+
+
Shares

आयल निगमले भन्यो : चरम घाटा सहेरै आपूर्ति सहज बनाएका छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेकाले पाक्षिक करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको जनाएको छ।
  • निगमले एलपी ग्यासमा सिलिन्डरमा ३३१ रुपैयाँ २५ पैसा र डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा भइरहेको खुलाएको छ।
  • निगमले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना प्रति ध्यानाकर्षण गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाएको छ।

३० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य र नाफा–घाटाका विषयमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र नकारात्मक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेका कारण आफूहरूले पाक्षिक (१५ दिन) रूपमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको बताएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ (मार्च ३१) मा प्राप्त पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको खरिद लागत निकै उच्च छ । लागत मूल्यको तुलनामा आन्तरिक बजारमा मूल्य कम हुँदा निगमले भारी नोक्सानी खेप्नु परेको जनाएको छ ।

कुन इन्धनमा कति छ घाटा ?

निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सबैभन्दा बढी घाटा एलपी ग्यास र डिजेलमा छ । मूल्य समायोजन गर्दा समेत निगमलाई प्रतिसिलिन्डर ग्यासमा ३ सय ३१ रुपैयाँ २५ पैसा र डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा भइरहेको छ ।

त्यसैगरी, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र आन्तरिक तर्फको हवाई इन्धनमा ९२ पैसा प्रतिलिटर घाटा रहेको छ ।

आईओसीबाट प्राप्त दररेट अनुसार निगमलाई पेट्रोलको खरिद लागत प्रतिलिटर २ सय २१ रुपैयाँ ३२ पैसा पर्छ तर खुद्रा बिक्री मूल्य २ सय १९ रुपैयाँ मात्र तोकिएको छ । त्यस्तै, डिजेलको लागत मूल्य प्रतिलिटर २ सय ९४ रुपैयाँ ९९ पैसा पर्नेमा जम्मा २ सय ७ रुपैयाँमा बिक्री भइरहेको छ ।

एलपी ग्यासमा एक सिलिन्डरको लागत २ हजार ३ सय ४१ रुपैयाँ २५ पैसा पर्ने भए पनि उपभोक्ताले २ हजार १० रुपैयाँमा खरिद गरिरहेका छन् । यस्तो जटिल वित्तीय अवस्था र चरम घाटाका बाबजुत पनि बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाइराखेको निगमले दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय परिवेशले सिर्जना गरेको वर्तमान परिस्थितिलाई बुझिदिन र सामाजिक सञ्जालका अफवाहको पछि नलाग्न निगमले आम उपभोक्तालाई आग्रह गरेको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको खण्डमा सोही अनुसार नेपालमा पनि मूल्य घटाएर समायोजन गर्ने प्रतिबद्धता निगमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?