५ वैशाख, काठमाडौं । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण पुनः सुरु गर्ने घोषणा गरेको छ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीहरूले अब यो जलमार्ग आफ्नो पुरानो अवस्थामा फर्कने र सशस्त्र बलहरूले यस क्षेत्रको कडा निगरानी गर्ने जनाएका छन्।
इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै अमेरिकी नाकाबन्दीलाई समुद्री लूटको संज्ञा समेत दिएको छ।
यसअघि शुक्रबार इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत युद्धविरामको बाँकी अवधिका लागि होर्मुज स्ट्रेटबाट सबै व्यावसायिक जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिएको जानकारी दिएका थिए।
सोही घोषणाको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल‘ मा पोस्ट गर्दै इरानलाई धन्यवाद दिएका थिए। उनले ‘इरानले भर्खरै ‘स्ट्रेट अफ इरान‘ पूर्ण रूपमा खुला र आवतजावतका लागि तयार रहेको घोषणा गरेको छ, धन्यवाद!‘ भनी लेखेका थिए।
तर, ट्रम्पको यो ‘धन्यवाद‘ सन्देश सार्वजनिक भएको केही मिनेटमै उनले अर्को पोस्ट गर्दै होर्मुजमा अमेरिकी नाकाबन्दीजारी रहने स्पष्ट पारेका छन्।
यो विरोधाभासपूर्ण स्थितिसँगै होर्मुज स्ट्रेटको वास्तविक अवस्थालाई लिएर विश्वभर अन्योल सिर्जना भएको छ।
इरानले आफ्नो बन्दरगाहको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिइरहेको बेला केही जहाजहरू पार भएको देखिए पनि यो महत्वपूर्ण मार्गबाट कति जहाज सुरक्षित रूपमा निस्कन सकेका छन् भन्ने स्पष्ट भइसकेको छैन।
दुई देशबीचको यो खिचातानीले विश्वव्यापी इन्धन आपूर्ति र सुरक्षा व्यवस्थालाई थप अनिश्चित बनाएको छ।
प्रतिक्रिया 4