News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरूङले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय भएको जानकारी दिनुभयो।
- प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनमा हेलचेक्राइ गरी ज्यान मारेको अभियोगमा पक्राउ गर्यो।
- ओली र लेखकलाई हिरासतमा राख्न स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराउनुपर्नेछ।
१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङले शुक्रबार पदबदहाली गर्दै मातहतका कर्मचारी सुरक्षा निकायलाई भनेका थिए- ‘मन्त्रिपरिषदबाट निर्णय भएपछि प्रतिवेदन कार्यान्वयन हुन्छ ।’ उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ संकेत गरेका थिए ।
अझ यो भन्दा अघि बढेर हामी यहाँ कसरी आयौं भन्ने बिर्सन नहुने भन्दै सुधनले जेनजी आन्दोलन मात्रै सम्झाएनन्, सबैलाई जेनजी शहीदको नाममा एक मिनेट मौन धारण गर्न लगाए ।
यो कार्यक्रम भन्दापनि अघि उनले पदभार ग्रहण गर्ने बित्तिकै जेनजी, जेनजी आन्दोलनका घाइते, शहिदका परिवारलाई भेटे । गृहमन्त्रालयमा पदभार र निर्देशन सकिए लगत्तै प्राइभेट नम्बर प्लेटको रातो कार आफैं चलाएर उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगे ।
सुधनले गृह मन्त्रालयमा संकेत गरेजस्तै मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो ।
सुरक्षाका निकायका हकमा भने थप अध्ययन गर्न समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनाए ।
यो निर्णयलगत्तै गृहमन्त्री सुधनले मन्त्रालयमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसँग छलफल गरे ।
करिब दुई घण्टासम्म प्रतिवेदन कार्यान्वयन गर्नेबारे सुधनले परामर्श र छलफल गरे ।
करिब राति साढे ८ बजेतिर प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल हेडक्वाटरले सर्कुलर जारी गर्दै शनिबार बिहान चुस्ता (बर्दीसहित) हेडक्वाटरमा जम्मा हुन निर्देशन दियो ।

प्रहरी प्रधान कार्यालयले जवानदेखि एसएसपीसम्मलाई उपस्थित हुने भनेको थियो भने सशस्त्र हेडक्वाटरले जवानदेखि एसपीसम्मलाई उपस्थित हुन निर्देशन गरेको थियो ।
यसबाहेक काठमाडौं उपत्यका प्रहरीले पनि उपत्यकाका तीनै जिल्लाहरु (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रहरीलाई स्ट्याण्डबाई रहन निर्देशन दियो ।
यो निर्देशनको केहीबेरमा प्रहरी प्रधान कार्यालय नक्सालस्थित आईजीपी निवासमा फेरि छलफल सुरु भयो ।
जहाँ गृहमन्त्री सुधन, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी ईश्वर कार्की, सशस्त्र एआईजी गणेश ठाडा मगर समेत सहभागी थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्कालाई पनि बोलाएपछि उनी पनि केहीबेर सहभागी भएर नक्सालबाट बाहिरिएका थिए ।
जसरी पनि प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भन्दै गृहमन्त्री सुधनले सुरक्षाका निकायलाई निर्देशन दिए । उच्च स्रोतका अनुसार सुरक्षा अधिकृतले भने अदालतबाट पूर्जी लिएर अघि बढ्नुपर्ने सुझाए ।
‘आइतबार अदालत खुलेपछि पूर्जी लिएर अघि बढ्दा राम्रो हुन्छ भन्ने सुझाव थियो’ स्रोतले भन्यो ।
तर, गृहमन्त्री सुधन भने जसरी पनि तत्काल पक्राउ गर्नुपर्ने अडानमा थिए । त्यसपछि कानूनी परामर्शका लागि कानून सचिव पाराश्वर ढुंगाना पनि प्रहरी हेडक्वाटर पुगेका थिए ।
पक्राउ गर्दा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीदेखि कानूनी प्रक्रियाबारेमा लामो छलफल भयो । तर, सुधनले जसरी पनि पक्राउ गर्नुपर्ने दबाब बढाएपछि प्रहरीले लिखित आदेश मागेको थियो । यतिबेला रातको करिब साढे १ बजिसकेको थियो ।
यता प्रतिवेदन कार्यान्वयन गर्न भन्दै साँझै गृहमन्त्री सुधनले आईजीपीलाई निर्देशन दिएपछि सादा पोशाकका प्रहरीले शुक्रबार साँझबाटै निगरानी बढाएका थिए ।
ओली निवास गुण्डु र लेखक निवास कटुन्जेमा प्रहरीको उपस्थिति शुक्रबार साँझबाटै बाक्लो थियो । फिल्डमा खटिएका प्रहरी भने निर्देशन कुरेर बसेका थिए ।
अन्ततः लिखित आदेश आएपछि प्रहरी पक्राउका लागि अघि बढेको थियो ।

लिखित आदेश आएपछि साढे ४ बजेतिर ओलीलाई प्रहरीले उजुरी पक्राउ पुर्जी थमाएको थियो । कुनै व्यक्तिलाई तत्काल पक्राउ नगरे भाग्न सक्ने वा अरु कुनै क्षति हुनसक्ने देखिएमा प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर समाउन सक्ने कानूनी प्रावधान छ ।
सोही अनुसार ओली लेखक दुबैलाई पक्राउ पुर्जी थमाइएको थियो । ‘२ बजेमात्रै ओली सुत्नुभएको’ भनेपछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेन ।
यता प्रहरीको अर्को टोली भने लेखक निवास गुण्डुमा त्यही समयमा पुगेको थियो । पौने ६ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रमेश लेखकलाई पक्राउ गर्यो ।

लेखक पक्राउ परेको करिब आधा घण्टापछि ६:१० बजे ओली पनि पक्राउ परे । उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासहितको टोली पुगेको थियो ।
उनीहरुलाई पक्राउ गर्न गएका एक अधिकृतले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जुनखालको तयारी गरेर हामी गएका थियौं । त्यस्तो केही भएन । उहाँहरु सामान्य अवस्थामा आउनु भयो । पुर्जी दिएको करिब एक घण्टामै उहाँहरुलाई तयार भएर हामीसँग आउनु भयो ।’
दुबै जना आज हिरासतमा रहने सम्भावना
ओली लेखक पक्राउको जानकारी गृहमन्त्री सुधनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि दिएका थिए । ‘प्रमिश इज अ प्रमिश : कानूनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ । मेरो देशले नयाँ दिशा लिनेछ’ गृहमन्त्री सुधनले भनेका छन् ।
पक्राउ गरेर दुबै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली ल्याएको थियो । अहिले ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
स्वास्थ्य परीक्षण गरेपछि अवस्था ठीक रहेको व्यहोरा आएपछि उनीहरुले दुबै जनालाई आज प्रहरीले हिरासत राख्न सक्नेछ । आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराउन सम्भव छैन । जसकारण उनीहरु दुबै जना आज हिरासतमा रहने सम्भावना छ ।
उनीहरुमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्राइ गरी ज्यान मारेको अभियोग छ । २३ २४ भदौको घटनामा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेको थियो ।
ओली–लेखक पक्राउलाई प्रतिशोधपूर्ण भन्दै एमालेले आन्दोलन गर्नेसम्मको तयारी गरेको छ । अन्य कतिपय व्यक्तिहरुले पनि यसलाई प्रतिशोधपूर्ण भनेका छन् ।
प्रतिक्रिया 4