२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश ल्याउने सरकारको नियतमाथि शंका व्यक्त गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री डा. उदयशमशेर राणाले सरकारले ल्याएका अध्यादेशले संसदीय सर्वोच्चताको ख्याल नगरेको बताएका हुन् ।
‘अध्यादेशबारे हाम्रो ध्यानाकर्षण भएको छ । आवश्यक परेका बेलामा अध्यादेश ल्याएर कानुन बनाउने परम्परा रहँदैआएको छ । सरकारले ल्याउन पनि सक्छ,’ सहमहामन्त्री राणाले भने, ‘मूल कुरा सरकारले कुन मनस्थितिले ल्याएको हो भन्ने कुरा गम्भीर हुन्छ ।’
कांग्रेस सरकारमा हुँदा पनि अध्यादेश ल्याएको उनले बताए । उनले अगाडि भने, ‘हामी सरकार हुँदा पनि ल्याएको थियो । तर अहिले किन ल्यायो भन्ने मुख्य प्रश्न हो,’ उनले भने ।
सकारात्मक विचारले ल्याइएका अध्यादेशमा कांग्रेसले सधैँ सहयोग गरेको र अझैँ पनि गर्ने बताए । ‘तर संविधान र व्यवस्थाविपरीत कुनै पनि कानुन बन्न सक्दैनन् । त्यसो नियतका साथ ल्याइएका अध्यादेशमा कांग्रेस सधैँ विरोध गर्छ,’ राणाले भने ।
प्रतिक्रिया 4