+
+
Shares

निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते ११:४३

२९ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् ।

प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुग्याएर दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन भैसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी काममा ढिला गर्न नहुने  बताए । रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन  निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह समेत गरे । ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले भने ।

उनले निर्माण व्यवसायीलाई कार्य तालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समय सीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन समेत सचेत गराए ।

रङ्गशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड समेत दिए ।

मुख्यमन्त्री कँडेलले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न समेत निर्देशन दिएका छन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए ।

कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंठमा समावेश गर्न समेत मुख्यमन्त्री कँडेलले आग्रह गरे । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे । कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?