१४ चैत, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन् ।
‘देशैभरीका सबै साथीहरू, सबै जिल्ला कमिटी, सबै विश्वविद्यालय कमिटी सडकमा आएर राष्ट्रको प्रणालीलाई बेठीक तरिकाले दुरुपयोग गर्ने, कानुनका छिद्रहरूमा टेकेर राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको हामीले भण्डाफोर गर्नुपर्छ,’ अध्यक्ष धामीले भने ।
उनले शनिबार अनेरास्ववियुले सरकारलाई खबरदारीमात्रै गरेको र आइतबारदेखि प्रदर्शन निरन्तर रहने पनि बताए । ‘हामीले आज खबरदारी गरेका छौं । अब भोलिदेखि हरेक दिन, हरेक चोक, हरेक ठाउँमा अनेरास्ववियुले आन्दोलन गरिरहने छ,’ अध्यक्ष धामीले भने, ‘अनेरास्ववियुले आन्दोलनको मुठभेड गरिरहने छ । आन्दोलनको मसाल बोकिरहने छ ।’
अध्यक्ष धामीले टायर बाल्ने, तालाबन्दी गर्ने गतिविधि संगठनले बन्द गरेको भए पनि आज बाध्य भएर सडकमा उत्रिनु परेको पनि बताए । ‘हामीले टायर बाल्ने, तलाबन्दी गर्ने, सबै किसिमका गतिविधिहरू बन्द गरेका थियौं,’ उनले भने, ‘तर, आज बाध्यतावश यो सडकमा ओर्लिन परेको छ ।’
अनेरास्ववियु कफन बाँधेर सडकमा ओर्लिको जिकिर गर्दै धामीले व्यवस्थाको रक्षाका लागि गोली खान तयार रहेको पनि बताए । ‘कफन बाँधेर आर्लेका छौं । मर्नका लागि तयार छौँ,’ उनले भने, ‘कसैले यो प्रणालीको लागि यो छातीमा गोली हान्छ, यो व्यवस्थाका लागि यो छातीमा गोली हान्छ भने हामी गोली खान तयार छौँ ।’
प्रतिक्रिया 4