+
+
WC Series
Nepal
109/2 (13.3)
VS
३९ बलमा २० रन आवश्यक
UAE
128/8 (20)
Shares

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिरे सम्पत्ति लिलाम

मन्त्रालयले सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चरणबद्ध प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्ता तीव्रता दिने मन्त्रालयको तयारी छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ।
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋणी, जमानीको सम्पत्ति रोक्का र धितो लिलाम गर्ने चेतावनी दिएको छ।
  • सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको र नयाँ अध्यक्ष र सदस्य नियुक्त गरेको छ।

८ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरे ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने जनाइएको छ ।

‘नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिल बमोजिमका सहकारी संस्था सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोन लगायत माध्यमबाट पटक–पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीले बुझाउनुपर्ने ऋणको साँवा, ब्याज तथा हर्जाना समेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा छ ।

त्यस्तै १५ दिनभित्र ऋण फरफारक नगरे ऋणी, निजको परिवार र जमानीको नाम नामेसी सहित विवरण सार्वजनिक गर्ने तथा उनीहरूका नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ ।

साथै, सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख छ । सूचनामा छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरे ऋणीहरूको नाम नामेसी सहित विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम कर्जा लिँदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुलउपर गरिने छ ।’

आज मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । मन्त्रिपरिषद् बैठकले  अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो ।

मन्त्रालयले सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चरणबद्ध प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्ता तीव्रता दिने मन्त्रालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?