१२ वैशाख, काठमाडौं । भारत र दक्षिण कोरियाले आफ्नो रक्षा तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी ऐतिहासिक रणनीतिक साझेदारी विस्तार गरेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्याङको हालैको तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको हो ।
यस भ्रमणका क्रममा विशेषगरी जहाज निर्माण, रक्षा सामग्री उत्पादन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता भविष्यका महत्वपूर्ण क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ । राष्ट्रपति लीले भारतको ‘आत्मनिर्भर भारत’ नीतिलाई पूर्ण समर्थन गर्दै भारतीय रक्षा उपकरणको उत्पादन, सञ्चालन र प्रविधि विकासमा दक्षिण कोरियाले सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दुई देशबीचको रक्षा सहकार्यको सबैभन्दा सफल र सशक्त नमुनाको रूपमा ‘के–९ वज्र’ १५५ एमएमको सेल्फ–प्रोपेल्ड हाउइत्जर तोपलाई लिइएको छ । दक्षिण कोरियाको ’के–९ थन्डर’ डिजाइनमा आधारित यो तोप दक्षिण कोरियाली कम्पनी हनवा एरोस्पेसबाट प्रविधि हस्तान्तरण गरी भारतमै उत्पादन भइरहेको छ ।
हाल भारतीय सेनासँग झन्डै १०० वटा यस्ता आधुनिक तोपहरू रहेका छन् भने थप १०० वटा खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय सेनाको आवश्यकता अनुसार मरुभूमि र लद्दाख जस्ता उच्च हिमाली क्षेत्रका लागि विशेष रूपमा परिमार्जन गरिएको यो तोपले भारतको सैन्य क्षमतालाई निकै सुदृढ बनाएको छ ।
भारत र दक्षिण कोरियाबीच विशेषगरी तोपखाना र विमानभेदी तोपका क्षेत्रमा भइरहेको यो सहकार्य विस्तारलाई चीनले निकै ‘संवेदनशील’ रूपमा हेर्ने विश्लेषकहरूले बताएका छन् । हिमालय क्षेत्रमा भारत र चीनबीच लामो समयदेखि जारी सीमा विवादका बीच दक्षिण कोरियाली अत्याधुनिक सैन्य प्रविधिले भारतीय सेना सुसज्जित हुनुलाई बेइजिङले आफ्नो रणनीतिक चुनौतीका रूपमा लिएको छ ।
भारतको रक्षा आत्मनिर्भरता बढ्नु र दक्षिण कोरियाजस्तो प्रविधिमा अब्बल देशले भारतलाई साथ दिनुले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने देखिएकाले चीनले यसलाई संशयपूर्ण नजरले हेर्नु स्वाभाविक मानिएको छ ।
प्रतिक्रिया 4