+
+
Shares

सस्मित पोखरेल : बालेनका सहयात्री थिए, शिक्षामन्त्री बने

महानगरदेखि नै बालेनका सहयात्रीको रूपमा चिनिएका सस्मितले अब देशको शिक्षा सुधार्ने मौका पाएका छन् । विगतमा आफैंले उठाएका एजेन्डालाई व्यवहारमा लागु गर्ने अवसर उनको हातमा आएको छ । 

कौशल काफ्ले कौशल काफ्ले
२०८२ चैत १३ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सस्मित पोखरेललाई बालेन शाह नेतृत्वको सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त गरेको छ।
  • पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा सांसद हुन् र ३० हजार ७३७ मत ल्याएर विजयी भएका थिए।
  • उनले शिक्षा सुधार, युवा रोजगारी, डिजिटल अर्थतन्त्र र स्टार्टअप मैत्री नीति प्रवर्द्धनमा काम गर्ने बताएका छन्।

१३ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा सांसद हुन् ।

निर्वाचनकै समयबाट ‘हट सिट’का प्रतिस्पर्धी पोखरेल सार्वजनिक चर्चामा थिए । उनको क्याम्पेनिङ शैलीलाई लिएर पनि सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

सस्मितका प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरू थिए । तर २९ वर्षीय सस्मितले सबैलाई फराकिलो मतान्तरले पछि पारे । उनले ३० हजार ७३७ मत ल्याए । दोस्रो भएका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए । ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याए ।

सस्मित काठमाडौं–५ का स्थायी बासिन्दा हुन् । ‘म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहाँका गल्लीगल्ली चहारेको व्यक्ति भएकाले यस क्षेत्रका आवश्यकता र तपाईंहरूको चाहनालाई नजिकबाट बुझेको छु,’ प्रतिस्पर्धामा उत्रँदै गर्दा पोखरेलले अनलाइनखबरसँग भनेका थिए, ‘जनताको आवाज संसद्सम्म पु‍र्याउने संकल्पसहित यो यात्रामा अघि बढेको हुँ ।’

कानुनमा स्नातक गरेका पोखरेलले काठमाडौं विश्वविद्यालय स्कुल अफ लबाट बीएएलएलबी सकेका छन् । त्यस्तै, प्रारम्भिक शिक्षा र प्लस टु भने अमेरिकामा पढे ।

२०७२ को भूकम्पपछि अमेरिकामा बसेर ‘अर्थक्वेक फन्ड’ संकलन र व्यवस्थापनमा सक्रिय थिए, जसको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भयो ।

पोखरेल आफूमा राजनीतिक चेत विकास भएसँगै वैकल्पिक राजनीतिको आवश्यकता रहेको बताउँथे । सोहीअनुसार आफ्नो सक्रियता पनि देखाए । सधैँ वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिए । विवेकशील साझा युवा संगठनको नेतृत्व गरे । विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य पनि बने ।

त्यसपछि २०७९ को स्थानीय निर्वाचनमा बालेन साहलाई काठमाडौं महानगरको मेयर बनाउन सक्रिय बने । सडक, सामाजिक सञ्जाल र संगठनात्मक मोर्चामा खटिए । बालेनलाई महानगरमा सफल बनाउने भन्दै हरप्रयत्न गरे । बालेनको जितपछि महानगरमै सक्रिय रहे ।

स्टार्टअप मैत्री नीति र प्रविधि मैत्री रोजगारी प्रवर्द्धनमा भूमिका खेल्ने उनको भनाइ छ ।

महानगरमा पोखरेल शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ र शहरी योजना आयोगमा सहायक विज्ञको रूपमा उनी सक्रिय भए । महानगरको शिक्षा सल्लाहकारका रूपमा नीति निर्माणदेखि कार्यान्वयनसम्म काम गरे । महानगरको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट बनाउने प्रक्रियामा समन्वय गरे ।

महानगरमा रहँदा पुराना कानुन परिमार्जन गर्नमा पनि भूमिका खेलेको पोखरेलको दाबी छ । त्यस्तै, नयाँ कानुनी संरचना बनाउन पनि उनी सक्रिय थिए । सामुदायिक विद्यालयलाई प्राथमिकता दिँदै कक्षा १ देखि १२ सम्म करिब ३० हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गराउन भूमिका खेले ।

सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना, ‘बुक फ्री फ्राइडे’ कार्यक्रम, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षा कोठा सुधार, दिवा खाजा र शिक्षक तालिममा प्रत्यक्ष भूमिका खेल्नुलाई सस्मित आफ्नो सामाजिक पूँजी ठान्छन् ।

महानगरमा रहँदाका यिनै अनुभवले उनलाई राष्ट्रिय तहमा जान प्रेरणा दिएको बताउँछन् ।

त्यसको लागि २०७९ मै स्वतन्त्र उम्मेदवार भएर काठमाडौं–५ (क) बाट प्रदेशसभा सदस्यमा लडे । तर सोचे जस्तो नतिजा आएन । प्रदेशको चुनावमा पराजित भएपछि पनि महानगरमा काम जारी राखे । महानगरबाटै बालेन रास्वपामा आउन्जेलसम्म सँगसँगै रहे । उनी स्वयं पनि रास्वपाको सहप्रवक्ता बने ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको चुनावमा पोखरेलले काठमाडौं–५ मा रास्वपाबाट टिकट पाए । सस्मितको अनुभवअनुसार, हेभिवेटसँग भिड्नुपरेकाले प्रतिस्पर्धा कडा थियो ।

यद्यपि, चुनावमा उनले आफूले विगतमा कमाएको सामाजिक पूँजीलाई ब्रान्डिङ गरे । कानुन बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको र परिणाम दिन सक्ने युवा नेताका रूपमा आफूलाई प्रस्तुत गरे ।

विगतका अनुभव अनुसारकै, शिक्षा सुधार, सुशासन र पारदर्शिता, युवा रोजगारी, डिजिटल अर्थतन्त्र, खेलकुद सशक्तीकरण, सेवा प्रवाह र सहरी व्यवस्थापन लगायतका मुद्दालाई केन्द्रमा राखे । र, निर्वाचनमा कठिन मानिएको क्षेत्रबाटै सहज जित हात पारे ।

निर्वाचित भएपछि अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले शिक्षा सुधारमा काम गर्ने र युवा, रोजगारी र डिजिटल अर्थतन्त्र केन्द्रित काम गर्ने बताएका थिए । साथै, स्टार्टअप मैत्री नीति र प्रविधि मैत्री रोजगारी प्रवर्द्धनमा भूमिका खेल्ने उनको भनाइ छ ।

‘सेवा प्रवाह र सहरी व्यवस्थापनमा ध्यान दिने वाचा गरेकाले मैले टोखा, हाँडीगाउँ लगायत क्षेत्रमा सम्पदा र सांस्कृतिक पहिचानमा विशेष भूमिका खेल्छु,’ उनले भनेका थिए, ‘अब कसरी हुन्छ, नागरिकको हितका निम्ति काम गर्नु नै मेरो दायित्व हो, म गर्छु ।’

उनै सस्मितको हातमा अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा आएको छ । महानगरदेखि नै बालेनका सहयात्रीको रूपमा चिनिएका सस्मितले अब देशको शिक्षा सुधार्ने मौका पाएका छन् । विगतमा आफैंले उठाएका एजेन्डालाई व्यवहारमा लागु गर्ने अवसर उनको हातमा आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?