News Summary
Generated by OK AI. Editorially reviewed.- गनेस पौडेल पोखराबाट निर्वाचित भएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।
- गनेसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणविरुद्ध संघर्ष समिति गठन गरी विरोध गरेका थिए।
- पर्यटन क्षेत्रको सुधारका लागि गनेसले १०० बुँदाको कार्यसूची तयार गरिरहेका छन्।
१३ चैत, पोखरा । पोखरामा लेखक खडक (गनेस) पौडेलको परिचय रोचक छ । साहित्यिकदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्ने उनी हाँसोले सिंगो हल वा मञ्च नै गुञ्जाइदिन्थे ।
निकै गम्भीर र पेचिलो विषयमा गरमागरम बहस, छलफल भइरहेको छ भने पनि कार्यक्रमलाई निरस हुन नदिई खित्का छोडेर हाँस्ने गनेसको तरिकासँग कला–साहित्य क्षेत्र निकै परिचित छ । मजाक गर्दै गनेस आफैं जब खित्का छोड्छन्, कार्यक्रमस्थल नै हाँसोले गुञ्जन्छ ।
गनेसको परिचय नै थियो, कला–साहित्यका कार्यक्रममा सहभागी हुने, छलफलमा भाग लिने । समसामयिक विषयदेखि विकृत राजनीतिले समाजलाई कसरी गाँजेको छ भन्ने बहस उनी आफैं चलाउँथे । लेखनमा नयाँनयाँ प्रयोग गर्ने र स्वैरकाल्पनामा रमाएर लेख्न सक्ने लेखक गनेसको पछिल्लो राजनीतिसँग झोक थियो ।
लामो समयसम्म पोखरेलीले आन्दोलन र अनसन बसेर ल्याएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्थे गनेस । स्थानीयलाई पटकपटक दु:ख दिएर र बस्ती खाली नै गराएर शहरको बीचमा चिनियाँ ऋण अनुदानको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भनेर उनले संघर्ष समिति नै गठन गरेका थिए ।
विमानस्थल रोक्नका लागि अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा लिएर जानेदेखि सिंगो मझेरीपाटन क्षेत्रका स्थानीयले सामूहिक गिरफ्तारी दिनेसम्मका योजना उनका थिए ।
गनेस नेतृत्वको संघर्ष समितिको विरोधका बाबजुद स्थानीयलाई मुआब्जाबाट चित्त बुझाउँदै अहिले पोखरा विमानस्थल निर्माण त भएको छ तर नाम मात्रैको अन्तर्राष्ट्रिय बन्न पुगेको छ । अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकमै सीमित हुन पुगको छ ।
आज त्यही पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता देशकै उड्ड्यन र पर्यटन क्षेत्रकै विकास तथा सञ्चालनको जिम्मेवारीमा उनै गनेस आइपुगेका छन् । पछिल्लो राजनीतिले उत्पन्न गरेको तरंग र विद्रोही स्वभावका गनेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको कुर्सीसम्म पुर्याएको छ ।
सामाजिक तथा राजनीतिक विकृतिका विरुद्ध, सामाजिक, सांस्कृतिक सम्पदाको पक्षमा बोल्ने, अखबारी लेखन गर्ने गनेस अब देशकै असल नीति लेख्ने ठाउँमा पुगेका छन् । नौलो प्रयोग र स्वैरकाल्पिक उपन्यास ‘पैताला’ का लेखक गनेस पोखराको यस्तो पात्र बनेका छन्, सांसद बनेको पहिलो पटकमै मन्त्री बने । त्यो पनि नागरिक उड्डयन तथा देशको ठूलो अर्थतन्त्रको निर्माण गरेर फड्को मार्न सकिने सम्भवना भएको पर्यटन क्षेत्रको ।
गनेस यस्तो पात्र बनेका छन्, पोखराबाटै दोस्रो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । यसअघि कास्की–२ बाट तेस्रो पटक निर्वाचित भएर बनेका एमाले नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका थिए । पर्यटन मन्त्री रविन्द्रको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
त्यसभन्दा अगाडि र पछाडि पनि पोखराले पर्यटन मन्त्री पाएको थिएन । गनेस निर्वाचित कास्की क्षेत्र नम्बर १ मन्त्री पाइरहने क्षेत्रमा पर्छ । कांग्रेसका तारानाथ रानाभाट पटकपटक मन्त्री र सभामुखसम्म भएका थिए भने त्यसपछि पनि यज्ञबहादुर थापा, एमालेका खगराज अधिकारी यही क्षेत्रबाट जितेर मन्त्री बनेका थिए ।
बालेन शाह जेनजी आन्दोलनपछि काठमाडौंको मेयरबाट राजीनामा दिएर चुनावमा होमिँदै देशकै प्रधानमन्त्री बन्दा उनकै साथी गनेसले पर्यटन मन्त्री हुने अवसर पाएका छन् । गनेस बालेनका यस्ता साथी हुन्, जसले २०७९ को स्थानीय चुनावमा देशैभरि लौरो अभियान चलाएका थिए । बालेन काठमाडौं मेयरमा लौरो चुनाव चिह्नबाट स्वतन्त्र विजयी हुँदा गनेस पोखरामा मेयर धनराज आचार्यसँग पराजित हुन पुगेका थिए ।
‘राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौँ’ भन्दै उनी पोखरा महानगरको स्थानीय तहमा लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए । त्यतिबेला जित निकाल्न नसके पनि फागुन २१ को चुनावमा भने उनी कास्की–१ बाट जित निकाल्दै मन्त्री हुन सफल भए ।
बालेन रास्वपाको वरिष्ठ उपापध्यक्ष हुँदै चुनावी मैदानमा होमिँदा गनेस केन्द्रीय सदस्य बनेका थिए । पोखरामा र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल नामक ज्ञानको विमर्श गर्ने संस्थाको परिकल्पना गरेर अहिले पनि निरन्तरता पाइरहेकोमा अब भने बदनाम बन्न पुगेको नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थित गर्ने नेतृत्वमा पुगेका हुन् ।
अहिले पनि नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीदेखि ठूलो संख्यामा कर्मचारीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अहिले पनि थुनामै छन् ।
नेपालको आफ्नै एयरलाइन्सलाई बलियो बनाउनेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल लगायतमा भ्रस्टाचार आरोपले बदनाम हुन पुगेको छ । पोखरा विमानस्थल भूराजनीतिको सिकारसमेत हुँदा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा गनेसको पनि परीक्षा हुनेछ ।
गनेस पर्यटन मन्त्री भएसँगै पोखराका नागरिक पनि उत्साही देखिएका छन् । पोखरालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखराका मेयर धनराज आचार्यको अगुवाइमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी घोषणा गरेका थिए । तर पोखरा पर्यटकीय राजधानी घोषणा भए पनि संघीय सरकारले अपनत्व नदिएको गुनासो छ ।
यो विषयमा पनि पोखराका गनेस पर्यटन मन्त्री भएपछि धेरै सम्बोधन हुने आशा पोखराका व्यवसायीले राखेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् ।
पर्यटनमन्त्री भएपछि गनेसले सबैभन्दा पहिले १०० बुँदाको कार्यसूची तयार भइरहेको पहारीले बताए । पर्यटन बढी नै संवेदनशील क्षेत्र भएको बताउँदै गनेसले पर्यटन क्षेत्रको सुधार नगरी सुखै नरहेको उनको भनाइ थियो ।
‘पर्यटन क्षेत्रको विकास बिना हामीले आर्थिक उन्नति गर्न सक्दैनौं । सबैभन्दा बढी समस्या पनि यही मन्त्रालयमा छ,’ उनले भने, ‘यहाँको समस्या सल्ट्याउन अन्तरमन्त्रालय धेरै काम गर्नुपर्ने छ ।’
२०७९ को चुनावमा हार बेहोरेपछि गनेस किताब लेखनमै फर्किएका थिए । उनले त्यसपछि विश्वप्रसिद्ध लेखक जोन स्टाइनबेकको किताब नेपालीमा ‘मुसा मानुष’ नाम दिएर अनुवाद गरेका थिए ।
पुराना दलहरूको संगठन र दबदबालाई तोड्दै प्रतिनिधिसभामा गएर नीतिगत सुधारमा लाग्ने प्रतिबद्धता अब व्यवहारमा उतार्ने जिम्मेदवारी उनको काँधमा छ । २०३६ सालमा पोखरा महानगरपालिका–१४, मझेरीपाटनमा जन्मिएका गनेसले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका छन् ।
साहित्यबाट सुरु भएको उनको यात्रा सामाजिक आन्दोलन, सहकारी अभियान, युवा परिचालन हुँदै वैकल्पिक राजनीतिक अभ्यासको रूप लिँदै सत्ता सञ्चालनकै तहमा पुगेको छ । करिब १५ वर्ष शिक्षण गरेका, स्कुलसमेत चलाएका गनेसले कतिपय ठाउँमा प्राज्ञिक क्षेत्रमा काम गरेका थिए ।
अहिलेको चुनावमा गनेसले मतदाताका बीच नयाँ नारा बनाएका थिए, ‘सामाजिक विसंगति र राजनीतिक अकर्मण्यतालाई अटेर गरौँ’ र ‘विचारले जितौं, चरित्रले टिकौं ।’ त्यही नारा अब मन्त्री पदबाट साबित गर्नुपर्ने ठाउँमा उनी आइपुगेका छन् ।
प्रतिक्रिया 4