News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि स्थायी निक्षेप सुविधा दैनिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
- यसअघि तीन दिनका लागि उपलब्ध गराइने यो सुविधा अबदेखि एक दिनका लागि मात्र कायम हुने राष्ट्र बैंकले जनाएको छ ।
- वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ल्याइएको यस सुविधा अन्तर्गत बैंकहरूले वार्षिक २.७५ प्रतिशत ब्याज पाउनेछन् ।
१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाएको छ । केन्द्रीय बैंकले बुधबार देखि दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध गराउने भएको छ ।
बैंकले आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा दैनिक गराएको हो । सरकारले शनिबार र आइताबार सार्वजनिक विदा कायम गरेपछि केन्द्रीय बैंकले कार्यलय खुल्ने सबै दिन स्थायी निक्षेप सुविधा दिने व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता भएको अवस्थामा एक दिनका लागि केन्द्रीय बैंकमा राख्ने व्यवस्था नै स्थायी निक्षेप सुविधा हो । यसअघि बैंक तथा वित्तीय संस्थाले ३ दिन मात्रै केन्द्रीय बैंकमा पैसा राख्दै आएका थिए । बैंकको नयाँ व्यवस्थाले एक दिन कायम गरेको छ ।
केन्द्रीय बैंकले सोमबार निर्णय गर्दै बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा उपलब्ध हुने व्यवस्था गरिएको जनाएको छ । यसरी उपलब्ध गराइएको सुविधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा हुनेछ ।
राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको र स्वदेशी मुद्राको बचत तथा मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको संस्थाको अधिक तरलता मात्रै राष्ट्र बैंकले स्वीकार गर्नेछ ।
यसवापत केन्द्रीय बैंकले २.७५ प्रतिशत ब्याजदर दिन्छ । स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने कार्याविधिमा उल्लेख छ ।
पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको समसया जटिल बन्दै आएको छ । सोमबार मात्रै बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत ६३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका थिए ।
केन्द्रीय बैंकले ३ दिनका लागि लिने गरेको स्थायी निक्षेप एक दिनमा झारी अधिक तरलताको सहज व्यवसथापन गर्न खोजेको देखिन्छ । सोमबारसम्ममा केन्द्रीय बैंकमा १० खर्ब ४९ अर्ब बैंक तथा वित्तीय संस्थाको अधिक तरलता थुप्रिएको छ ।
प्रतिक्रिया 4