News Summary
Generated by OK AI. Editorially reviewed.- राधास्वामी सत्संग व्यास आश्रमका ५२ बालबालिका आजदेखि वडा नं १४ को जनविकास माध्यमिक विद्यालयमा पढ्न थालेका छन्।
- महानगरपालिकाले बालबालिकाको रुचि र आवश्यकतालाई ध्यानमा राखेर सिपमूलक तालिमको व्यवस्था गर्ने योजना बनाएको छ।
- छात्राबासमा ३० विद्यार्थी राख्ने अभिभावकको इच्छा अनुसार आवास सुविधा सहित अध्ययनको व्यवस्था मिलाउन प्रयास भइरहेको छ।
२२ वैशाख, काठमाडौं । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठाउन लागिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताए ।
नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन् ।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका छन् । चार जनाले यस वर्ष एसइई दिएका छन् । उनीहरू कम्प्युटर, सिलाइबुनाइजस्ता सिप सिक्न चाहन्छन् । महानगरले उनीहरूले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिए ।
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेको उनले बताए । महानगर शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरूमा ११ छात्रा र १९ छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्कयतासमेत माग गरिएको छ ।
छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध समेत गरिसकेको छ ।
महानगरका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरूप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउँछौँ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया 4