News Summary
Generated by OK AI. Editorially reviewed.- जय नेपाल सिनेमा हलले चलचित्र विकास बोर्डबाट मंगलबार सञ्चालन अनुमतिपत्र प्राप्त गरी पुनः सञ्चालनको तयारी अघि बढाएको छ।
- कोभिड-१९ महामारीपछि २०७८ असोज ४ गतेदेखि बन्द रहेको हललाई आधुनिक व्यवस्थापनसहित पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
- चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षभित्र देशभर हलको संख्या २०० भन्दा बढी पुर्याउने लक्ष्य राखेको छ।
काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।
२०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको सो हल काठमाडौंको सिनेमा संस्कृति र दर्शक स्मृतिसँग गहिरो रूपमा जोडिएको नाम हो । दरबारमार्ग क्षेत्रसँग जोडिएको यस हलले दशकौँसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन गर्दै राजधानीको चलचित्र प्रदर्शन इतिहासमा आफ्नै पहिचान बनाएको थियो ।
कोभिड-१९ महामारीका कारण उत्पन्न परिस्थितिपछि २०७८ असोज ४ गतेदेखि हल बन्द अवस्थामा थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले सञ्चालक मध्येका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गरेका छन् ।
आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन अनुमतिपत्र प्राप्त भएसँगै जय नेपाल हलको पुनः सञ्चालनको बाटो खुलेको छ । यो हल आधुनिक व्यवस्थापन र आवश्यक मापदण्डसहित पुनः सञ्चालनमा आउनु नेपाली चलचित्र प्रदर्शन क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको जनाइएको छ ।
यसले काठमाडौंको सिनेमा संस्कृतिलाई पुनर्जीवित गर्न, दर्शकलाई थप विकल्प उपलब्ध गराउन र चलचित्र प्रदर्शन बजारलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बोर्डले प्रचलित मापदण्ड र प्रक्रियाअनुसार चलचित्र घर सञ्चालन अनुमतिपत्र प्रदान गर्दै आएको जनाएको छ । ‘ऐतिहासिक पहिचान बोकेको जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा अघि बढ्नु चलचित्रकर्मी, दर्शक र हल व्यवसायी सबैका लागि उत्साहजनक समाचार हो’ अध्यक्ष डीसीले भने ।
बोर्डका अनुसार अहिले मुलुकमा १७० भन्दा धेरै हल संचालनमा छन् । बोर्डले हालै चालु आर्थिक वर्षभित्र हलको संख्या २०० भन्दा धेरै पुर्याउने लक्ष्य रहेको बताएको थियो ।
प्रतिक्रिया 4