+
+
Shares

लेखक पक्राउपछि प्रकट भए दुई कांग्रेस

गगन थापा सभापति रहेको संस्थापनले सरकारको कदमलाई सेलेक्टिभ भनेको छ । यसविरुद्ध कानुनी लडाईंमा जाने कुरा गरेको छ । यता पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै देशव्यापी राजनीतिक समाना गर्न अपिल गरेका छन् ।

केशव सावद केशव सावद
२०८२ चैत १४ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका दुई समूहले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ प्रकरणमा फरक धारणा सार्वजनिक गरेका छन्।
  • संस्थापन पक्षले सरकारको कदमलाई सेलेक्टिभ भनेको छ भने निवर्तमान कार्यवाहक सभापति खड्काले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्।
  • कांग्रेसले २३ र २४ भदौका घटनाको निष्पक्ष छानबिन र कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएको छ र सरकारलाई संयमित हुन आग्रह गरेको छ।

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई लिएर नेपाली कांग्रेसका दुवै समूहको धारणा फरक–फरक आएको छ ।

सभापति गगन थापा नेतृत्वको संस्थापन कांग्रेसको बैठक सानेपा चल्दै गर्दा आधिकारिताका लागि सर्वोच्च अदालत पुगेको शेरबहादुर देउवा पक्ष भने ठमेलको एक होटलमा छलफलरत थियो ।

कांग्रेस केन्द्रीय कार्यालयबाट संस्थापन पक्षले धारणा सार्वजनिक गरेपछि यता कार्यबहाक सभापति पूर्वबहादुर खड्काको नाममा अर्को छुट्टै धारणा विज्ञप्ति मार्फत आयो ।

पछिल्लो घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न शनिबार बेलुकी कांग्रेसले सानेपाबाट प्रेस विज्ञप्ति जारी गरेर सरकारको पछिल्लो कदमलाई ‘सेलेक्टिभ’ भनेको छ । तर, सरकारको ‘सेलेक्टिभ’ कदमविरूद्ध कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरिएको प्रष्टीकरण दिएको छ ।

सानेपामा बसेको ‘संसदीय सचेतना’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता देवराज चालिसेले भने, ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं ।’ पार्टीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको उनको भनाइ थियो ।

तर, ठमेलको बैठकपछि कार्यबाहक सभापतिको नाममा पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्ति भने सरकारको कदमप्रति आक्रामक छ । खड्काले कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहन अपिल गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि यसरी पहिलोपटक कार्यबहाक सभापतिको नाममा खड्काले विज्ञप्ति जारी गरेका हुन् ।

सानेपाले ओली–लेखक पक्राउ गर्ने सरकारको पछिल्लो कदमले कानुनका स्थापित विधि पालना नहुनुले अन्तत: न्याय पाउने प्रक्रियालाई नै झन गिजोल्ने देखिएको उल्लेख गरेको छ । ‘२३–२४ भदौका घटनालाई सरकारले निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुभन्दा घटनामा थप राजनीति गर्न खोजेको देखिन्छ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तर, कार्यबाहक सभापतिको हैसियतमा खड्काद्वारा विज्ञप्तिमा ओली–लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने निर्णय भएको उल्लेख छ ।

‘सरकार गठन भएलगत्तै दुरासयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ खड्काले लेखेका छन्, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ ।’

 

कांग्रेसले २३–२४ भदौका घटनामा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजनलगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्नेमा पार्टी स्पष्ट रहेको बताएको छ ।

‘हामी फेरी पनि प्रष्ट गर्न चाहान्छौं– भदौ २३ गतेको घटनामा संलग्नसँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ,’ सानेपाबाट जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ । त्यसमा हाम्रो साथ रहन्छ । तर, त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ ।’

कांग्रेसले सरकार संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्ने स्मरण गराउँदै देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने खतरा पनि औंल्याएको छ ।

‘अत: यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उता खड्काले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं ७२१ को सिफारिसबमोजिम ‘अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन सरकारलाई सिफारिस गरी पठाउने’ भनिए पनि प्रक्रिया पूरा नगरी पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप र राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित रहेको तर्क गरेका छन् ।

‘आयोगको कार्यादेशबमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ,’ उनले भनेका छन् ।

आधिकारिकता पाएको कांग्रेसले पार्टी प्रारम्भबाट नै २३ र २४ भदौका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढंगले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको उल्लेख गरेको छ ।

उसले जेनजी आन्दोलनबारे कांग्रेसले २५ भदौमा नै उच्चस्तरीय आयोगमार्फत् २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गरेको छ ।

यस्तै २७ भदौमा तत्कालीन उपसभापति खड्का (पूर्णबहादुर) को सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २३ र २४ भदौका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको पनि विज्ञप्तिमार्फत् दोहोर्‍याएको छ ।

‘निर्वाचनपश्चात चैत्र ६ देखि ८ गतेसम्म बसेको नेपाली कांग्रेसको बैठकले–‘२०८२ भाद्र २३ र २४ गते भएका घटनाहरूबारे जाँचबुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अबिलम्ब सार्वजनिक गर्न सरकारसँग माग’ गर्दै भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीहरूलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुन: आग्रह गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदन जसरी बाहिर आएको छ, त्यो अपारदर्शी छ, अहिलेसम्म पनि सरकारले विधिसम्मत ढंगबाट प्रतिवेदन सार्वजनिक गरेको छैन ।’

 

नवगठित बालेन सरकारले शनिबार बिहान ५: ४० बजे पूर्वगृहमन्त्री लेखकलाई कटुन्जे (भक्तपुर) र पूर्वप्रधानमन्त्री ओलीलाई बिहान ६:१० बजे गुण्डु (भक्तपुर) बाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न जारी भएको पुर्जी दिएर हिरासतमा लिएको थियो ।

जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरेपछि कांग्रेसका दुवै समूहको मतभिन्नता देखिएको थियो ।

आधिकारिक कांग्रेसका नेताहरूले सञ्चारमाध्यमहरूलाई पक्राउ प्रकरणबारे कुनै प्रतिक्रिया दिन मानेका थिएनन् ।

उता देउवा समूह भनेर चिनिने संस्थापन इतर समूहका नेताहरू भने छलफलमा जुटेका थिए । उनीहरू निवर्तमान कार्यवाहक सभापति खड्काको नेतृत्वमा ठमेलस्थित एक होटलमा छलफलका लागि जुटेका थिए । त्यसअघि देउवा निकट नेताहरू छुट्टाछुट्टै पनि एकअर्कासँग छलफलमा थिए ।

तर, निर्वाचन आयोगले आधिकारिकता दिएको कांग्रेस र आधिकारिकताका लागि अदालतको फैसला कुरेर बसेका नेताहरू बीच आपसमा औपचारिक संवाद भने भएको थिएन ।

कांग्रेसले सानेपाबाट पछिल्लो घटनाक्रमबारे औपचारिकरूपमा धारणा सार्वजनिक गरेको केही समयपछि देउवा समूहले पनि ओली–लेखक पक्राउ प्रकरणबारे समूहको धारणा सार्वजनिक गरेको थियो ।

धारणा सार्वजनिक गर्नुअघि खड्काले आफ्नो समूहका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा नेता डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेता पनि सहभागी थिए ।

यस्तै देउवा समूहबाट बैठकमा विजयकुमार गच्छदार, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, दीपक खड्का, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी थिए ।

उता कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि सानेपामा आयोजना गरिएको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली–लेखक पक्राउबारे समीक्षा गरेको थियो ।

कांग्रेसका एक पदाधिकारीले शनिबार बिहान घटनाबारे अनलाइनखबरसँग भनेका थिए, ‘आज पार्टी कार्यालयमा ‘संसदीय सचेतना’ कार्यक्रम छ । त्यहाँ हामीहरूको भेट हुन्छ । समग्र स्थितिको समीक्षा गरेर धारणा सार्वजनिक गर्छौं ।’

स्रोतका अनुसार घटनाको बुझाईबारे कांग्रेसमा मतभिन्नता रहेका कारण नेताहरूले दिनभरि प्रतिक्रिया दिन मानेका थिएनन् । पक्राउ प्रकरणबारेको बुझाईलाई एकरूपता दिन उनीहरूले प्रतिक्रिया दिन नमानेको स्रोतको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?