News Summary
Generated by OK AI. Editorially reviewed.- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० सहकारीका ८२ ठूला ऋणीको नाम सार्वजनिक गरेको छ।
- एउटै व्यक्तिले बहुसंस्थाबाट कर्जा लिएर नतिरेको र केहीले एउटै संस्थाबाट बहुकर्जा लिएको पाइएको छ।
- समितिले ऋणीलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको र कानुन बमोजिम असुली गर्ने जनाएको छ।
२४ वैशाख, काठमाडौं । समस्याग्रस्त सहकारीका ठूला ऋणीले बहुसंस्थाबाट कर्जा लिएको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार एउटै व्यक्तिले बहुसंस्थाबाट कर्जा लिएर नतिरेको पाइएको हो ।
कार्यालयका अनुसार एकै व्यक्ति बहुसंस्थाबाट मात्र नभई एकै संस्थाबाट पनि बहुकर्जा समेत लिएको पाइएको छ । सो अनुसार रामप्रसाद पौडेलले नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई वटा कर्जा लिएका छन् । त्यसैगरी तुलसी बहुमुखी सहकारी संस्थाबाट अशोक कुमार अग्रवालले २ वटा कर्जा लिएको पाइएको समितिले जनाएको छ ।
ज्ञानबहादुर तामाङ भन्ने व्यक्तिले एकै पटक ३ वटा सहकारीबाट कर्जा लिएको देखिन्छ । तामाङले तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिएका छन् । समितिका अनुसार उनी तीनवटै संस्थाका ठूला ऋणी हुन् ।
कार्यालयको बारम्बारको ताकेतापछि पनि सम्पर्कमा नआएपछि समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम नै सार्वजनिक गरिएको छ । सो अनुसार कार्यालयले समस्याग्रस्त १० वटा सहकारीका ठूला ऋणी ८२ जनाको नाम सार्वजनिक गरेको हो । समितिले ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समेत कार्यालयले जनाएको छ ।
कार्यालयले बचतकर्ताको बचत फिर्ता गर्न ठूला ऋणीबाट असुली गर्ने र पहिलो चरणमा साना बचतकर्ताको बचत फिर्ताको रणनिति बनाएको छ । सो अनुसार समिति ठूला ऋणीप्रति कठोर हुँदै असुलीको प्रक्रिया सुरु गरेको हो । सोही क्रममा नाम सार्वजनिक गरेको समितिको कार्यालयले जनाएको छ ।
समितिले अहिले घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी संस्थाको ठूला ऋणीको नाम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4