News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा घरजग्गा, सेयर र सुन उच्च प्राथमिकतामा रहेको छ।
- नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले सुन खरिदमा कुनै सीमा नभएको र स्रोत प्रमाणित गर्नुपर्ने बताए।
- सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइलीले सुनका गरगहना मात्र किनेर राख्न सकिने बताए।
१ वैशाख, काडमाडौं । ‘हाई प्रोफाइल’ व्यक्तिहरूले जम्मा गर्ने सम्पत्तिमध्ये सुन उच्च प्राथमिकतामा पर्ने गर्छ । उच्च तहका व्यक्तिले घरजग्गा र सेयरपछि सुनमा लगानी गर्ने गरेको पाइन्छ ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति जम्मा गर्ने क्रममा पहिलो रोजाइ घरजग्गा देखिएको छ । त्यसपछि सुन र सेयर खरिद गरेर राख्ने गरेका छन् । जेनजी आन्दोलनपछि करिब दुई तिहाइको जनादेश पाएको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको हकमा पनि सम्पत्ति भनेको घरजग्गा, सेयर र सुन देखियो ।
घरजग्गा र सेयर खरिद गरेर राख्न कानुनी सीमा भए पनि सुनको हकमा त्यस्तो छैन । त्यसले पनि उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरणमा सुन हिस्सा ठूलो देखिने गरेको हो । धेरै पैसा लगानी गर्दा पनि सुन परिमाण थोरै हुने भएकाले उच्चपदस्थको रोजाइमा परेको सरोकारवालाहरू बताउँछन् ।
घरजग्गाका लागि हदबन्दी छ भने सेयर खरिद गर्दा क्षेत्र अनुसार कानुनी सीमितता र उपलब्ध तरलताका कारण फरक पर्छ । तर, सुनको लगानीका हकमा दैनिक ९ लाख ९९ हजार रुपैयाँ बराबरको गहना खरिद गरेर राख्न सक्ने अवस्थाले पनि त्यसतर्फको लगानी धेरै देखिएको हो ।
त्यस्तै घरजग्गा, सेयर बजार र सुनको बजार अवस्था अनुसार पनि लगानीमा परिवर्तन हुने गरेको सुनचाँदी व्यवसायीको भनाइ छ । भूमिसम्बन्धी ऐन २०२१ ले अधिकतम १० बिघा तोकेको छ ।

त्यसैगरी धितोपत्रको दोस्रो बजारको सेयरका हकमा पनि बैंक तथा वित्तीय संस्था, बीमा तथा लघुवित्तका नियामकले निश्चित संख्याभन्दा धेरै लिन नपाउने व्यवस्था गरेको छ ।
तर, जलविद्युत् तथा अन्य क्षेत्रका कम्पनीका हकमा भने सीमा नभए पनि बजारमा उपलब्ध तरलताले नियन्त्रण गर्ने गरेको छ । सुन खरिद गर्ने हकमा ढिक्का सुनमा नियन्त्रण गरिए पनि गहनाका रूपमा खरिद गरेर राख्न कुनै सीमा छैन । त्यसका लागि सुन खरिद गरेको पैसाको स्रोतसम्म भने खोजी हुन सक्छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण विभागले स्रोत हेर्ने भएकाले खरिद गर्ने हकमा कुनै सीमा नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।
वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूकै सम्पत्ति विवरण अनुसार पनि सुनको परिमाण उच्च देखिन्छ । सार्वजनिक विवरण अनुसार बहालवाला प्रधानमन्त्री बालेन शाहसँग १ सय ९० तोला सुन छ । त्यसैगरी गृहमन्त्री सुदन गुरुङको सुन ८९ तोला, अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको ४५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला सुन भएको सम्पत्ति विवरण आएको छ ।
त्यस्तै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३०, कानुनमन्त्री सोबिता गौतमको १५ तोला, महिलामन्त्री सीता वादीको १८ तोला, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल २५ तोला, स्वास्थ्यमन्त्री निशा मेहताको ३० तोला, शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, पर्यटनमन्त्री खड्कराज पौडेलको ११ तोला, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको १९.५ तोला र कृषिमन्त्री गीता चौधरीसँग ९ तोला सुन छ । उद्योगमन्त्री गौरीकुमारी यादवको १८० तोला र श्रममन्त्री रामजी यादवको ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।
सुन किनेर राख्न स्रोत खुलेको पैसा भए मात्रै हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइली बताउँछन् । ‘सुनका गरगहना यति परिणाममा मात्रै राख्ने वा योभन्दा धेरै राख्न नपाइने भन्ने नीति छैन,’ रसाइलीले भने, ‘१० लाखभन्दा माथिको एकै दिन किन्यो भने मात्रै स्रोत खोजी हुने हो, दिनदिनै ९ लाख ९९ हजारको सुन किनेर राख्न सकिन्छ ।’
सुन किन्दा गहना नै किन्नुपर्ने रसाइलीको भनाइ छ । बेरुवा औँठी होस् वा बाला, गहनाको स्वरूप हुनुपर्ने उनले बताए । नेपाल राष्ट्र बैंकको कार्यविधि अनुसार सुनचाँदी व्यवसाय गर्न प्यान नम्बर लिएका व्यक्ति बाहेकले ढिक्का सुन किन्न नपाउने जानकारी उनले दिए ।

‘घरजग्गामा हदबन्दीसँगै कारोबार पनि सुस्तता आएपछि सुनमा लगानी गर्ने बढेका थिए,’ उनले भने, ‘जब सुनको भाउ बढ्यो, अब अहिले कारोबार कम छ, घरजग्गाको कारोबार कम हुँदा सुनको बिक्री उल्लेख्य बढेको थियो, सुनको भाउ अलिकति घट्यो भने बजारमा सरर माग आइहाल्छ र बढ्न थालेपछि फेरि माग घट्ने गरेको छ ।’
गहना बनाएर राख्ने चलन रहेका कारण उत्पादन क्षेत्रमा जानुपर्ने लगानी सुनमा आउँदा पूँजी होल्ड भएको रसाइलीको तर्क छ ।
नेपालको काुनन अनुसार ढिक्का सुन किन्न नपाइने केन्द्रीय बैंकका प्रवक्ता पौडेलले बताए । विगतमा राष्ट्र बैंकले ५० ग्रामको सिक्का बेच्ने गरेको थियो । सर्वसाधारणले त्यसलाई पनि किनेर राख्ने गरेको जानकारी दिए । अहिले भने ५० ग्रामको सिक्का बिक्री नभए पनि दसैंको समयमा साना परिमाणका सिक्का सुनको स्टक अनुसार बिक्री गर्ने गरेको छ ।
त्यसैगरी नेपालीहरू विदेशबाट नेपाल फर्केर आउँदा गहना स्वरूपमा महिलाका हकमा ५० ग्रामसम्म र पुरुषका हकमा २५ ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था छ । यसले पनि आममानिसको घरमा सुनको परिमाण धेरै हुन पुगेको पौडेलले बताए ।
गरगहना किन्न पाइने व्यवस्था हेर्ने हो भने त्यसमा पनि कुनै सीमा नभएको उनको भनाइ छ । लगानीका क्षेत्रमध्ये सुन पनि एक हो । सुनको मूल्य विश्व बजारमा एकदमै चलायमान छ ।
‘हाम्रो सामाजिक मान्यता र संस्कारमा पनि सुन प्रयोग हुने गरेको छ, त्यसले लगानी, सम्पत्ति र संस्कृति तीनै काम एक लगानीबाट हुने भएकाले पनि सुन रोजाइमा परेको हो,’ उनले भने, ‘२ लाखको फोन किन्यो भने तीन, चार वर्षमा त्यतिकै फाल्नुपर्ने हुन्छ, सुनमा गरेको लगानी बढ्ने पनि भएकाले सम्पत्ति वृद्धिमा समेत योगदान गर्छ ।’

लगानीको दृष्टिकोणबाट हेर्दा सुनभन्दा पनि उत्पादन र रोजगारी बढाउनेमा वित्तीय स्रोत परिचालन हुनुपर्ने उनको सुझाव छ ।
देशभरि नै सुन आयात गर्न कोटा प्रणाली लागु भएकाले पनि सर्वसाधारणले राख्न पाउने सीमा नतोकेको राष्ट्र बैंक प्रवक्ता पौडेलको भनाइ छ ।
‘अहिले दैनिक २५ किलो सुन आयात हुन्छ, यो भनेको एक वर्षमा ९ हजार १ यस २५ किलो हो, बजारको माग भने दैनिक ४० किलो रहेको व्यवसायी दाबी गर्छन्,’ पौडेलले भने, ‘आन्तरिक स्रोतका रूपमा पुराना गहना खरिद–बिक्रीबाट करिब १० किलो सुन दैनिक बजार आउँछ, अझै पनि ५–७ किलो न्यून आपूर्ति छ ।’
नेपालबाट सुनका गरगहना निर्यात गर्ने सन्दर्भमा पनि कुनै सीमा नभएको पौडेलले बताए । ‘निर्यात गर्ने सुन जति पनि किन्न पाइन्छ,’ उनले भने, ‘निर्यात गरेको देखाएको खण्डमा आयातमा पनि सीमा छैन, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको मागर्दशनका आधारमा सुनचाँदी खरिद–बिक्री हुन्छ ।’
त्यसैले आयातमा नै सीमा तोकिएको हुनाले व्यक्तिलाई होल्ड गर्ने सीमाबारे केन्द्रीय बैंकले नसोचेको उनको भनाइ छ । पुरानो सुन बिक्री गर्नुपर्दा खरिद गर्नेले बिलबिजक जारी गर्नुपर्ने व्यवस्था छ । त्यसलाई स्रोतका रूपमा पनि स्वीकार गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया 4