+
+
Shares

कार्यालय समय सरेसँगै ट्राफिक जामको समय पनि फेरियो

खासगरी सवारी साधनको बढी चाप हुने थापाथली, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, कोटेश्वरसहितका ९७ स्थानमा ‘पिकआवर ड्युटी’ हुने गरेको छ । पिकआवर ड्युटीमा सिनियर अफिसरदेखि जुनियरसम्मको जनशक्ति परिचालन हुने गर्दछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १०:११
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म तोक्दा उपत्यकामा सवारी चाप बिहान ८ बजेदेखि बढ्न थालेको छ।
  • उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म पिक आवर ड्युटी सुरु गरेको छ।
  • काठमाडौं उपत्यकामा १४६० जनाको ट्राफिक व्यवस्थापन टोली ९७ स्थानमा पिक आवर ड्युटी र ३२६ स्थानमा नियमित ड्युटीमा खटिन्छ।

२६ चैत, काठमाडौं । कार्यालय समय परिवर्तनसँगै सडकमा सवारी जाम हुने समय पनि फेरिएको छ । जाम हुने समय अघि सरेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’को समय तालिका पनि अघि सारेको छ ।

पहिले कार्यालय समय १० बजेदेखि ५ बजेसम्म तोकिएको थियो । त्यतिबेला १० बजेभन्दा करिब एक घण्टा अगाडि र ५ बजेदेखि करिब एक घण्टा पछाडिसम्म सडकमा सवारी साधनको चाप अत्यधिक हुन्थ्यो । कतिपय स्थानमा त लामो समयसम्म ट्राफिक जाममा रोकिनुपर्थ्यो ।

२२ चैतको मन्त्रिपरिषद बैठकले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेपछि सवारी साधनको चाप बिहान ८ बजेदेखि नै बढ्ने गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले सवारी साधनको चापलाई मध्यनजर गरेर बिहान ८ बजेदेखि नै ‘पिक आवर ड्युटी’ सुरु गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए ।

‘कार्यालय समयमा अलि बढी चाप हुने भएकाले पहिले ९ बजेदेखि ‘पिक आवर ड्युटी’ सुरु हुन्थ्यो भने अहिले ८ बजेदेखि नै सुरु हुन्छ,’ सूचना अधिकारी सुवेदीले भने ।

पिक आवर ड्युटी भन्नाले बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिलाई बुझाउँछ । बिहानको समयमा ट्राफिक जाम हुने समय अघि सरे पनि बेलुकाको जामको अवस्था भने अझै उस्तै छ ।

सवारी व्यवस्थापनमा दिनहुँ खटिन्छन् १४ सय बढी जनशक्ति

खासगरी सवारी साधनको बढी चाप हुने थापाथली, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, कोटेश्वरसहितका ९७ स्थानमा ‘पिकआवर ड्युटी’ हुने गरेको छ । पिकआवर ड्युटीमा सिनियर अफिसरदेखि जुनियरसम्मको जनशक्ति परिचालन हुने गर्दछन् ।

‘काठमाडौं उपत्यकामा सवारी व्यवस्थापनका लागि दिनहुँ एक हजार ४ सय ६० जना जनशक्ति परिचालन हुन्छन् । ९७ स्थानमा हाम्रो पिक आवर ड्युटी हुन्छ भने ३२६ स्थानमा नियमित ड्युटी हुन्छ । अरु २८ स्थानमा भने चौबिसै घण्टा ड्युटी हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुवेदीका अनुसार हाल भीभीआईपी र भीआईपीको सवारीका बेला अन्य सर्वसाधारणका गाडीलाई रोक्ने गरिएको छैन । ‘अहिले पहिलेको जस्तो छैन, भीआईपी र भीभीआईपीहरु पनि रातो बत्तीमा अरु सर्वसाधारणजस्तै रोकिनुहुन्छ,’ सूचना अधिकारी सुवेदीले भने ।

ट्राफिक एफएमको कार्यक्रम अघि सर्‍यो

काठमाडौं उपत्यकामा करिब ११ लाख बढी सवारी साधन रहेको अनुमान छ । यसमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ ।

सडकको क्षमताभन्दा धेरै सवारी साधन एकैपटक गुड्ने र ट्राफिक नियम पालना नगर्ने समस्याले जामको समस्या बिकराल हुँदै गएको छ ।

हाल कार्यालय समयसँगै सवारी साधनको चाप हुने समय फेरिएकाले ट्राफिक एफएमले समेत सडकको अवस्थाबारे जानकारी दिने समय तालिका फेरबदल गरेको छ ।

ट्राफिक एफएमले पहिले पिकआवर भनेर ९ बजेदेखि ११ बजेसम्म सडकको अवस्थाबारे जानकारी दिन्थ्यो भने अहिले सो कार्यक्रम ८ बजेदेखि १० बजेसम्म बज्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?