News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
- एमाले सचिव महेश बस्नेतले आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने जानकारी दिएका छन्।
- ओली र कांग्रेस नेता रमेश लेखकलाई चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको र उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।
१५ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार झिसमिसेमै पक्राउ परेका थिए ।
लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । पार्टीको निर्णय अनुसार एमाले कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड तनावग्रस्त भएको थियो ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले भने अनलाइनखबरसँगको कुराकानीमा कसैसँग प्रतिशोध नसाँधेको जनाएका छन् ।
शनिबार पक्राउ परेका ओली र लेखक दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।
प्रतिक्रिया 4