News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५/२६ को पहिलो दुई महिनामा ९० हजार १९८ नेपाली युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो।
- नेपाली युवाको ४१.४ प्रतिशत संयुक्त अरब इमिरेट्स, १३.२ प्रतिशत साउदी अरब, ९.२ प्रतिशत कतार र ५.५ प्रतिशत कुवेतमा रोजगारीका लागि गएका छन्।
- नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत रेमिट्यान्सबाट आउँछ, जसमा ४१ प्रतिशत हिस्सा खाडी मुलुकबाट आएको छ।
हरेक वर्ष हजारौं नेपाली युवा आफ्नो घर, परिवार र जन्मभूमि छोडेर आफ्नो भाग्य र भविष्य बनाउन पश्चिम एसियाका देश जान्छन्। नेपाल आज विश्वका त्यस्ता देशमध्येमा पर्छ, जहाँका युवा आफ्नो भविष्य देशभित्र भन्दा देशबाहिर खोज्न बाध्य छन्। विशेषगरी पश्चिम एसियाका अधिकांश देश नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य बनेका छन्।
यो केवल आर्थिक माइग्रेसन मात्र होइन, नेपालको समग्र विकास मोडेल, श्रम बजार, राजनीतिक अस्थिरता र सामाजिक संरचनाको वास्तविक उपज हो। अझै पनि लाखौं नेपाली युवा आफ्नो सपना, श्रम र भविष्य विदेशी मरुभूमिमा खोजिरहेका छन्।
नेपालको सामाजिक, आर्थिक र राजनीतिक संरचनालाई आज कुनै एउटा बाह्य पक्षले सबैभन्दा बढी प्रभाव पारेको छ भने त्यो हो— पश्चिम एसिया (खाडी मुलुक) को पछिल्लो चर्कंदै गरेको द्वन्द्व। दिनप्रतिदिन चर्कंदै गएको द्वन्द्वले त्यहाँ रहने नेपालीलाई त असर पार्यो नै, नेपालमा रहने नेपालीलाई पनि परेको छ। श्रम स्वीकृति आउँदा समेत रोजगारीका लागि जान पाएका छैनन्। सबै जना प्राय: त्यो द्वन्द्व कहिले अन्त्य होला र शान्तिको सास फेर्न सकिएला भनेर दिन गनेर बसिरहेका छन्।
सन् २०२६ को सुरुआतसम्म आइपुग्दा नेपाली युवा र पश्चिम एसिया बीचको सम्बन्ध केवल रोजगारीको खोजीमा मात्र सीमित छैन, यो त एउटा यस्तो सामाजिक बन्धन बनेको छ जसले नेपालको गाउँदेखि शहरसम्मको अर्थतन्त्र, संस्कृति र भविष्यलाई समेत निर्देशित गरिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा देखिने युवाहरूको लामो लाइनले देशको वर्तमान अवस्थाको जीवन्त चित्रण गर्दछ।
सरकारले हालै अघि सारेका ‘राष्ट्रिय प्रतिबद्धता’ र डिजिटल अर्थतन्त्रका योजनाले युवाको सीपलाई सम्बोधन गर्न सके भने मात्र पश्चिम एसियाको यो द्वन्द्वलाई नेपालीले ‘शक्ति’ मा परिणत गर्न सक्छ। अन्यथा, देशको ऊर्जावान् जनशक्ति विदेशी भूमिमा जान बाध्य हुने अवस्था र देश रेमिट्यान्सको मात्र आशामा चल्ने क्रमले दीर्घकालीन समृद्धि सम्भव छैन।
वर्तमान स्थिति र तथ्याङ्कीय प्रमाण
नेपाल राष्ट्र बैंक र श्रम विभागको सन् २०२५/२६ को पछिल्लो प्रतिवेदन अनुसार, नेपाली युवाको विदेशिने क्रम अझै पनि बढ्दो छ। चालु आर्थिक वर्षका प्रारम्भिक दुई महिनामै ९० हजार १९८ नयाँ कामदारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदै विदेशिने क्रम तीव्र बनेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.९ प्रतिशतले वृद्धि भएको हो।
गन्तव्यको हिसाबले हेर्दा, सबैभन्दा ठूलो हिस्सा ४१.४ प्रतिशत नेपाली युवाहरू संयुक्त अरब इमिरेट्सतर्फ गएका छन् भने त्यसपछि साउदी अरबमा १३.२ प्रतिशत, कतारमा ९.२ प्रतिशत र कुवेतमा ५.५ प्रतिशत युवा रोजगारीका लागि आकर्षित भएका छन्।
यो तथ्याङ्कले के स्पष्ट पार्छ भने नेपालीको युरोप र अन्य विकसित देशहरूतर्फ आकर्षण बढे तापनि संख्यात्मक रूपमा हेर्दा पश्चिम एसिया नै नेपाली युवाको पहिलो र मुख्य रोजगारीको गन्तव्य बनेको छ।
आर्थिक दृष्टिकोणबाट हेर्दा, सन् २०२५/२६ को पहिलो ६ महिनामा नेपालले १० खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ। जसमा झण्डै ४१ प्रतिशत हिस्सा खाडी मुलुकबाट मात्रै आएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सको योगदान करिब ३० प्रतिशत पुग्नुले हाम्रो अर्थतन्त्र कतिसम्म पश्चिम एसियाको ‘छाया’ मा छ भन्ने कुरालाई पुष्टि गर्दछ।
यदि पश्चिम एसियामा हाल भइरहेको राजनीतिक अस्थिरता र युद्धको स्थिति कायम भएमा त्यसको सिधा असर नेपालको चुल्होदेखि विदेशी मुद्रा सञ्चितिमा पर्ने देखिन्छ। हालैको विश्व बैंकको प्रतिवेदनले त पश्चिम एसियाको द्वन्द्वका कारण नेपालका थप १७ हजार बढी मानिस गरिबीको रेखामुनि धकेलिने सक्ने अनुमान गरेको छ।
वैदेशिक रोजगारी बाध्यता कि विकल्प?
नेपालमा वैदेशिक रोजगारीको इतिहास लामो भए पनि पछिल्लो दुई दशकमा यसको स्वरूप तीव्र रूपमा बढिरहेको छ। विशेषगरी, १९९० पछिको आर्थिक उदारीकरणले निजी म्यानपावर कम्पनीहरूको विस्तार भएर पश्चिम एसियाका देशहरूमा श्रमिकको माग बढेसँगै नेपाली युवाहरूको बाहिर जाने सोच अत्यधिक बढ्दै गयो र हाल हाम्रा गाउँघरहरूमा युवा जनशक्ति नै पाउन गाह्रो भइरहेको वास्तविकता तपाईं–हामीबीच घाम जस्तै छलङ्ग छ।
हालको तथ्यांक अनुसार, ३.५ मिलियन भन्दा बढी नेपाली विदेशी भूमिमा काम गरिरहेका छन्, जसमा ठूलो हिस्सा पश्चिम एसिया र मलेसियामा केन्द्रित छ। यीमध्ये करिब १.३ मिलियन नेपाली केवल खाडी देशहरूमा कार्यरत छन्, जसले पश्चिम एसियालाई नेपाली श्रम बजारको केन्द्रबिन्दु नै बनाएको छ।
अर्कोतर्फ, पछिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमै २ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्, जसको औसत हिसाब गर्दा दैनिक करिब २ हजार २०० भन्दा बढी मानिस विदेशिएका छन्। यो संख्या केवल कामदारको हो; विद्यार्थी र अन्य श्रेणी जोड्दा वास्तविक संख्या अझै बढी हुन्छ। यसले स्पष्ट पार्छ कि वैदेशिक रोजगारी नेपाली युवाका लागि विकल्प होइन, बाध्यता बनिसकेको छ।
सीपको सदुपयोग र फर्केका युवाको अवस्था
नेपाली युवा पश्चिम एसियामा प्राय:जसो निर्माण, सेवा, सुरक्षा र प्रविधि क्षेत्रमा काम गरिरहेका छन्। तर, विडम्बना के छ भने उनीहरूले त्यहाँ सिकेको सीपलाई स्वदेशमा लगानी गर्ने वातावरण अझै तयार हुनसकेको छैन। ‘सन् २०२५ मा फर्किएका कामदारहरूको सर्वेक्षण’ अनुसार ५० प्रतिशतभन्दा बढी युवा नेपाल फर्केको एक वर्षभित्रै फेरि विदेशिने योजना बनाउँछन्। यसको मुख्य कारण स्वदेशमा व्यवसाय शुरु गर्न आवश्यक नीतिगत झन्झट र बजारको अनिश्चितता हो।
पश्चिम एसियामा आधुनिक मेसिन र प्रविधि चलाउन सिकेका ती युवा नेपाल फर्किएर पुरानै ढर्राको खेती वा सानो पसलमा चित्त बुझाउन सकिरहेका छैनन्। त्यसको अलावा पश्चिम एसियाकै जस्तो सेवासुविधा र प्रविधियुक्त अवसर खोजिरहेका छन्। जुन कुरा नेपालमा अहिले नै प्राय: असम्भव जस्तै छ।
युवा बेरोजगारीको मूल कारण
दक्षता अनुसारको रोजगारी र पसिनाको उचित मूल्य नपाउनु नै नेपाली युवा विदेश पलायन हुनुपर्ने मुख्य बाध्यता हो। तथ्याङ्क अनुसार नेपालमा युवा बेरोजगारी दर करिब २२.७ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतको तुलनामा निकै चिन्ताजनक छ। अझै गम्भीर पक्ष त के छ भने, रोजगारीमा आबद्ध युवाहरूको ठूलो हिस्सा पनि न्यून रोजगारीको चपेटामा छन्, जहाँ कठोर परिश्रम र न्यून आम्दानी बीच ठूलो खाडल छ। पर्याप्त आयको अभाव र जीवनयापनको सकस नै आज नेपाली युवाका लागि वैदेशिक रोजगारीमा होमिनुपर्ने मुख्य बाध्यता र प्रेरक तत्व बनेको छ।
नेपालको अर्थतन्त्रमा अझै पनि कृषि क्षेत्रले ६० प्रतिशतभन्दा बढी जनसंख्यालाई रोजगारी दिन्छ, तर उत्पादन कम र आम्दानी न्यून छ। औद्योगिक क्षेत्र सोचेभन्दा ज्यादै कमजोर छ र सेवा क्षेत्रले पर्याप्त तथा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकेको छैन। त्यसैले, शिक्षित र अशिक्षित युवा बेरोजगार छन्। यही संरचनात्मक समस्या नै पश्चिम एसियातर्फको पलायनको मूल जड हो।
रेमिट्यान्स: अर्थतन्त्रको मेरुदण्ड
वैदेशिक रोजगारीले नेपाललाई आर्थिक रूपमा ठूलो सहयोग गरेको छ। अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३० प्रतिशत हिस्सा रेमिट्यान्सबाट आउँछ। सन् २०२५ मा मात्रै नेपालमा मासिक रेमिट्यान्स २०० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अहिलेसम्मको उच्च हो। यसबाहेक, ७६.८ प्रतिशत नेपाली घरपरिवारले कुनै न कुनै रूपमा रेमिट्यान्स प्राप्त गर्छन्, जसले देशको सामाजिक–आर्थिक संरचनामा यसको गहिरो प्रभाव देखाउँछ।
रेमिट्यान्सले गरिबी घटाउन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन अनि विदेशी मुद्रा सञ्चिति बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। तर, यसको नकारात्मक पक्ष पनि उत्तिकै गम्भीर छ। विभिन्न अध्ययनले पुष्टि गरेअनुसार नेपाल भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा लगानी हुनुको सट्टा दैनिक उपभोगमै खर्चिने गरेको छ।
रेमिट्यान्सको यस प्रकारको अनुत्पादक क्षेत्रमा भएको खर्चले गर्दा देशको दीर्घकालीन आर्थिक विकासको जग कमजोर बन्न पुगेको छ। यसका लागि वर्तमान सरकारले राष्ट्रिय गौरवको आयोजनाहरूमा लगानी गर्न र नयाँ उद्योग–कलकारखानाहरू सञ्चालन गर्न आवश्यक नीति मार्फत वैदेशिक भूमिमा रहेका नेपालीलाई आकर्षित गर्नुपर्नेतर्फ ध्यान दिन आवश्यक छ।
पश्चिम एसियामा नेपाली युवाको वास्तविकता
पश्चिम एसिया नेपाली युवाका लागि अवसरको भूमि जस्तो देखिए पनि वास्तविकता निकै अप्ठ्यारो छ। श्रमिकहरू प्राय: निर्माण, सुरक्षा, घरेलु कामदार र कम सीपयुक्त क्षेत्रमा बढी संलग्न रहेका छन्। यी क्षेत्र प्राय: अलि बढी जोखिमयुक्त क्षेत्रहरू हुन्। उनीहरूले अत्यधिक गर्मी, लामो कार्यघण्टा, न्यून श्रमिक अधिकार र कहिलेकाहीं तलब नपाउने जस्ता समस्या धेरै नै भोगिरहेका हुन्छन्।
एक अध्ययनले देखाएको छ कि नेपाली श्रमिकहरू व्यवस्थित शोषणको चक्रमा फसेका छन्, जसको कारण कमजोर श्रम नीति, म्यानपावरको ठगी र गन्तव्य देशमा उनीहरूको न्यूनतम मानवअधिकारको प्रत्याभूति नहुनु पनि हो। अझ दु:खद पक्ष भनेको श्रमिक मृत्युको संख्या धेरै हुनु पनि हो। प्रत्येक वर्ष हजारौं नेपाली श्रमिकको मृत्यु हुन्छ; जसमा दुर्घटना, स्वास्थ्य समस्या र आत्महत्या जस्ता जटिल कारण रहेका छन्।
सामाजिक प्रभाव: खाली गाउँ, टुटेका परिवार
पश्चिम एसियाको प्रभाव केवल पैसामा मात्र सीमित छैन। यसले नेपाली समाजको आधारभूत संरचना र युवाको जीवनशैलीमा गहिरो परिवर्तन ल्याएको छ। खाडीबाट फर्किएका नेपाली युवाले आफूसँग केवल बचत मात्र होइन, त्यहाँको कार्यसंस्कृति, प्रविधिप्रतिको लगाव र नयाँ विश्वदृष्टिकोण पनि बोकेर आएका छन्। नेपालका साना शहर र गाउँहरूमा अहिले ‘अरबी’ स्वादका खाना तथा परिकारहरू लोकप्रिय हुनु र युवाको फेसनमा मध्यपूर्वी प्रभाव देखिनु यसैका उदाहरण हुन्।
यद्यपि, यसको अर्को पक्ष भने चुनौतीपूर्ण छ, लामो समयसम्म परिवारबाट टाढा रहँदा पारिवारिक विछोड, बालबालिकाको हुर्काइमा अभिभावकीय शून्यता र ज्येष्ठ नागरिकहरूको एक्लोपन जस्ता सामाजिक समस्या पनि उस्तै दरमा बढेका छन्। पश्चिम एसियाको रोजगारीले आर्थिक राहत दिए पनि सामाजिक रूपमा एउटा ठूलो ‘जनसाङ्ख्यिक खाडल’ सिर्जना गरेको छ। गाउँघरमा मलामी जाने युवाको अभाव र खेतीयोग्य जमिन बाँझो रहने समस्या यसैको एउटा दु:खद पाटो हो।
‘ब्रेन ड्रेन’ र ‘युवा शून्यता’
नेपालबाट बाहिरिने युवा केवल श्रमिक मात्र होइन, धेरै शिक्षित, दक्ष र प्रतिभाशाली युवा पनि विदेशिएका छन्। यसलाई ‘ब्रेन ड्रेन’ भनिन्छ, जसले देशको दीर्घकालीन विकासमा प्रत्यक्ष असर पार्छ। नेपालको कुल जनसंख्याको करिब ४२.५६ प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहको छ, जुन देशको ठूलो जनशक्ति हो। तर यही जनशक्ति देशभित्र नै उपयोग हुन नसक्दा जनसाङ्ख्यिक लाभको अवसर गुम्दै गएको छ।
राजनीतिक र नीतिगत असफलता
नेपालको वर्तमान अवस्था केवल आर्थिक समस्या मात्र होइन, यो नीतिगत असफलताको परिणाम पनि हो। राजनीतिक अस्थिरता, कमजोर औद्योगिक नीति, भ्रष्टाचार र दीर्घकालीन योजना अभावले रोजगारी सिर्जना हुनसकेको छैन। भदौ २३ र २४ मा भएको जेनजी तथा युवा आन्दोलनले पनि यही असन्तोषलाई उजागर गर्यो। युवाहरू अब केवल रोजगारी मात्र होइन, ‘सम्मानजनक र प्रविधियुक्त भविष्य’ खोजिरहेका छन्।
समाधान: अब के गर्ने?
यो समस्या समाधान गर्न बहुआयामिक रणनीति आवश्यक छ। पहिलो, नेपालले उद्योग र उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्छ, ताकि देशभित्र धेरैभन्दा धेरै रोजगारी सिर्जना हुनसकोस्। दोस्रो, सीप विकासलाई प्राथमिकता दिनुपर्छ, त्यसमा पनि अझै प्राविधिक सीपलाई प्राथमिकता दिन आवश्यक छ। जसले युवाहरूलाई उच्च आय गर्न सजिलो हुन्छ र त्यसतर्फ युवाको आकर्षण पनि बढ्नेछ। तेस्रो, स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्छ।
चौथो, वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्ने होइन; तर सुरक्षित, सम्मानजनक र उच्च आययुक्त बनाउनु आवश्यक छ। जसको लागि सीप विना कुनै पनि युवालाई वैदेशिक रोजगारीमा जान दिनुहुँदैन, यसलाई नीतिगत सुधार नै गर्न आवश्यक छ।
निष्कर्ष र भविष्यको बाटो
पश्चिम एसियाको छायामा नेपाली युवा केवल एक उक्ति मात्र नभई नेपालको वर्तमान र भविष्यको यथार्थ चित्रण हो। एकातिर रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई जीवनदान दिएको छ भने अर्कोतिर, यही परनिर्भरताले हाम्रो आन्तरिक विकासको जगलाई कमजोर बनाउँदै लगेको छ। यदि समयमै सही नीति, लगानी र स्वदेशमै अवसरको सिर्जना गर्न सकिएन भने यो छाया अझ गाढा बन्ने निश्चित छ। तर, सही दिशाबोध गर्न सके यही युवाशक्ति नेपालको समृद्धिको मुख्य आधार बन्न सक्छ।
आज पश्चिम एसियाको रापमा नेपाली युवाको भविष्य दोबाटोमा उभिएको छ। एउटा बाटो बाध्यताको हो, जहाँ अवसरको खोजीमा मरुभूमिको तातो बालुवामा पसिना बगाउनु परेको छ, अर्को बाटो अवसरको हो, जहाँ विदेशमा आर्जन गरेको सीप र पूँजीलाई नेपालको आधुनिक पूर्वाधार र कृषि क्रान्तिमा जोड्न सकिन्छ। त्यसैले, यो युवा ऊर्जालाई राष्ट्र निर्माणमा समाहित गर्न राज्यले अब ढिला नगरी ठोस र दीर्घकालीन योजना तर्जुमा गर्नु अनिवार्य छ।
(युवा अभियन्ता बानियाँ नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष हुन्।)
प्रतिक्रिया 4