News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताए।
- पार्टी सदस्यहरूको क्षमता पहिचान र जिम्मेवारी निर्धारणका लागि डिजिटल नवीकरण प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरे।
- महामन्त्री पौडेलले पुराना सदस्यहरूको अभिलेख हटाउन खोजिएको होइन, त्यसलाई व्यवस्थित र सुरक्षित गर्न खोजिएको बताए।
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताए ।
महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गरे ।
सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्ने कुरा सत्य नरहेको उनको भनाइ छ ।
‘आजको डिजिटल युगमा काँग्रेसको सदस्यलाई पार्टीसँग डिजिटल्ली जोड्न खोजिएको हो । सदस्यको फोन नम्बर र अन्य जानकारी भएमा सदस्य–सदस्यबीच, विभिन्न तह र पार्टीबीच समन्वय गर्न सजिलो हुन्छ,’ पौडेलले भने, ‘पुराना अभिलेख हटाउन खोजिएको होइन, बरु त्यसलाई व्यवस्थित र सुरक्षित गर्न खोजिएको हो । को सदस्य कहिलेदेखि भयो र उसले कुन जिम्मेवारी निर्वाह गर्यो भन्ने सबैकुरा अब हाम्रो डिजिटल सिस्टममा नमेटिने गरी सुरक्षित रहनेछ ।’
पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसावले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको महामन्त्री पौडेलले भने ।
‘पार्टी कमजोर भएको बेला एकता कायम गर्न सकिएन भने झन् संकट आउँछ । त्यसैले नेतृत्वमा रहेका व्यक्तिहरूले सबैलाई समेटेर अगाडि बढ्न जरुरी छ,’ उनले भने ।
आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारी समितिको रूपमा क्रियाशील रहेको उनले जानकारी दिए ।
महामन्त्री पौडेलले अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टीले सार्वजनिक गरेको क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगको अपिल पनि गरेका छन् ।
प्रतिक्रिया 4