१४ चैत, काठमाडौं । सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको रकम राज्यकोषमा ल्याउने भनेको छ ।
शनिबार सार्वजनिक सरकारका १०० कार्यसूचीमा त्यस्ता बैंक तथा वित्तीय संस्थाका खाताको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने भनेको छ ।
राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न र अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्यका लागि ९० दिनको समय सीमा तोकिएको छ ।
साथै राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल तथा प्रभावकारी बनाउन ठूला व्यवसायहरूले अनिवार्य रूपमा इबिलिङ प्रणाली एक महिनाभित्र लागू गर्नुपर्ने कार्यसूचीमा उल्लेख छ ।
कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना अर्थ मन्त्रालयले ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने निर्णय समेत भएको छ ।
अहिले करिब १३९ भन्दा बढी कोषहरू छरिएर, दोहोरिएर वा कम प्रभावकारी रूपमा सञ्चालन नभएको भन्दै सरकारले सार्वजनिक स्रोतको उपयोग कमजोर भएको समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका कोषहरूको एकीकरण तथा रकम उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने ढाँचा तयार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4