News Summary
Generated by OK AI. Editorially reviewed.- गन्धर्व संगीत आधुनिक सञ्चार र प्रविधिको प्रभावले मौलिकता गुमाउँदै गएको छ र यसको पहिचान संकटमा परेको छ।
- गन्धर्व समुदायले परम्परागत गीत र सारङ्गी बजाउने अभ्यास घट्दै गएको र नयाँ पुस्तामा आकर्षण कम भएको बताएका छन्।
- संरक्षणका लागि सरकार, सांस्कृतिक संस्था र समुदायले समन्वित पहल गरी मौलिक सिर्जनाको अभिलेखीकरण र प्रशिक्षण आवश्यक रहेको छ।
१७ वैशाख, धनकुटा । कुनै समय गाउँघरको सूचना, सन्देश र मनोरञ्जनको भरपर्दो माध्यम मानिने गन्धर्व संगीत अहिले सुनिन छाडेको छ ।
सारङ्गीको मधुर धुनसँगै जनजीवनका कथा, पीडा, संघर्ष, इतिहास र सामाजिक यथार्थ बोकेर बस्ती-बस्ती डुल्ने गन्धर्व समुदाय अहिले आफ्नै मौलिक पहिचान जोगाउने संघर्षमा देखिन्छ ।
आधुनिक सञ्चारमाध्यमको विस्तार, प्रविधिको तीव्र विकास र शहरमुखी सोचको प्रभावसँगै परम्परागत गन्धर्व गायनको स्वरूप परिवर्तन हुँदै जाँदा यसको मौलिकता हराउने खतरा बढ्दै गएको हो ।
पहिले गन्धर्वहरु गाउँघरमा ‘समाचारवाहक’ जस्तै थिए । उनीहरू सारङ्गी बोकेर कुना कन्दरासम्म पुगेर स्थानीय घटना, सामाजिक यथार्थ, भवितव्य, वीरताका गाथा तथा राजनीतिक उतारचढावका कथाहरु गीतमार्फत सुनाउँथे ।
यसरी गन्धर्व संगीतले मनोरञ्जन मात्र होइन, सूचना प्रवाह र सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको थियो । यही विशेषताले गन्धर्व गायनलाई अन्य संगीत परम्पराभन्दा फरक र विशिष्ट पहिचान दिएको थियो भन्दा फरक नपर्ला ।
तर, अहिले त्यो परम्परागत अभ्यास क्रमश: कमजोर बन्दै गएको छ । भोजपुरबाट सारङ्गी बजाउँदै धनकुटा आइपुगेका बाबुराम गन्धर्वका अनुसार पछिल्लो समय मौलिक सिर्जनाभन्दा अरुका गीत नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको छ । ‘पहिले आफ्नै भोगाइ र समाजका कथा गाइन्थ्यो, अहिले अरुका लोकप्रिय गीतको प्रभाव बढी देखिन्छ,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले गन्धर्व संगीतको पहिचान नै संकटमा पारेको छ ।’
भोजपुर जरायोटारका तेजेन्द्र गन्धर्व पनि चिन्ता उस्तै छ । उनका अनुसार शहर केन्द्रित जीवनशैली, जीविकोपार्जनको दबाब र सजिलो बाटो रोज्ने प्रवृत्तिले गन्धर्व संगीतको मौलिक स्वरुपलाई कमजोर बनाइरहेको छ । ‘पहिले गन्धर्व बन्ने भनेको समाज बुझ्ने, जीवन भोग्ने र त्यसलाई गीतमा उतार्ने कुरा थियो, अहिले त्यो अभ्यास घट्दै गएको छ’, उनले भने ।
गन्धर्वहरुले आफ्नोपन छोडेर आधुनिकताको नक्कलमा बढी केन्द्रित हुँदा सिर्जनशीलता नै खुम्चिँदै गएको भन्ने पनि धेरै छन् । ग्रामीण जनजीवनका झर्रा शब्द, स्थानीय मर्म र अनुभूतिलाई गीतमा रुपान्तरण गर्ने परम्परा कमजोर बन्दा गन्धर्व संगीतको आत्मा नै हराउने खतरा बढेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताए ।

गन्धर्व संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, नेपाली समाजको मौखिक इतिहास र सांस्कृतिक दस्तावेजका रुपमा पनि हेरिन्छ । पुस्तौंदेखि यसले समाजका घटना, जीवनशैली र संस्कृतिलाई जोगाउँदै आएको छ । तर यसको मौलिक स्वरुप कमजोर बन्दै जाँदा त्यो ऐतिहासिक दस्तावेज नै हराउने जोखिम देखिएको खवासको भनाइ छ ।
यता, पेसागत असुरक्षा पनि गन्धर्व संगीत संकटको अर्को महत्वपूर्ण कारण बनेको छ । परम्परागत रुपमा गीत गाएर जीविका चलाउने गन्धर्वहरु अहिले वैकल्पिक पेसा रोज्न बाध्य भइरहेका छन् ।
बाबुरामसँगै सारङ्गी बजाउँदै धनकुटा आइपुगेका भोजपुरका हिरालाल गन्धर्व भन्छन्, ‘यो पेसाबाट परिवार पाल्न गाह्रो हुँदै गएको छ, त्यसैले नयाँ पुस्ताको आकर्षण घट्दै गएको हो ।’
हिरालालले संगितको बजारमा अर्कै प्रकारका गीतसंगितको दबाब र लोकप्रियतासँगै आधुनिकताको होडले पनि मौलिक सिर्जनालाई पछाडि धकेलिरहेको बताए । ‘पहिले गन्धर्व संगीतमा गहिराइ, अध्ययन र अनुभव आवश्यक हुन्थ्यो, अहिले सजिलो र छिटो लोकप्रिय हुने बाटो रोज्ने चलन बढेको छ’, उनले भने, ‘यसले गन्धर्व संगीतको मूल चरित्रमा असर पुर्याएर संकटतर्फ धकेलिरहेको छ ।’
गन्धर्व संगीतको संरक्षणका लागि तीनै तहका सरकार, सांस्कृतिक संस्था र समुदायस्तरबाट समन्वित पहल आवश्यक रहेको छ । मौलिक सिर्जनाको अभिलेखीकरण, नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रशिक्षण, अध्ययन–अनुसन्धान तथा सांस्कृतिक कार्यक्रममार्फत प्रवर्द्धन गर्न सके यो परम्परालाई पुनर्जीवित गर्न सकिने धनकुटाका सर्जक केजी सुब्बाले बताए ।
उनले गन्धर्व संगीतको संरक्षणका लागि समयमै ठोस कदम चाल्न नसके यसको पहिचान नै हराउने जोखिम बढ्दै गएको बताए । नेपाली लोकसंस्कृतिको अमूल्य सम्पदाका रुपमा रहेको गन्धर्व समुदायको मौलिक सिर्जनालाई जोगाउनु अहिलेको आवश्यकता मात्र नभई सांस्कृतिक दायित्वसमेत रहेको सुब्बाको भनाइ छ ।
प्रतिक्रिया 4