News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङका फलफूल व्यवसायी पुरुषोत्तम घिमिरेले स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै किसानसँग सहकार्य गरी स्थानीय फलफूललाई बजारसम्म पुर्याउने योजना अघि सारेका छन्।
- घिमिरेले किसानलाई उत्पादन गर्न आग्रह गर्दै, 'तपाईं उत्पादन गर्नुहोस्, हामी घरदैलोमै किन्न आउँछौँ' भनेका छन् र विदेशी फलफूलको आयात कम गर्न जोड दिएका छन्।
- उनी धादिङमा आधुनिक कोल्डस्टोर सञ्चालन गरी विषादी नलगाएका फलफूललाई प्राकृतिक रूपमा पकाउने प्रविधि प्रयोग गरिरहेका छन् र सामूहिक खेती विस्तार गर्ने योजना बनाएका छन्।
१४ वैशाख, धादिङ । नेपाली बजारमा यतिबेला भारतीय केराको आयातमा कडाइ गरिएको छ । सिमानामा हुने प्रतिबन्ध र स्वदेशी उत्पादनको माग बढ्दा केराको मूल्य अचाक्लि बढेको छ ।
विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको नीतिलाई साथ दिँदै फलफूल व्यवसायीहरू पनि स्थानीय उत्पादन बढाउने अभियानमा सक्रिय हुन थालेका छन् ।
धादिङका एक व्यवसायी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै परनिर्भरता तोड्न सानै भए पनि योगदान दिने प्रयासमा छन् । नीलकण्ठ नगरपालिका–१२ का स्थानीय तथा फलफूलका थोक व्यवसायी पुरुषोत्तम घिमिरेले धादिङका किसानहरूलाई लक्षित गरेर एउटा आकर्षक योजना अघि सारेका हुन् ।
काठमाडौंको कुलेश्वरमा मण्डली फ्रुट सेन्टर र धादिङबेँसीमा मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्स सञ्चालन गरिरहेका घिमिरे नेपाली माटोको फलफूल र तरकारीलाई नेपालीकै भान्सासम्म पुर्याउन यो अभियानमा जुटेको बताउँछन् ।
किसानलाई बजार
लामो समयदेखि फलफूल व्यापारमा सक्रिय घिमिरेले किसानहरूलाई आग्रह गर्दै भन्छन्, ‘तपाईं उत्पादन गर्नुहोस्, हामी घरदैलोमै किन्न आउँछौँ ।’
उनी थप्छन्, ‘हामी व्यापारी हौँ, जहाँको सामान ल्याएर भए पनि बेच्नु नै छ । तर, यदि हाम्रै गाउँघरमा उत्पादन हुन्छ भने हामीले किन विदेशी फलफूलको बाटो कुर्नु ? देशको नीतिलाई सघाउनु र स्वदेशी किसानलाई साथ दिनु नै हाम्रो धर्म हो ।’
चीन र भारतबाट आयातित फलफूलले बजार ओगटिरहेका बेला घिमिरेले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा उपभोक्ताले ताजा फलफूल पाउने र देशको पैसा बाहिरिनबाट जोगिने तर्क गर्छन् । उनका अनुसार, स्थानीय फलफूलको व्यापार गर्दा किसानसँगको सम्बन्ध मजबुत हुने र उपभोक्ताले पनि ताजा तथा स्वस्थ उत्पादन उपभोग गर्न पाउनेछन् ।
बजारीकरणमा सहयोग
घिमिरेले व्यापार मात्र गर्दैनन्, किसानको उत्पादन बजारीकरणमा सहकार्यको हात पनि बढाएका छन् । धादिङको सेमजोङको किवी होस् वा खरी र मैदीको सुन्तला, एभोकाडो, ड्रागन फ्रुट र केरा; उनले धादिङका विभिन्न कुनाकाप्चाबाट सङ्कलन गरी बजारसम्म पुर्याउँदै आएका छन् । ‘कृषकले उत्पादनको जानकारी दिएपछि हामी चलनचल्तीको बजार मूल्यअनुसार घरमै पुगेर पनि खरिद गर्छौँ,’ घिमिरेले भने ।

गाउँमा जनशक्ति अभावले गर्दा धेरै जमिन बाँझिँदै गएकाले पनि ५–७ घर मिलेर सामूहिक खेती गर्न उनले आग्रह गरेका छन् । ‘धेरै गर्न नसकिएला, तर थोरै–थोरै परिमाण धेरै जनाले उत्पादन गर्नुभयो भने त्यसलाई एकीकृत गरेर बजार पुर्याउने जिम्मा हाम्रो भयो ।’
त्यसो त, घिमिरे किसानसँग सहकार्य गरेर लगानी गर्नसमेत तयार छन् । परिश्रम गरेर कमाउँछु भन्ने लागेका तर लगानी गर्ने पूँजी नभएका किसानहरूको स्थलगत अध्ययन गरी लगानीसमेत गरिदिने योजना बनाएको घिमिरेले बताए । ‘उत्पादनको विश्वास दिलाउनुस्, लगानी गर्ने पैसा छैन भने हामी पनि लगानी गर्छौँ,’ उनी भन्छन् ।
गाउँ-गाउँमा फलफूल खेती विस्तार गर्दै खेतीपाती गर्ने स्थानीय किसानको नेटवर्क बनाउने योजना रहेको घिमिरे सुनाउँछन् ।
नीलकण्ठ नगरपालिका वडा नं. १२ मा बाँझो रहेको जमिनमा घिमिरेकै अग्रसरतामा स्थानीय युवाहरूसँग सहकार्य गरी एभोकाडो खेती सुरु भइसकेको छ । घिमिरेले भने, ‘यहाँ हाम्रो पहिलो सामूहिक प्रयास हो, यसैगरी जिल्लाका अन्य ठाउँमा पनि सामूहिक अग्रसरतामा फलफूल खेती गराउन अध्ययन भइरहेको छ ।’
प्रविधि प्रयोग, स्वास्थ्यप्रति सजगता
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै घिमिरेले धादिङबेँसीमा आधुनिक कोल्डस्टोरसमेत सञ्चालन गरेका छन् । विशेषगरी केरा र आँपजस्ता फलफूललाई हानिकारक विषादी प्रयोग नगरी, तापक्रम मिलाएर प्राकृतिक रूपमा पकाउने प्रविधि (रिपनिङ च्याम्बर) उनले प्रयोगमा ल्याएका छन् । फलतः उपभोक्ताले स्वस्थ र गुणस्तरीय फलफूल खान पाएका छन् ।
व्यवसायलाई विविधीकरण गर्दै घिमिरेले काठमाडौंको कलङ्की र धादिङबेँसीमा मण्डली जुस हब समेत सञ्चालनमा ल्याएका छन्, जहाँ सिधै किसानका खेतबाट आएका फलफूलको ताजा जुसको स्वाद लिन सकिन्छ ।
व्यवसायी घिमिरेको यो पहलले बाँझिएको खेतीयोग्य जमिनको थोरै भए पनि सदुपयोग हुने आशा जगाएको छ भने न्यून पारिश्रमिकमा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई आफ्नै माटोमा काम गर्नका लागि उत्प्रेरणा पनि जगाएको छ ।
प्रतिक्रिया 4