News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पक्राउ गरिएको प्रष्ट पारेको छ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले कानुनी प्रक्रिया अनुसार भदौ २३ र २४ को घटनामा पक्राउ गरिएको बताए।
- एमालेले ओलीको पक्राउ प्रतिशोध भएको आरोप लगाएको छ भने सरकारले नियमसंगत भएको स्पष्ट पारेको छ।
१६ चैत, काठमाडौं । सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पक्राउ गरिएको प्रष्टीकरण दिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले प्रतिवेदन अनुसार गरेको बताए ।
‘हामी संवेदनशील छौँ । कानुनी प्रक्रिया अनुसार हुन्छ,’ उनले भने, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनसार गरेको हो ।’
एमालेले भने अध्यक्ष ओलीको पक्राउलाई प्रतिशोध भएको आरोप लगाएको छ । तर सरकारले भने नियमसंगत भएको स्पष्ट पारेको छ ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री लेखक थिए । त्यसबेला सरकारले आन्दोलनमा दमन र बल प्रयोग गरेको भनिएको छ ।
अध्यक्ष ओली पक्राउ परेपछि एमालेभने सडकमा प्रदर्शन गरिरहेको छ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट बिहान ओली र लेखक पक्राउ परेका थिए ।
‘भदौ २४ गतेको घटनाको कुरा आइरहेको छ । यस दिनको घटनाको धेरै पक्राउ परिसकेको अवस्था छ । धेरैलाई मुद्दा चलिसकेको छ । २३ गतेको घटनाको कोही पनि पक्राउ परेका थिएनन्,’ मन्त्री पोखरेलले भने, ‘हामीले प्रतिवेदनअनुसार कार्यान्वयन गरेका हौं । राज्यका निकाय र अंगले गर्ने कामहरू कानुनसम्मत हुन्छन्, हामी हस्तक्षेप गर्दैनौं ।’
प्रतिक्रिया 4