२१ वैशाख, विराटनगर । आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार बनेको एक महिनामै झापा–५ मा प्रदर्शन सुरु भएको छ । झापा–५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका सुकुमवासी र भूमिहीनहरूले सोमबार प्रदर्शन गरेका हुन् ।
काठमाडौंसहित देशका विभिन्न स्थानका सुकुमवासी बस्तीमा डोजर चलाएको विरोधमा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रका मतदाता डोजर आतंक रोक्न माग गर्दै सरकारविरुद्ध उत्रिएका छन् ।
भूमि अधिकार तथा श्रमिक संगठनको अगुवाइमा उक्त प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले गाउँपालिका कार्यालय पुगेर ज्ञापनपत्र पनि बुझाएका छन् ।
सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर गरिबको उठीबास लगाएको भन्दै प्रदर्शनमा नाराबाजी समेत भएको छ । उनीहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने भन्दै माग गरेका छन् ।
यसअघि धरान, पथरीलगायत क्षेत्रमा सुकुमवासीले प्रदर्शन गरेका थिए । सरकारको तयारीविरुद्ध सुकुमवासी सडकमा उत्रिएपछि सोमबार नै प्रधानमन्त्री बालेनले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुमवासी बस्ती खाली गरिएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
‘नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,’ बालेनले फेसबुकमार्फत भनेका छन्, ‘कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ ।’
दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत् खारेज गरिएको प्रधानमन्त्री बालेनको भनाइ थियो ।
उनले कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको उल्लेख गरेका थिए ।
प्रतिक्रिया 4