२६ चैत, सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कर्मचारीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
चैत २३ गते कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि हाजिरी गरिरहेका बेला मेयर यादवले गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेको आरोप छ ।
सो घटनापछि पीडितले मेयर यादवलाई प्रतिवादी बनाएर प्रहरीमा उजुरी दर्ता गराएका थिए । घटनापछि कर्मचारीहरू आन्दोलित छन् । नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित छ ।
उजुरीका आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्दै जिल्ला प्रशासन कार्यालयसँग पक्राउ पुर्जी मागेको थियो । प्रशासनले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले अदालतबाट पक्राउ अनुमति पाएको पुष्टि गरे ।
कुटपिटका कारण कार्यालय सहयोगी यादवकोे छातीका तीनवटा हड्डी भाँचिएको प्रहरीले जनाएको छ । उनी विराटनगरस्थित न्युरो अस्पतालबाट उपचारपछि घर फर्किसकेको बुझिएको छ ।
प्रहरीले मेयर यादव हाल सम्पर्कबाहिर रहेको र उनको खोजी कार्य जारी रहेको जनाएको छ । ‘उहाँ यहाँ हुनुहुन्न, हामी खोजिरहेका छौं,’ एसपी पाठकले भने ।
घटनापछि आक्रोशित बनेका नगरपालिकाका कर्मचारी सोही दिनदेखि कार्यालयमै धर्ना दिइरहेका छन्, जसका कारण कार्यालयको सेवा प्रवाह पूर्ण रूपमा ठप्प छ ।
आन्दोलनरत कर्मचारीहरूले पीडितको नि:शुल्क उपचार, उचित क्षतिपूर्ति, नगर प्रमुखमाथि कडा कानुनी कारबाही तथा कर्मचारीहरूले आत्मसम्मानपूर्वक काम गर्न पाउने सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
आन्दोलनरत् कर्मचारी



प्रतिक्रिया 4