+
+
Shares

सरकार प्रवक्तासँग वार्ता– ‘कोहीप्रति प्रतिशोध साधेका हैनौँ’

हामीले कुनै व्यक्ति विशेषलाई पक्राउ गर्ने भनेर होइन, हाम्रो बाचापत्रलाई कार्यान्वयनमा लैजाने क्रममा यो कदम चालिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कुनै प्रतिशोध नभएको बताए।
  • सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै सुरक्षा निकायमा थप अनुसन्धानका लागि अध्ययन समिति बनाउने निर्णय गरेको छ।

बालेन शाह नेतृत्वको सरकारले शपथ खाएको २४ घण्टा पनि नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि तनाव उत्पन्न भएको छ । एमालेले शनिबारबाटै देशव्यापी आन्दोलन थालेको छ भने सामाजिक सञ्जाल पनि यस विषयलाई लिएर पक्ष–विपक्षमा बाँडिएको छ ।

कतिपयले यसरी हतार गरेर पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ गर्ने घटनालाई प्रतिशोध साधिएको पनि भनेका छन् ।

के यो सरकारले तत्कालीन नेतृत्वप्रति पूर्वाग्रह राखेर प्रतिशोध साधेको हो ? वा कुन उद्देश्यले यो पक्राउको प्रक्रिय अघि बढ्यो ? यिनै विषयमा सरकारका प्रवक्ता एवं शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग अनलाइनखबरकर्मी कौशल काफ्लेले गरेको कुराकानी :

सरकारले शपथ लिएको मात्र २४ घण्टाभित्र नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको खास कारण के हो ?

हाम्रो पार्टीले मतदाताबाट जुन किसिमको उचाइ र ढंगले म्यान्डेट प्राप्त गरेको छ, हामी त्यसैअनुसार अघि बढिरहेका छौं । उहाँहरूले हाम्रो वाचापत्र पढेर नै हामीलाई म्यान्डेट दिनुभएको हो ।

हामीले कुनै व्यक्ति विशेषलाई पक्राउ गर्ने भनेर होइन, हाम्रो बाचापत्रलाई कार्यान्वयनमा लैजाने क्रममा यो कदम चालिएको हो ।

हाम्रो वाचापत्रको दोस्रो बुँदामा नै कार्की आयोगले बनाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने भन्ने स्पष्ट उल्लेख छ । हामीले एउटा मात्र होइन, धेरै वाचाहरूलाई समानान्तर रूपमा अगाडि बढाइसकेका छौं ।

तर, यो आयोगको प्रतिवेदन कार्यान्वयन हाम्रो लागि प्राथमिकतामा दोस्रो बुँदामै भएकाले यो पनि प्राथमिकतामा प‍रेको हो ।

हिजो मन्त्रिपरिषद्को बैठकले यो आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सुरक्षा निकायका लागि भने अझ थप अनुसन्धान गर्नुपर्ने भएकोले अलिकति क्रिटिकल देखिएकाले अर्को समिति बनाएर थप अनुसन्धान गर्ने र त्यो बाहेक अन्यका लागि तुरुन्त कार्यान्वयन गर्ने भन्ने निर्णय भएको छ ।

हामीले राज्यका जति पनि निकाय छन्, तिनलाई पूर्ण अधिकार दिएका छौं । हामीले कुनै पनि राजनीतिक हस्तक्षेप गर्ने छैनौं भनेर बारम्बार भनेका छौं । कुनै प्रतिशोध पनि हुँदैन ।

निष्पक्ष रूपमा, निष्पक्ष ढंगले विभिन्न निकायले काम गर्छन् । यो २४ घण्टामा कसैलाई अरेस्ट गर्ने भनेर होइन, हामीले हाम्रो वाचापत्रमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा अघि बढेका हौं ।

तर, सरकारको हतारो देखेर विपक्षी र केही मानिसहरूले यो पक्राउलाई राजनीतिक प्रतिशोध वा हतारको काम भनेर टिप्पणी गरिरहेका छन् नि ?

यसलाई हतारोको रूपमा हेर्न मिल्दैन । हामीले एउटा मात्र काम हतारमा गरेको भए त्यसरी हेर्न सकिन्थ्यो । तर, हामीले त सय वटा वाचालाई नै हतार–हतार कार्यान्वयन गर्ने योजना बनाएका छौं । हामी अरू वाचाहरूलाई पनि त्यत्तिकै गम्भीरताका साथ अगाडि बढाइरहेका छौं ।

कार्की आयोगले २४ गतेको घटनाका सम्बन्धमा ठोस किटान नगरेकोले प्रतिवेदन नै पूर्वाग्रही भएको भन्ने पनि छ नी ?

त्यो त हामीले प्रतिवेदन कार्यान्वयन गर्नको लागि विभिन्न निकायलाई निर्देशन दिएको हो । विभिन्न निकायको पनि आ–आफ्नो काम भइहाल्छ । केही गरी त्यो हिसाबको कुनै कानुनी प्रक्रिया नमिलेको देखियो अथवा थप अनुसन्धान गर्नु पर्‍यो भने प्रहरीले पनि आफ्नो किसिमको अनुसन्धान गर्ला । फेरि यो विषय पछि अदालतमा पनि जान्छ । अदालतले पनि आफ्नो आदेश देला, आफ्नो फैसला देला ।

त्यो दिने बेलामा राज्यका अरू निकायहरू पनि छन् । त्यो किसिमले भएको रहेछ भने विभिन्न निकायले आफ्नो ढंगमा काम गरिहाल्छन् ।

सुरक्षा संगठनको हकमा पछि अनुसन्धान गर्ने तर अन्यको हकमा तत्काल कार्बाही गर्ने निर्णय किन गरियो ?

सुरक्षा संगठन अलिकति संवेदनशील निकाय पनि हो । यसको लागि अझ थप अनुसन्धान चाहिने भन्ने हाम्रो बुझाइ रह्यो । यो प्रतिवेदनले पनि सुरक्षा निकायलाई थप यसरी कारबाही गर्नुपर्छ भन्ने किसिमले स्पष्ट भनेको छैन । हामीले जुन अर्को समिति बनाउने भनेका छौं, त्यो पनि प्रतिवेदनमै भएको कुरा हो ।

कुनै घटनामा गोली चल्यो । राज्यका कार्यालय भनव सुरक्षामा रहेका सुरक्षाकर्मीले गोली चलाए र व्यक्तिको ज्यान गयो भने त्यसको जिम्मेवार प्रधानमन्त्री र गृहमन्त्रीलाई बनाउने हो भने भविष्यमा कस्तो नजिर बस्ला ?

कसैको गल्ती नभई कसैले आफ्नो कानुनी रूपमा लिनुपर्ने जिम्मेवारी नै छैन भने त्यो गर्नु हुँदैन । मैले अघि भनेको जसरी नै प्रतिवेदन आएको छ ।

प्रतिवेदनले छानबिन गरेको छ र त्यो प्रतिवेदन पनि कानुनसम्मत रूपमा समितिले बुझाएको हो । त्यस हिसाबले हामीले प्रतिवेदनलाई कार्यान्वयन गर्नका लागि विभिन्न निकायहरूलाई निर्देशन दिएको हो । त्यसपछि सबै निकायले आफ्नो ढंगले काम गर्छन् भन्ने हाम्रो बुझाइ हो ।

त्यसले गर्दा कसैले अपराधको भार लिनुपर्ने देखिएको छैन वा कानुनी आधार छैन भन्ने त विभिन्न निकायले आफ्नो निर्णय गर्लान्, अदालतले आफ्नो फैसला देलान् । त्यसैले हामी त कानुनी प्रक्रिया मान्छौं, कानुनी पद्धति मान्छौं । हामीले सबै निकायहरूलाई पूर्ण रूपमा निष्पक्ष राखेका छौं र आफ्नै किसिमले काम गर्न दिन्छौं ।

सरकारले अब अरूलाई पनि पक्राउ गर्छ ?

प्रतिवेदन पूर्णरूपमा कार्यान्वयन हुन्छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम अन्य सबैजनालाई हामी एउटै कानुनमा, एउटै रूपमा र एउटै ढंगमा राखेर हेर्छौँ । कसैको माथि बढी हस्तक्षेप भन्ने वा कसैमा कम भन्ने हुँदैन । हामीले राज्यका सबै निकायहरूलाई पूर्ण स्वतन्त्रता दिएका छौं र कुनै राजनीतिक हस्तक्षेप गर्दैनौं । सबै निष्पक्ष ढंगमा काम गर्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?