News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएको खुलेको छ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे र लापरबाहीमा गरी एक हजार रुपैयाँ जरिबाना तिरेको जनाएको छ।
- भट्टले आफन्तमार्फत जरिबाना तिरेपछि गाडी कागज गरेर छाडिएको र दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।
२७ वैशाख, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मदिरा सेवन (मापसे) गरेर गाडी चलाएका कारण दुर्घटनामा परेको खुलेको छ ।
मापसे गरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिबाना तिराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मापसे गरेर गाडी चलाएकोमा पाँच सय रुपैयाँ जरिबाना तिराएको छ भने लापरबाही गरेकोमा थप पाँच सय जरिबाना तिराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम आचार्यले मेयर भट्टलाई एक हजार रुपैयाँ जरिवाना गरेर गाडी छाडिएको जानकारी दिए ।
उनकाअनुसार भट्टले आफन्त मार्फत ट्राफिक प्रहरी कार्यालयमा जरिबाना तिरेपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडेको छ ।
शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना परेको थियो । अनियन्त्रित गाडी सडकको छेउमा रहेको रेलिङमा ठोक्किएको थियो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि गाडीको अगाडिको भाग भने क्षतिग्रस्त भएको छ । मेयरको गाडी दुर्घटनामा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले राति मापसे परीक्षण गर्न नपाए पनि मेयर स्वयंले मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि जरिबाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4