News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिका नजिकैको लम्बुखोला मजुवा फाँटमा चैते धानखेतीले क्षेत्र हराभरा बनेको छ।
- पाँचथरको कुम्मायक गाउँपालिका–५ का किसानहरूले यहाँ मुख्य रूपमा खेती गर्दै आएका छन् र समूहमा काम गर्ने परम्परा जीवित छ।
- लम्बु दोभान–मजुवा फाँट प्राकृतिक सौन्दर्यका साथै कृषि उत्पादन केन्द्रका रूपमा पनि चिनिएको छ र यहाँ बाढी जोखिम र युवा कमी चुनौती छन्।
१३ वैशाख, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका र छथर गाउँपालिका अन्तर्गत, पाँचथरको कुम्मायक गाउँपालिका सँग सिमाना जोडिएको लम्बुखोला मजुवा फाँट यतिबेला चैते धानखेतीले हराभरा बनेको छ ।
दुईतर्फ उभिएका अग्ला पहाडहरूको काखमा फैलिएको फराकिलो समथर फाँटमा लहलहाउँदै गरेका धानका बोटहरूले क्षेत्रलाई लोभलाग्दो बनाएका छन् । हरियो रंगले ढाकिएको यो फाँटले आँखालाई आनन्द दिनुका साथै यहाँका किसानहरूको मेहनत, आशा र भविष्यको संकेत पनि बोकेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केका स्थानीयहरूले यहाँ मुख्य रूपमा खेती गर्दै आएका छन् ।
लम्बु दोभान पहाडी भू–भागबीच रहेको दुर्लभ समथर उर्वर भूमि हो । यहाँको मलिलो माटो, पर्याप्त पानी र अनुकूल हावापानीका कारण बर्सेनि राम्रो उत्पादन हुने गरेको छ । विशेषगरी चैते धानखेतीका लागि उपयुक्त मानिने यो क्षेत्र जिल्लाकै महत्वपूर्ण कृषि उत्पादन केन्द्रका रूपमा परिचित छ । बर्खायाम अगावै उत्पादन हुने चैते धानले किसानहरूलाई खाद्य सुरक्षामा सहजता मात्र होइन, आम्दानीको थप स्रोत पनि उपलब्ध गराउँदै आएको छ ।
तेह्रथुम जिल्लाको भूभाग भए पनि यहाँ पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केका किसानहरूले पुस्तौंदेखि खेती गर्दै आएका छन् । रोपाइँको समयमा समूहमा काम गर्ने, एक–अर्कालाई सघाउने र श्रम आदान–प्रदान गर्ने परम्परा अझै जीवित छ । खेतमा एउटै लयमा काम गर्ने किसानहरूको दृश्यले गाउँले जीवनको सामूहिकता र आत्मीयता झल्काउँछ ।
यस फाँटमा कृषि मात्र होइन, पशुपालन पनि सँगसँगै अघि बढिरहेको छ । स्थानीय तेजेन्द्र थापाले गोठ बनाएर गरी गाई–बाख्रा पालन गर्दै आएका छन् । धानखेतीसँगै पशुपालनलाई आम्दानीको भरपर्दो स्रोत बनाउँदै उनले गत वर्ष करिब चार लाख रुपैयाँ बराबरका गाई–गोरु बिक्री गरेका छन् । यसले यहाँ मिश्रित कृषि प्रणालीको सम्भावना पनि उजागर गरेको छ ।

उत्पादनका हिसाबले पनि मजुवाफाँट सम्भावनायुक्त देखिएको छ । कुम्मायक गाउँपालिका–५ का वडाध्यक्ष निर्मलराज घिमिरेका अनुसार स्थानीय डिल्लीराम भण्डारीले गत वर्ष अरूकै जग्गामा खेती गरी ६५ मुरीसम्म धान उत्पादन गरेका थिए । सामान्यतया एक सिजनमा १२–१४ मुरीदेखि ६५ मुरीसम्म उत्पादन हुने गरेको छ । यहाँका किसानहरूले निजी, ठेक्का तथा कुतमा जग्गा लिएर खेती गर्ने प्रचलनलाई निरन्तरता दिएका छन् ।
यहाँ धानखेती प्रमुख भए पनि मकै, गहुँ तथा विभिन्न मौसमी तरकारी बाली पनि उत्पादन गरिन्छ । बहुवाली प्रणाली अपनाउँदै आएका किसानहरूले वर्षभरि जमिन उपयोग गर्ने अभ्यासलाई निरन्तरता दिएका छन् । नजिकै बग्ने तमोर नदी र लम्बु खोलाको पानीले सिंचाइ सहज बनाएको स्थानीय पदमबहादुर कार्की बताउँछन् । ‘पानीको खासै समस्या हुँदैन, त्यसैले उत्पादन पनि राम्रो हुन्छ’, उनले भने ।
लम्बु दोभान–मजुवा फाँट प्राकृतिक सौन्दर्यका दृष्टिले पनि उत्तिकै आकर्षक छ । हरियो फाँट, वरिपरिका पहाड, शान्त वातावरण र खुला आकाशले यसलाई सम्भावित पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ । ग्रामीण जीवनशैली, परम्परागत खेती प्रणाली र प्राकृतिक दृश्यावलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ आकर्षण बन्न सक्ने देखिन्छ ।
बाढी-पहिरोको जोखिम तथा युवा जनशक्तिको कमी जस्ता चुनौतीहरूले खेती प्रणालीमा असर पार्न थालेको स्थानीय पर्शुराम दाहाल बताउँछन् । ‘तमोर र लम्बुखोलामा बाढी आउँदा उत्पादन घट्छ, हामीलाई वर्षादमा बाढीको समस्या हुने भएकाले सरकारले बाढी व्यावस्थापनको निम्ति बाँध लगाए दिए सहज हुन्थ्यो’, उनले भने ।
यी चुनौतीहरूका बाबजुद पनि यहाँका किसानहरू परम्परागत अनुभवसँगै आधुनिक कृषि प्रविधि अपनाउने प्रयासमा जुटिरहेका छन् । उन्नत बीउ, मलको प्रयोग, व्यवस्थित सिंचाइ र कृषि तालिममार्फत उत्पादन वृद्धि गर्ने प्रयास भइरहेको छ । साथै, जमिनको संरक्षण र दिगो खेती प्रणालीतर्फ पनि किसानहरू सचेत बन्दै गएका छन् । समग्रमा, लम्बु दोभान–मजुवा फाँट केवल अन्न उत्पादन गर्ने क्षेत्र मात्र नभई तेह्रथुम र पाँचथरका किसानहरूको साझा जीवन, श्रम र संस्कृतिको जीवित प्रतीक बनेको छ ।

प्रतिक्रिया 4