+
+
Shares

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि फेरि घातक आक्रमण, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण लेबनानमा युनिफिलमाथि सोमबार भएको आक्रमणमा दुई शान्ति सैनिकको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
  • इन्डोनेसियाका विदेश मन्त्रालयले मृतक सैनिक आफ्नै नागरिक भएको पुष्टि गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
  • संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

१७ चैत, काठमाडौं । दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटबाट शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको थियो ।

सोमबार भएको यो पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सन्जालमार्फत् जानकारी दिएको छ । ‘शान्तिको सेवामा खटिँदा कसैले पनि ज्यान गुमाउन नपरोस्,’ उसले लेखेको छ ।

यसअघि गत आइतबार पनि दक्षिणी लेबनानकै अल–कुसायर नजिकै युनिफिलको एक पोष्टमा आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो ।

साथै लेबनानकै माइस–अल–जबाल भन्ने ठाउँमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा आक्रमण भएको थियो । सो आक्रमणमा शान्ति सैनिकका व्यक्तिगत केही सामानमा क्षति पुगे पनि मानवीय क्षति भएको थिएन ।

हिजो सोमबारको दिन भएको आक्रमणमा परी मृत्यु हुने दुई जनामध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ ।

इन्डोनेसियाको विदेश मन्त्रालयले मृतक शान्ति सैनिक आफ्नै नागरिक भएको जनाएको हो । सो आक्रमणमा अन्य तीन इन्डोनेसियाली शान्ति सैनिक घाइते भएको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसिया सरकारले घटनाको निन्दा गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेको छ ।

इन्डोनेसियाले दक्षिण लेबनानमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न, नागरिक संरचना र पूर्वाधारमाथि आक्रमण रोक्न तथा संवादमार्फत तनाव घटाउन आह्वान समेत गरेको छ ।

चिन्ता र विरोध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विरोध गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र संयुक्त राष्ट्र संघका कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले पछिल्ला घटनाले शान्ति सैनिकहरूको सुरक्षामा समेत गम्भीर जोखिम बढाएको बताएका छन् ।

फ्रान्सले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आग्रह गरेको छ । फ्रान्सका विदेशमन्त्री जिन नोल ब्यारोटले युनिफिलमाथिका आक्रमणलाई ‘अस्वीकार्य र अनुचित’ भन्दै कडा निन्दा गरेका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गर्दै इजरायललाई सैन्य कारबाही रोक्न आह्वान गरेका छन् ।

आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले पनि पछिल्ला दिनहरूमा शान्ति सैनिकमाथि बढ्दो आक्रमणलाई ‘चिन्ताजनक र हिंसात्मक’ भनेर आलोचना गरेका छन् ।

इजरायली स्थल आक्रमण विस्तारसँगै हिंसा चर्किंदै

पछिल्ला घटनाहरू इजरायलले लेबनानमा स्थल आक्रमण विस्तार गर्दै दक्षिणी क्षेत्रमा अझ गहिरो प्रवेश गरिरहेका बेला भएका हुन् । इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई हेजबोल्लाहका हवाई आक्रमणबाट सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि हेजबोल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेपछि इजरायलले मार्चको सुरुवातदेखि लेबनानमाथि आक्रमण तीव्र बनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणका कारण १ हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

दक्षिणी सहर टायरबाट प्राप्त विवरणअनुसार स्थल आक्रमणसँगै झडप र हिंसात्मक घटना तीव्र बन्दै गएको अलजजिराले जनाएको छ । पछिल्लो एक घटनामा सोमबार दक्षिणमा रहेको एक सैन्य जाँच चौकीमा इजरायली आक्रमण हुँदा एक लेबनानी सैनिकको मृत्यु भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?