News Summary
Generated by OK AI. Editorially reviewed.- दीपककुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
- साहले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३२ हजार ७ सय २२ मत प्राप्त गरी विजयी भएका थिए।
- साहले स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राख्दै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
१३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दीपककुमार साहले पाएका छन् ।
बालेन्द्र साहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्मा महोत्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका हुन् ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले ३२ हजार ७ सय २२ मत प्राप्त गरी विजयी भएका थिए । उनले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । साहले भण्डारीलाई २२ हजार ५ सय २४ मतान्तरले पराजित गरेका थिए ।
विशेषगरी स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राख्दै उनी चुनावमा होमिएका थिए ।
२०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३५ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो । आफ्नो जन्मस्थान र जिल्लाको समस्या नजिकबाट बुझेका साह स्थानीय स्तरमा विभिन्न काम गर्दै आएका थिए ।
राजनीतिमा परिवर्तन र सुशासनको एजेन्डा लिएर मैदानमा उत्रिएका साहको पृष्ठभूमि व्यावसायिक र प्राज्ञिक क्षेत्रमा छ । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् ।
राजनीतिमा पूर्णकालीन हुनुअघि साहले स्वास्थ्य र विकास क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुभव सँगालेका छन् । उनले विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता ख्यातिप्राप्त संस्थामा काम गरिसकेका छन् ।
चुनावी मैदानमा होमिँदा साहले स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राखेका थिए । एउटा दक्ष विज्ञ राजनीतिमा आउनुपर्छ भन्ने मान्यता राख्दै आएका उनको काँधमा श्रम मन्त्रालयको जिम्मेवारी परेको हो ।
प्रतिक्रिया 4