News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा निर्वाचन २०८२ मा काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी भए।
- सस्मितले शिक्षा सुधार, सुशासन, युवा रोजगारी, डिजिटल अर्थतन्त्र र सहरी व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाए।
- उनले काठमाडौं–५ को खानेपानी, ढल, सम्पदा संरक्षण र युवाको स्टार्टअपलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
प्रतिनिधिसभा निर्वाचन २०८२ को काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले जित हात पारे । यो क्षेत्रलाई ‘हट सिट’ मानिन्थ्यो । कारण – यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूबीच प्रतिस्पर्धा थियो ।
तर, २९ वर्षीय सस्मितले सबैलाई फराकिलो मतान्तरले पछि पारे । उनले ३० हजार ७३७ मत ल्याए । दोस्रो भएका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए । ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याए ।
स्थापित नेताहरूलाई हराएर सप्राइज दिएका उनी भन्छन्, ‘चुनाव जितेको खुसी त छ, तर यसले मलाई बढी जिम्मेवारी बोध गराएको छ । नेपालभरिका मतदाताले हामीलाई दिएको भरोसालाई निराश बनाउनु हुँदैन । अब त्यसको लागि काम गर्नु मेरो दायित्व हो ।’
सस्मित आफैँमा काठमाडौं–५ का स्थायी बासिन्दा हुन्, जो क्षेत्रमा जन्मे, हुर्के । कानुनमा स्नातक उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ लबाट बीएएलएलबी सकेका छन् । प्रारम्भिक शिक्षा र प्लस टु भने अमेरिकामा पढे ।
२०७२ को भूकम्पपछि अमेरिकामा बसेर ‘अर्थक्वेक फन्ड’ संकलन र व्यवस्थापनमा सक्रिय थिए, जसको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भयो । उनी सधैँ वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिए ।
विवेकशील साझा युवा संगठनको नेतृत्व गरे । विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य पनि बने ।

त्यसपछि ०७९ को स्थानीय निर्वाचनमा बालेन साहलाई काठमाडौं महानगरको मेयर बनाउन सडक, सामाजिक सञ्जाल र संगठनात्मक मोर्चामा खटिए । बालेनको जितपछि महानगरमै सक्रिय रहे ।
महानगरमा उनले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ र सहरी योजना आयोगमा सहायक विज्ञको जिम्मेवारी सम्हाले ।
महानगरको शिक्षा सल्लाहकारका रूपमा नीति निर्माणदेखि कार्यान्वयनसम्म काम गरे । महानगरको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट बनाउने प्रक्रियामा समन्वय गरे । पुराना कानुन परिमार्जन र नयाँ कानुनी संरचना बनाउन सक्रिय थिए । सामुदायिक विद्यालयलाई प्राथमिकता दिँदै कक्षा १ देखि १२ सम्म करिब २० हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गराउन भूमिका खेले ।
सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना, ‘बुक फ्री फ्राइडे’ कार्यक्रम, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा र शिक्षक तालिममा प्रत्यक्ष भूमिका खेल्नुलाई सस्मितले आफ्नो सामाजिक पूँजी ठान्छन् ।
महानगरमा रहँदाका यिनै अनुभवले उनलाई राष्ट्रिय तहमा जान प्रेरणा दियो । त्यसको लागि २०७९ मै स्वतन्त्र उम्मेदवार भएर काठमाडौं–५ (क) प्रदेशसभा सदस्यमा लडे ।

पराजित भएपछि पनि महानगरमा काम जारी राखे । तर, जेनजी आन्दोलनले ०८४ सालमा हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन ०८२ सालमा भयो । यहीबेला उनले काठमाडौं–५ मा रास्वपाबाट टिकट पाए ।
सस्मितका अनुसार, हेभिवेटसँग भिड्नुपरेकाले प्रतिस्पर्धा कडा थियो । तर उनले आफूलाई कानुन बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको र परिणाम दिन सक्ने युवा नेताका रूपमा प्रस्तुत गरे । मुख्य एजेन्डा थिए– शिक्षा सुधार, सुशासन र पारदर्शिता, युवा रोजगारी, डिजिटल अर्थतन्त्र, खेलकुद सशक्तीकरण, सेवा प्रवाह र सहरी व्यवस्थापन ।
चुनावी अभियानमा उनले अनलाइनखबरसँग भनेका थिए, ‘म यही क्षेत्रमा जन्मेको, हुर्केको र गल्लीगल्ली चहारेको व्यक्ति हुँ । यहाँका आवश्यकता र चाहना नजिकबाट बुझेको छु । जनताको आवाज संसद्सम्म पुर्याउने संकल्प छ ।’
चुनावी अभियान सरल थियो । घरदैलोमा जोड दिए । दैनिक २०–२२ किलोमिटर हिँडेर मतदाताका घरआँगनमा पुगे । बीचमा जेष्ठ नागरिक, महिला समूह, टोल सुधार समितिसँग भेटघाट । तडकभडक थिएन । उनका अनुसार, चना–अण्डा, कालो चिया खाएरै चुनावी क्याम्पेन गरे ।

ब्यानर, घोषणापत्र, दुईवटा गाडी रेन्ट र चिया–कफीको खर्चबाहेक ठूलो खर्च भएन । कुल खर्च करिब १६–१८ लाखमै चुनाव सकियो ।
प्रतिस्पर्धाका क्रममा सस्मितको आफ्ना प्रतिस्पर्धीहरूसँग जम्काभेट हुन्थ्यो । त्यसबेला ‘स्वास्थ्य ख्याल गर्नुहोस्’ भन्नेजस्ता हार्दिकतापूर्ण शुभकामना दिनेबाहेक कुनै कुण्ठा थिएन ।
‘उहाँहरू आफ्नो अजेन्डा लिएर आउनुभएको थियो, म आफ्नो लिएर । मतदाताले जसलाई मन पराउनुहुन्छ, उही जित्छन् । हाम्रोमा त्यस्तो कुण्ठा पोख्ने । रिस–राग राख्ने केही पनि भएन,’ उनले अनुभव सुनाए ।
मतदाताले दिएको यो विश्वासलाई व्यवहारमा कसरी देखाउँछन् ? अनलाइनखबरको प्रश्नमा जवाफ दिएका सस्मितलाई रास्वपाको बाचापत्रमा १०० वटा प्रतिबद्धता रहेको हेक्का छ ।
उनका अनुसार, त्यसमा पहिलो १०० दिनका योजना पनि छन् । जेन्जी आन्दोलनका मागलाई जोड दिएका छन् । भ्रष्टाचारविरुद्ध, सुशासन, डिजिटलाइजेसन, सरकारी सेवा अनलाइनमा ल्याउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने लगायतका विषयमा काम गर्नमा आफ्नो जोड हुने उनले बताए ।

त्यस्तै, आफ्नो क्षेत्रको स्थानीय वस्तुस्थिती सुनाउँदै उनले अनलाइनखबरसँग भने, ‘काठमाडौं–५ युनिक क्षेत्र हो । प्रधानमन्त्री–राष्ट्रपति निवास, पूर्वराजाको निर्मल निवास, एम्बेसीहरू, अनि एलिट वर्ग बसोबास गर्ने भनिएको क्षेत्र । साथै सांस्कृतिक सम्पदा – बुढानीलकण्ठ, टोखा, हाँडीगाउँ, मालीगाउँ छन् । तर, समस्या निकै देखिन्छ । विशेष त यसअघिका जनप्रतिनिधिसँग एक्सेस कम भएको गुनासो पनि मतदाताको छ ।’
खानेपानी, ढल, सम्पदा संरक्षण लगायतका विषय पनि काठमाडौं–५ को मुद्धा रहेको सस्मितले बताए । ‘टोखाको चाकु, मौलिक खानाको बजारीकरण नभइरहेको अवस्थामा यहाँ पनि भक्तपुर जसरी ब्रान्डिङ गर्न सकिन्छ,’ उनले थपे ।
त्यस्तै, युवाहरू स्टार्टअप गर्न चाहन्छन् । यसलाई डिजिटलाइजेसनले थप सहज बनाउने योजना पनि उनले सुनाए । तर, एउटा सांसदका रुपमा आफूले संस्थागत संयन्त्र बलियो बनाउन जोड दिने उनको वाचा छ ।
यसरी आफ्ना एजेन्डाका फेहरिस्त सुनाएका सस्मितलाई ‘युवा र नयाँमा अनुभवको कमी रहेको’ भन्दै आएका टिकाटिप्पणीबारे पनि हेक्का छ । त्यसैले आफूहरुले यो शंका दुर गराउनेगरी मेहनत गरेर काम गर्ने बताए । उनका अनुसार यसअघि पनि नयाँ आउँदा सधैं यस्तो भनियो ।
पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध आन्दोलन भएर विभिन्न शक्ति आउँदा पनि यही भनियो । अहिले पनि उस्तै कुरा सुनिन्छ । ‘तर मैले र हामी हरेकले यो भ्रम चिर्न मेहनत गर्छौँ । युवाले पनि परिपक्व ढंगले देशको नेतृत्व गर्न सक्छन् भनेर देखाउने यो मौका हामीलाई आएको छ, पुष्टि गर्छौँ,’ सस्मितले भने ।
प्रतिक्रिया 4