडोमा ठूलो घुर बालिन्थ्यो । जहाँ आगो ताप्न छिमेकीहरू हबेलीमा भेला हुन्थे । गफगाफ चल्थ्यो ।

बालेनको घरमा सन्चालित एकडारा गाउँपालिका कार्यालय

नातामा बालेनका दाइ पर्ने मामाका छोरा धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासका सरोज पुर्वेका अनुसार सानैदेखि पढाइमा लगनशील, अडिग स्वभाव, फरक सोच र रणनीतिक क्षमताका कारण बालेन परिवारका आशाका पात्र थिए । बालेन सानैदेखि पढाइमा लगनशील र मेहेनती भएकाले भविष्यमा राम्रो गर्छन् भन्ने त थियो तर प्रधानमन्त्री नै बन्लान् भन्ने विश्वास उनलाई पनि थिएन ।

उनी भन्छन्, ‘ऊ अरुभन्दा फरक थियो, बालेनले भविष्यमा केही गर्न सक्छ भन्ने थियो, तर प्रधानमन्त्री नै बन्छ भन्ने आकलन कसैले गरेको थिएन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?