News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलले देशभर ९ वटा स्थायी र ६० वटा अस्थायी विपद् व्यवस्थापन बेस सञ्चालन गर्ने योजना बनाएको छ।
- सशस्त्र प्रहरी बलले ४ हजार ५१३ जनशक्ति विपद् व्यवस्थापन तालिममार्फत उत्पादन गरेको र आवश्यकताअनुसार परिचालन गरेको छ।
- सशस्त्र प्रहरी बलले विपद् स्वयंसेवक तालिम कार्यक्रमअन्तर्गत स्थानीय तहमा १ सय ३५ जनालाई तालिम दिइरहेको र प्रत्येक वडामा २५ जनाको दरले स्वयंसेवक विकास गर्ने लक्ष्य राखेको छ।
१० वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।
बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए ।
उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ ।
‘विशेष गरेर मौषमजन्य विपद्का लागि विपद् अस्थायी बेस ६० वटा स्थापना गरेर काम गर्ने चरणमा छौँ । गत सालदेखि सशस्त्र प्रहरी बलले नयाँ अवधारण ल्याएर विपद् स्वयंसेवक तालिम भनेर विभिन्न वडामा जनशक्ति उत्पादन गर्नेगरि तालिम सञ्चालन गरेका छौँ । गत साल ९९० जनाले तालिम प्राप्त गरेका थिए । अहिले २२९ जनाले तालिम प्राप्त गरेका छन् र १३५ जना अरू थप तालिमरत हुनुहुन्छ,’ उनले भने ।
सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेसनल युनिट स्थापना गरेको उनको भनाइ छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् ।
उनले प्रहरी हेडक्वाटरदेखि बीओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिए ।
उनकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उनले जानकारी दिए ।
हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बीओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उनको भनाइ छ ।
उनले सशस्त्र प्रहरीले गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा जनशक्ति उत्पादन गरिरहेको पनि जानकारी दिए । सो कार्यक्रमअन्तर्गत गतवर्ष ९९० जनाले तालिम लिएको र यस वर्ष हालसम्म २ सय २९ जनाले तालिम पूरा गरेको उनले बताए । हाल १ सय ३५ जना तालिमरत रहेका छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको पनि उनले जानकारी दिए ।
उनले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताए । देशभरि रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभूत सामग्री अझै अपुग रहेको उनको भनाइ छ । विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सामग्री संकलनको प्रयास भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4