News Summary
Generated by OK AI. Editorially reviewed.- ताइवानको फेंगलिन सहरले हरेक वर्ष शंखेकिराको सुस्त दौड प्रतियोगिता आयोजना गरेर शान्त र सन्तुलित जीवनशैलीको सन्देश दिन्छ।
- सन् २०२४ को भूकम्पपछि पर्यटन घटेपछि स्थानीयले शंखेकिरा दौडलाई पर्यटक आकर्षणको केन्द्र बनाउने निर्णय गरेका थिए।
- यस वर्षको दौडमा ब्रदर स्नेलले ३ मिनेट ३ सेकेन्डमा ३३ सेन्टिमिटर दूरी पार गरी च्याम्पियन बनेका छन्।
वर्तमान जीवनशैली र पूरै संसार नै भागदौडपूर्ण छ। मानिसलाई कत्तिपनि फुर्सद छैन। आखिर हामी के भेट्टाउन यसरी दौडिरहेछौं ? के जीवनको सार दौडधुप मात्रै हो ? हामीले शान्त अनि सुस्त जीवन जिउँदा के फरक पर्ला र ? सायद यस्तो सोंचाइ पटक पटक आउँछ। त्यहीँ सोंच र दर्शनलाई मूर्तरुप दिन ताइवानको एउटा सानो सहरले चोटिलो कार्यक्रमको आयोजना गर्दछ ।
ताइवानको हुआलिन काउन्टीमा रहेको फेंगलिन सहरका मानिसहरुले दौडधुपयुक्त जीवनशैलीको साटो सुस्त, शान्त र सन्तुलित जीवनलाई उत्सवका रूपमा मनाउँछन्। जसको प्रमाणस्वरुप त्यहाँ हरेक वर्ष शंखेकिराको अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ।
निकै सुस्त गतिको शंखेकिराको दौड ! सुन्दैमा अनौठो लागन्ने यस्तो कार्यक्रम फेंगलिन सहरको पहिचान नै बनिसकेको छ र त्यो ताइवानभर नै चर्चाको विषय बनेको छ।
शंखेकिराबाट सिक्छन् जीवन जिउने कला

वास्तवमा शंखेकिरा उक्त सहरको प्रतीकसमेत बनेको छ। करिब १० हजार जनसंख्या रहेको फेंगलिन सहरले सन् २०१४ मा सिट्टास्लो भनिने सुस्त सहरहरुको सञ्जालमा आबद्ध भएर आफ्नो छुट्टै पहिचान बनाएको थियो। उक्त सञ्जालको प्रतीक पनि शंखेकिरा नै हो। यसले धैर्य, सन्तुलन र शान्त जीवनको सन्देश दिन्छ।
सन् २०२४ मा आएको भूकम्पपछि सहरको पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो। पर्यटकहरूको संख्या घट्न थालेपछि स्थानीय बासिन्दाहरूले आफ्नो त्यहीँ सुस्त जीवनशैलीको पहिचानलाई आकर्षणको केन्द्र बनाउने निर्णय गरे। त्यसको परिणामस्वरूप पुनः शंखेकिरा दौडको आयोजना गरियो।
ब्रदर स्नेल बन्यो च्याम्पियन
यसपटकको शंखेकिरा दौडमा पूरै देशभरबाट सहभागीहरू आ-आफ्ना शंखेकिरा लिएर पुगेका थिए। दौड प्रतियोगिताको ढाँचा निकै सरल तर रोचक थियो। एउटा गोलाकार टेबलको बीचमा शंखेकिराहरू राखिन्थ्यो र हिँड्न लगाइन्थ्यो। तीमध्ये जो सबैभन्दा पहिले ३३ सेन्टिमिटर टाढाको किनारासम्म पुग्थ्यो त्यहीँ नै विजेता घोषित हुन्थ्यो।
यस वर्ष ब्रदर स्नेल नामको शंखेकिराले ३ मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बन्न सफल भयो।
धेरै सहभागीहरूले आफ्ना शंखेकिराहरूलाई दौडका लागि विशेष तरिकाले तयार पार्ने गरेका छन्। तिनीहरूलाई ताजा फलफूल, तरकारी र सखरखण्डका पातहरू खुवाइन्छ। यसपटकको शंखेकिरा दौड प्रतियोगिताका लागि एक ताइवानी दम्पती जायन्ट अफ्रिकन स्नेल प्रजातिको शंखेकिरा ल्याएर त करिब पाँच घण्टाको यात्रा गरी फेंगलिन पुगेका थिए ।
हुनत फेंगलिन सहर केवल शंखेकिरा दौडका लागि मात्र चर्चित छैन । त्यहाँ ई-बाइक टूर, जापानी शासनकालका भवनहरू, पुराना सुर्ती गोदामहरू तथा संस्कृतिले पनि पर्यटकहरूलाई आकर्षित गर्छ। सहरको शान्त वातावरण, हरियाली र सुस्त जीवनशैलीले आगन्तुकहरुलाई निकै लोभ्याउँछ ।
आयोजकहरूका अनुसार शंखेकिरा दौड कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन दिनु मात्र होइन। यसको खास ध्येय मानिसहरूलाई एउटा सन्देश दिनु पनि हो कि जीवनमा हरेकपटक तीव्र गतिमा दौडिनु आवश्यक हुँदैन। कहिलेकाहीँ बिस्तारै अघि बढेर पनि जीवनको वास्तविक आनन्द लिन सकिन्छ ।
प्रतिक्रिया 4