+
+
Shares
फेसन :

प्रकृति प्रेरित फेसन शोमा देखिए मोडल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नमुना कलेज अफ फेसन टेक्नोलोजीले २०औँ ग्राजुएसन फेसन शोमा ६२ जना विद्यार्थी डिजाइनरका सिर्जनात्मक काम प्रस्तुत गर्‍यो।
  • फेसन शोमा नेपालको प्राकृतिक भू-परिदृश्य र जैविक विविधतालाई ६ वटा अवधारणामा आधारित समकालीन फेसनमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरियो।
  • कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार कल्याणी मिश्र र अन्यले संयुक्त रूपमा विमोचन गरे।

ललितपुरस्थित द प्लाजा शनिबार साँझ फेसनमय बन्यो । नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी)ले आयोजना गरेको २०औँ ग्राजुएसन फेसन शोमा ६२ जना विद्यार्थी डिजाइनरका सिर्जनात्मक काम प्रस्तुत भए ।

कार्यक्रममा ६ वटा अवधारणामा आधारित फेसन प्रस्तुति गरिएको थियो । ती प्रस्तुतिले नेपालको प्राकृतिक भू-परिदृश्य र जैविक विविधतालाई समकालीन फेसनमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरे ।

‘विविधायन सौन्दर्यम्’ भन्ने मूल अवधारणाले शोको आधार तयार गरेको थियो । वन, सिमसार, हिमाल, वन्यजन्तु र पुष्पीय विविधताबाट प्रेरणा लिएर डिजाइनरले प्रकृतिलाई फेसन कथामा रूपान्तरण गरेका थिए ।

रनवेमा ६२ वटा डिजाइनर पोसाकसँगै ६ वटा ‘क्रिएटिभ मास्टरपिस’ पनि देखाइए, जसले प्रकृति, संस्कृति र आधुनिक डिजाइनबीचको सन्तुलन प्रस्तुत गरे ।

कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले गरिन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको शोमा व्यावसायिक तथा विद्यार्थी गरी ३२ मोडलले डिजाइन प्रस्तुत गरे ।

शोको सुरुवात ‘नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो’बाट भयो, जसले हिमनदी र जलप्रवाहको सम्बन्धलाई देखायो । त्यसपछि ‘इरिडेसन्ट शेल्स : आर्मर सफ्टेन्ड बाइ एलेगेन्स’ र ‘आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ’ले माटोभित्रका प्राकृतिक प्रक्रियालाई प्रस्तुत गरे ।

‘एभियोराः विङ्स अफ द हिमालय’ले हिमाली प्रेरणामार्फत उडान, स्वतन्त्रता र आकांक्षा देखायो । हल्का कपडा र पखेटाजस्ता संरचनाले हिमाली परिवेशको शक्ति र सहनशीलता झल्काए ।

‘रेड लिस्ट रिभेरी’ले संकटग्रस्त वन्यजन्तु-हिमचितुवा, रातो पाण्डा र घडियालप्रति ध्यान खिच्यो । माटोका रंग र गाढा रातोको प्रयोगले संरक्षणको सन्देश दियो।

अन्तिम प्रस्तुति ‘वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल’ले पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा उतार्‍यो । गुलाब, लालीगुराँस, अर्किड, कमल र लिलीको सौन्दर्यलाई रंग र डिजाइनमार्फत देखाइयो ।

यी संग्रहले समकालीन नेपाली फेसनको विकसित पहिचान प्रस्तुत गरे, जहाँ फेसन वस्त्रभन्दा बढी विचार र अभिव्यक्तिको माध्यमका रूपमा देखियो । प्रत्येक संग्रहको अन्त्यमा ‘मास्टरपिस’ डिजाइनले डिजाइनरको अवधारणा समेट्यो ।

कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि सार्वजनिक गरियो । क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार कल्याणी मिश्र, व्यवस्थापन संकायका डिन सन्देशदास श्रेष्ठ, प्रिन्सिपल ज्ञानीशोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल र मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?