+
+
Shares

बेलायती मोडेलको ब्रिटिस कलेज

काठमाडौं, ललितपुर, पोखरा, चितवन र रुपन्देहीमा स्कुलदेखि कलेजसम्म विस्तार भएको छ । स्कुलदेखि मास्टर्स तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजन कँडेलले सन् २०११ मा ब्रिटिस कलेज स्थापना गरी नेपालमा बेलायती मोडेलको उच्च शिक्षा सुरु गर्नुभयो।
  • ब्रिटिस कलेजले अहिले २ हजार विद्यार्थीलाई कम्प्युटर साइन्स, बिजनेस म्यानेजमेन्ट, डेटा साइन्स लगायतका विषयमा पढाइ गराइरहेको छ।
  • राजन कँडेलले नेपाललाई एजुकेसन हब बनाउन सरकार र सम्बन्धित निकायसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।

८ जेठ, काठमाडौं । २६ वर्षअघि देशमा अवसर सीमित थियो । राजनीतिक वातावरण अस्थिर थियो । उच्च शिक्षा र अवसरको खोजीमा चितवनका राजन कँडेलले बेलायतको उडान भरे ।

‘पढ्ने, काम गर्ने, संसार बुझ्ने र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले बेलायत गएको हुँ,’ सन् १९९९ दिनलाई स्मरण गर्छन् उनी ।

१७ वर्षको उमेरमा नेपाल छोडेका राजनको संघर्ष बेलायतमा सुरु भयो । ‘बेलायतमा सजिलो थिएन । भाषा, संस्कृति बुझ्न समय लाग्यो । घरबाट लागेको ऋण तिर्नुपर्ने थियो । परिवारलाई सहयोग पनि गर्नुपर्ने । त्यसैले सुरुका दुई–तीन वर्ष पढाइभन्दा बढी काम र भाषा सिकाइमै बित्यो,’ उनले सुनाए ।

कम्प्युटर साइन्सको माग विश्वभर बढिरहेको थियो । उनी कम्प्युटर साइन्स पढ्नका लागि बेलायत पुगेका थिए । तर चुनौती ठूलो थियो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बेलायतका विश्वविद्यालयको शुल्क महँगो थियो । नेपालबाट पैसा लिएर पढ्ने अवस्था थिएन । काम गरेर पैसा बचाउँदै घरमा पनि पठाउँदै पढ्नुपर्ने बाध्यता थियो । संघर्ष गरेर नै उनले बेलायतबाट डिग्री पूरा गरे ।

‘विदेशमा पनि गुणस्तरीय शिक्षा सबैका लागि सहज हुँदैन,’ उनले भने, ‘मध्यम वर्गका विद्यार्थीले विदेशमा पढ्न कठिन छ ।’

नेपालका मध्यमवर्गीय विद्यार्थीका लागि अन्तर्राष्ट्रिय शिक्षा पहुँचभन्दा बाहिर रहेको उनले महसुस गरे । र, मध्यम वर्गका विद्यार्थी पढ्ने कलेज किन नखोल्ने भन्ने सोचे । त्यसपछि उनले दाइहरूसँग मिलेर सन् २००२ मा लन्डनमै पहिलो कलेज स्थापना गरे । तर विदेशी विश्वविद्यालयका डिग्री लिन नेपाली विद्यार्थी विदेशै जानुपर्ने बाध्यता थियो । नेपाली विद्यार्थीका लागि नेपालमै विदेशी विश्वविद्यालयको शिक्षा लिने निर्णयमा उनी पुगे ।

अनि जन्मियो ब्रिटिस कलेज । सन् २०११ मा उनले ब्रिटिस कलेज स्थापना गरे । थापाथलीस्थित ब्रिटिस कलेजका संस्थापक तथा सीईओ हुन् राजन कँडेल ।

‘नेपालको उच्च शिक्षा प्रणालीमा समस्या थियो । विश्वविद्यालयका कोर्स समयमा सकिँदैनथे । परीक्षा र नतिजाको टुंगो हुँदैनथ्यो । त्यसैले विदेशी विश्वविद्यालयको कोर्स सुरु गरिएको हो,’ उनले भने ।

यसरी राजनले बेलायती मोडेलको उच्च शिक्षा नेपालमा सुरु गरे । ‘विद्यार्थीलाई ‘क्रिटिकल थिंकर’ बनाउने, स्वतन्त्र रूपमा सोच्न र व्यावहारिक रूपमा काम गर्न सिकाउने खालको छ । त्यही प्रणाली स्थापित गर्न कलेजको नाम पनि बेलायतसँग जोडेर ब्रिटिस कलेज राखिएको हो,’ उनले भने ।

तर, कलेज स्थापना गर्न सहज थिएन । ‘लाइसेन्सका लागि सात महिना संघर्ष गर्नुपर्‍यो । नीतिगत अस्पष्टता र ब्युरोक्रेसी ठूलो चुनौती थियो । सरकारी कार्यालय धाउनुपर्थ्यो । फाइल एक विभागबाट अर्को विभागमा घुम्थ्यो,’ उनी भन्छन् ।

७ महिनासम्म लाइसेन्स नपाएपछि बन्द गरेर फर्किने मनस्थितिसमेत बनाएका थिए, उनले । ‘करोडौं लगानी गरिसकेपछि सात महिनासम्म लाइसेन्स नपाउँदा अब सबै बन्द गरेर फर्किनुपर्ने हो कि भन्ने अवस्था आएको थियो,’ उनी सम्झिन्छन् । अन्ततः उनले लाइसेन्स पाए ।

२१ विद्यार्थीबाट सुरु, हाल २ हजार

कलेजले बेलायतको बिजनेस म्यानेजमेन्ट कार्यक्रमबाट सुरु गर्‍यो । पहिलो ब्याचमा २१ विद्यार्थी थिए । विस्तारै विद्यार्थीको संख्या बढ्दै गयो । ६०, ७०, १००, २०० हुँदै अहिले ठूलो संख्यामा विस्तार भएको छ । हाल २ हजारको संख्यामा विद्यार्थी पुगेका छन् ।

कम्प्युटर साइन्स, नेटवर्किङ, एकाउन्टिङ, होटल म्यानेजमेन्ट लगायतका कार्यक्रम थपिँदै गयो । अहिले डेटा साइन्स, साइबर सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता विषय पढाइ हुन थालेको छ । जुन विषय पछिल्लो समय विद्यार्थीको रोजाइमा परेको छ । ए–लेभलको कोर्स पनि यहाँ पढाइ हुन्छ ।

स्कुलदेखि मास्टर्स तहसम्म पढाइ, देशका विभिन्न ठाउँमा विस्तार

काठमाडौं, ललितपुर, पोखरा, चितवन र रुपन्देहीमा स्कुलदेखि कलेजसम्म विस्तार भएको छ । स्कुलदेखि मास्टर्स तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । एसईई नेपाली बोर्डअन्तर्गत भए पनि प्राथमिक तहका केही कार्यक्रम र ए–लेभल बेलायती मोडेलको छ ।

‘ब्याचलर र मास्टर्स कार्यक्रम भने पूर्ण रूपमा बेलायती विश्वविद्यालयसँग सम्बन्धित छन्,’ राजनले भने, ‘बेलायती शिक्षा प्रणाली व्यावहारिक, सिर्जनशील र विद्यार्थी–केन्द्रित हुन्छ ।’ गुणस्तरीय शिक्षा लिनकै लागि विदेश जानुपर्ने बाध्यता कम गर्न चाहेका हुन् उनले । ‘सबै विद्यार्थीलाई विदेश जानबाट रोक्न सम्भव छैन । विद्यार्थी अन्तर्राष्ट्रिय अनुभव लिन चाहन्छन् । नेपालमा बसेर त्यो अनुवभ विद्यार्थीले लिन पाउँछन्,’ उनले भने, ‘यदि यस्ता संस्था नेपालमा नभएका भए धेरै विद्यार्थी विदेश जान्थे ।’

उनका अनुसार अहिले विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूमा झन्डै ३५ देखि ४० हजार विद्यार्थी नेपालमै अध्ययन गरिरहेका छन् । ‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई परिवारसँगै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाएका छन्,’ राजन भन्छन् ।

ब्रिटिस कलेजमा ब्याचलर तहको शुल्क करिब १६ लाखदेखि २१ लाख रुपैयाँसम्म छ । चार्टर्ड एकाउन्ट (एसीसीए) अध्ययन गर्न ८ देखि ९ लाख रुपैयाँसम्म पुग्छ । यी शुल्क पूरै कोर्स पूरा गर्नको लागि हो ।

छात्रवृत्तिको अवसर, पढाइ मैत्री वातवरण

जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था छ । निम्न आय स्रोतदेखि आयस्रोत राम्रो भएका परिवारले समेत पढ्न सक्छन् । त्यसका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । ‘यो वर्ग त्यो वर्गले पढ्ने भन्ने छैन । सबै वर्गले पढ्न सक्ने व्यवस्था गरेका छौँ । जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था छ,’ उनले भने ।

क्याम्पसले पढाइ मैत्री वातवरण बनाएको छ । विद्यार्थीको लागि ल्याब लाइब्रेरीको व्यवस्था छ । शान्त वातावरणमा विद्यार्थीले पढ्न पाउँछन् । अतिरिक्त गतिविधिमा पनि कलेजले जोड दिएको छ । ‘विद्यार्थीको सिकाइसँगै अतिरिक्त गतिविधिमा सक्रिय गराउँछौँ,’ उनले भने । खेलकुदका कार्यक्रममा पनि विद्यार्थी सहभागी हुन् सक्छन् । अन्तर्राष्ट्रिय स्तरको शिक्षा, दक्ष शिक्षक, आधुनिक पूर्वाधार रहेको छ ।

विदेशमा इन्टर्न

नेपालमा आफ्नै घरमा बसेर पढ्नुका साथै इन्टर्नको लागि विदेश जान चाहेका विद्यार्थीले अवसर पाउने छन् । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विदेशमा इन्टर्न गर्न पाउने व्यवस्था गरिएको हो । ‘विद्यार्थीले इन्टर्नको लागि विदेश जाने अवसर पनि पाउँछन्,’ उनले भने ।

जनशक्ति र पैसा विदेशिन रोक्ने प्रयास

अहिले नेपालबाट हरेक वर्ष झन्डै एक लाख २० हजार विद्यार्थी विदेश अध्ययनका लागि गइरहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार उनीहरूले वार्षिक रूपमा करिब एक अर्ब अमेरिकी डलर विदेशमा खर्च गरिरहेका छन् । नेपालको विदेशी मुद्रा सञ्चितिबाट ठूलो रकम बाहिरिइरहेको छ । यो देशका लागि ठूलो आर्थिक नोक्सानी भएको निचोड उनको छ ।

‘हाम्रो विभिन्न क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । यदि यी विद्यार्थीहरू विदेश गएका भए उनीहरूको ट्युसन फि, बसोबास र अन्य खर्च गरेर करिब १२० मिलियन अमेरिकी डलर बराबरको रकम विदेश जान्थ्यो । ब्रिटिस कलेज जस्ता संस्था नेपालमै भएकाले त्यो ठूलो रकम देशभित्रै रोकिएको छ,’ राजनले भने ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै उपलब्ध भएकाले विदेश जानुपर्ने बाध्यता कम भएको उनको तर्क छ । ‘विदेशी मुद्रा जोगिएको छ,’ उनी भन्छन् ।

शिक्षासँगै रोजगारी पनि

शिक्षासँगै देशमै रोजगारीको सिर्जना गरिरहेको उनको भनाइ छ । ‘हामीले रोजगारी सिर्जना गरेका छौं । हाम्रो समूहअन्तर्गत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा झन्डै एक हजार जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘हामीमाथि कहिलेकाहीँ विदेशमा पैसा पठाउँछन् भन्ने आरोप पनि लाग्छ । तर हामीले विदेश पठाउने रकम विश्वविद्यालयसँगको सम्बन्धन वा शैक्षिक व्यवस्थापनका लागि सीमित मात्रामा हुन्छ ।’

विदेशी सम्बन्धन भएका कलेजहरूले देशको विदेशी मुद्रा जोगाउन, दक्ष जनशक्ति उत्पादन गर्न, रोजगारी सिर्जना गर्न र कर राजस्व बढाउन योगदान पुर्‍याइरहेको उनको दाबी छ ।

‘निजी संस्था भएकाले सरकारबाट कुनै अनुदान वा आर्थिक सहयोग लिँदैनौं । सरकारको एक रुपैयाँ पनि खर्च नगरी निजी क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको छ,’ उनी भन्छन्, ‘यस्ता संस्थालाई प्रोत्साहन गर्नु देशकै हितमा हुन्छ ।’ नेपाली युवालाई सिपयुक्त बनाउने र नेपालमै रोजगारी सिर्जना गर्ने उनको योजना हो । राजन कँडेलको आईटी कम्पनीसमेत रहेकाले त्यहीँ काम गर्ने अवसर पनि मिल्छ ।

नेपाललाई ‘एजुकेसन हब’ बनाउने

राजन नेपाललाई एजुकेसनको हब बनाउन चाहन्छन् । बेलायत, दुबई र क्यानडामा पनि कलेज सञ्चालन गरिरहेका उनको नेपाललाई शिक्षा हब बनाउन सकिने अवधारणा । ‘नेपाललाई विकसित बनाउने आधार भनेकै शिक्षा र दक्ष जनशक्ति हो । त्यसैले एजुकेसन हब बनाउनु पर्छ,’ उनले भने, ‘विकसित राष्ट्र बनाउने आधार भनेकै दक्ष जनशक्ति हो । र, दक्ष जनशक्ति निर्माण गर्ने माध्यम शिक्षा हो ।’

एजुकेसन हबका रूपमा विकास गर्न सरकार, नीति निर्माता र सम्बन्धित निकायहरूसँग सहकार्यको आवश्यकता देख्छन् उनी । शिक्षाको हब बनाउन डायस्पोराप्रति सरकारको व्यवहार सुधार्नुपर्ने मत उनको छ ।

‘एनआरएन कार्ड हुँदाहुँदै पनि भिसा झन्झट, लगानी फिर्ता लैजान समस्या, विदेशी डिग्रीको समकक्षतामा जटिलता जस्ता कारणले डायस्पोरालाई निरुत्साहित गरिरहेको छ । तर देशलाई सबैभन्दा धेरै माया गरेर योगदान गर्न चाहने शक्ति डायस्पोरामै छ,’ राजन भन्छन् ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?