+
+
Shares

वीरगञ्जको मुख्य सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

स्थानीय घरधनीहरूले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने र वीरगञ्जको पुरानो व्यापारिक अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।

सफल खतिवडा सफल खतिवडा
२०८३ वैशाख २४ गते १५:४६

२४ वैशाख, वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने तयारीविरुद्ध स्थानीय घरधनी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । बिहीबार गण्डकदेखि मितेरी पुलसम्मका बासिन्दा र व्यवसायीहरूले ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै मानव साङ्लो निर्माण गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले सडकको दुवैतर्फ उभिएर हातमा हात मिलाउँदै सडक विस्तारको वर्तमान योजनाप्रति असन्तुष्टि जनाएका थिए । उनीहरूले ‘हामी विकास र विस्तार चाहन्छौँ, तर वैकल्पिक उपाय खोजौँ’, ‘विकासको नाममा विनाश गर्न पाइँदैन’, ‘वीरगञ्जको मेनरोडलाई सहरी मार्ग कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

स्थानीय घरधनीहरूले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने र वीरगञ्जको पुरानो व्यापारिक अस्तित्व नै संकटमा पर्ने बताएका छन् । उनीहरूले मुख्य बजार क्षेत्रको सडकलाई विस्तार गर्नुको सट्टा व्यवस्थित ‘अर्बन रोड’ का रूपमा विकास गर्नुपर्ने माग राखेका छन् ।

वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले आफूहरू विकास विरोधी नभएको स्पष्ट पार्दै वैज्ञानिक र व्यावहारिक समाधान खोज्न सरकारसँग आग्रह गरे ।

 ‘हामी विकासको विरोधी होइनौँ । तर हजारौँ परिवारलाई सुकुमवासी बनाएर गरिने विस्तार कुनै पनि हालतमा न्यायसंगत हुन सक्दैन,’ सरावगीले भने, ‘सरकारले पहिले वैज्ञानिक अध्ययन गर्नुपर्छ, प्रभावितलाई उचित मुआब्जा र विकल्प दिनुपर्छ । स्पष्ट योजनाबिना डोजर चलाएर जनतालाई त्रसित बनाउनु हुँदैन ।’

सरावगीले त्रिभुवन राजपथको वैकल्पिक मार्गका रूपमा बाइपास सडक सञ्चालनमा आइसकेको उल्लेख गर्दै मुख्य व्यापारिक क्षेत्रलाई पुरानै संरचना जोगाएर आधुनिक सहरी मार्गका रूपमा व्यवस्थापन गर्न सकिने धारणा राखे ।

उनले भने, ‘वीरगञ्जको मेनरोड केवल सडक होइन, यो सहरको आर्थिक र ऐतिहासिक पहिचान हो । व्यापारिक केन्द्र ध्वस्त पारेर विकास हुँदैन ।’ स्थानीयसँग सहमति गरेर दीर्घकालीन समाधान खोज्न सरकारसँग उनले आग्रह गरे ।

मुख्य सडक विस्तारको चर्चासँगै वीरगञ्जको व्यापारिक क्षेत्रमा अन्योल र त्रासको अवस्था सिर्जना भएको छ । स्थानीय प्रशासनले सडक सीमाभित्र पर्ने संरचना हटाउन सूचना जारी गरिसकेको छ भने प्रभावित पक्षले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?