+
+
Shares

होर्मुज स्ट्रेट खुलाउने अरू ३ विकल्प छाडेर ट्रम्पले नाकाबन्दी किन रोजे ?

अमेरिकाका सहयोगीहरूका लागि आशावादी हुनुपर्ने कुनै खास कारण छैन। उनीहरूमध्ये धेरै त युद्धमा सामेल नै नभई यसको परिणाम भोगिरहेका छन्।

बीबीसी बीबीसी
२०८३ वैशाख ७ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गरिएको घोषणा गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले नाकाबन्दी जारी रहने बताए।
  • इरानी सेनाले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरेको र अमेरिकी नाकाबन्दीको जवाफमा स्ट्रेट बन्द राखेको छ।
  • ट्रम्पले होर्मुज स्ट्रेटमा नौसैनिक अभियान चलाउन नेटो र एसियाली देशहरूसँग गठबन्धन बनाउन असफल भई एक्लै कारबाही गरेको बताए।

७ वैशाख, काठमाडौं । शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत युद्धविरामको बाँकी अवधिका लागि होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गरिएको जानकारी दिएका थिए।

तर इरानको यो घोषणाको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा अमेरिकी नाकाबन्दी जारी रहने बताए।

यद्यपि, इरानले यसअघि नै यदि अमेरिकाले आफ्ना बन्दरगाहहरूको नाकाबन्दी जारी राखेमा होर्मुज स्ट्रेट बन्द गरिदिने बताएको थियो।

शनिबार इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, त्यहाँको सेनाले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरिरहेको बताएको छ। बीबीसीका अनुसार, अमेरिकी नाकाबन्दीको जवाफमा आइतबार पनि इरानले होर्मुज स्ट्रेट बन्द नै राखेको थियो।

यद्यपि, यसअघि इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकासँग जवाफी कारबाहीका धेरै विकल्पहरू थिए।

पहिलो बाटो वार्ता र शान्तिपूर्ण तरिकाले समाधान निकाल्नु थियो। तर सुरुवाती वार्ता असफल भएका कारण त्यसलाई चाँडै नै छोडियो।

दोस्रो विकल्प कठोर कारबाही गर्नु थियो। अर्थात् इरानको तेल पूर्वाधार नष्ट गर्नु। यसले स्पष्ट रूपमा तनाव निकै बढाउँथ्यो र मेलमिलापको कुनै पनि सम्भावना समाप्त गरिदिन्थ्यो।

तेस्रो विकल्प युद्धअघिको अवस्थालाई पुनर्बहाली गर्नु थियो। अर्थात् होर्मुज स्ट्रेट पुनः खुलाउने प्रयास गर्नु। तर यो बाटो पनि सहज थिएन।

यसका लागि समुद्री मार्गबाट बारुदी सुरुङहरू हटाउनु मात्र आवश्यक थिएन, जहाजहरूलाई मिसाइल आक्रमण र साना डुङ्गाहरूको आक्रमणबाट बचाउनु पनि जरुरी थियो।

ट्रम्पले रोजे चौथो विकल्प

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौथो विकल्प रोजे।

होर्मुज स्ट्रेटमा नौसैनिक अभियान चलाउन अमेरिकाले नेटो सहयोगीहरूलाई साथमा ल्याउन सकेन। यसका अतिरिक्त, होर्मुज स्ट्रेट बन्द हुँदा प्रभावित भएका एसियाली देशहरूसँग गठबन्धन बनाउन पनि अमेरिका सफल हुन सकेन।

नतिजास्वरूप अमेरिकाले एक्लै कारबाही गर्नुपर्‍यो र उसका क्षमता तथा स्रोतसाधनहरू जति व्यापक देखिन्थे, तदनुरूप नतिजा आएनन् ।

इरानविरुद्धको अभियानको सुरुवातमै अमेरिकाले पश्चिम एसियामा अपेक्षाकृत ठूलो नौसैनिक शक्ति गठन गर्‍यो। अमेरिकासँग त्यहाँ पहिलेदेखि नै विनाशक जहाज (डिस्ट्रोयर), गस्ती जहाज र अन्य नौसैनिक पूर्वाधारहरू थिए ।

यसबाहेक दर्जनौँ विमान र हेलिकप्टर बोक्न सक्ने दुईवटा विमानवाहक पोत (एयरक्राफ्ट क्यारियर) पनि समावेश गरिए।

यद्यपि, यी सबै नौसैनिक सम्पत्तिहरूमध्ये सीमित हिस्सा मात्रै होर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा सञ्चालन हुन सक्षम छ।

ट्रम्पले अपनाएको चौथो विकल्प पहिलो नजरमा तर्कसङ्गत देखिन्छ। यदि इरानले होर्मुज स्ट्रेट बन्द राख्छ भने, उसले यसको मूल्य चुकाउनुपर्नेछ।

यस विषयमा अझै पनि केही सम्भावना वा आशा बाँकी नै छ। तर सँगसँगै, इरानको आगामी दिनहरू भने निकै कठिन र के हुन्छ भन्न नसकिने अवस्थामा देखिन्छन्।

प्राविधिक रूपमा यो काम गर्न सकिन्छ। इरानको किनारबाट निकै टाढा पर्ने ओमानको खाडी र अरब सागरमा रहेका इरानका लुकिछिपी हिँड्ने जहाजहरूलाई रोक्दा अमेरिकी सेनाका जहाजहरू सुरक्षित रहन सक्छन्।

हाललाई यस प्रकारको नाकाबन्दीका लागि पर्याप्त नौसैनिक शक्ति मौजुद छ।

पश्चिम एसियाको सुरक्षाका लागि जिम्मेवार अमेरिकाको पाँचौं फ्लीटको संरचना लचिलो छ। मिसनको आवश्यकताअनुसार, यसलाई तुरुन्तै परिवर्तन गर्न सकिन्छ।

डोनाल्ड ट्रम्पका अनुसार, ‘यस क्षेत्रमा अतिरिक्त बल पनि पठाइँदै छ।’

क्षति इरानलाई मात्रै छैन

इजरायली सैन्य विशेषज्ञ डेभिड जेन्डेलम्यान लेख्छन्, ‘जब पाठकहरूले सोधे कि के अमेरिकाले सैन्य बलको भरमा होर्मुज स्ट्रेट खुलाउन सक्छ, तब मैले सधैँ यही जवाफ दिएँ- इरानका लागि होर्मुज स्ट्रेट बन्द गर्नु अरूका लागि यसलाई खुलाउनुभन्दा धेरै सजिलो छ। अमेरिकीहरूले अब यो समीकरण बुझिसकेका छन्।’

यद्यपि, डोनाल्ड ट्रम्पको यो निर्णयले इरानलाई मात्र नोक्सान पुग्नेछैन।

अमेरिकी सैन्य अभियान सुरु भएयता जहाजहरूका लागि अत्यन्तै खतरनाक बनिसकेको होर्मुज स्ट्रेट खुलाउन अमेरिकाले कुनै हतारो देखाइरहेको छैन।

अमेरिका केवल नाकाबन्दीलाई अझ कडा बनाइरहेको छ।

इरानी बारुदी सुरुङ र मिसाइलहरूले भरिएको समुद्री मार्गका कारण होर्मुज स्ट्रेट पहिलेदेखि नै खतरनाक छ।

होर्मुज स्ट्रेटको मुहान वा निकासद्वारमा कुनै अमेरिकी डिस्ट्रोयरको सामना गर्नुपर्दा खतरा अझ दोब्बर हुन्छ।

खाडी देशहरूका व्यापारिक साझेदारहरूलाई प्रत्यक्ष रूपमा आर्थिक नोक्सान भएको छ। आपूर्ति शृङ्खला अवरुद्ध भएको छ र विश्वव्यापी तेलको मूल्य पुनः एकपटक बढेको छ।

अहिले यो कुरा स्पष्ट छैन- विशाल नौसेना र जिबुटीमा सैन्य अखडा रहेको चीनले यस नाकाबन्दीमाथि कस्तो प्रतिक्रिया दिनेछ।

यसैबीच, अमेरिकाका सहयोगीहरूका लागि आशावादी हुनुपर्ने कुनै खास कारण छैन। उनीहरूमध्ये धेरै त युद्धमा सामेल नै नभई यसको परिणाम भोगिरहेका छन्।

(बीबीसी रुसी सेवाकी रक्षा विश्लेषक इल्या अबिशेकको सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?