१३ जेठ, काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले ‘समग्र मधेश दुई प्रदेश’को व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई सुझाव दिँदै समग्र मधेशलाई पूर्वी र पश्चिमी मधेशका रुपमा पुन: सिमांकन गर्न माग गरेको हो ।
आठ जिल्लालाई मधेश प्रदेशमा र अन्य जिल्लालाई अन्य प्रदेशमा राखिँदा मधेश र थरुहटका जनताले असम्मानित महसुस गरेको तमलोपाको भनाइ छ ।
संविधान जारी भएदेखि नै प्रदेशहरुको सिमांकन विवादास्पद भएको भन्दै तमलोपाले भनेको छ, ‘मधेशका आठ जिल्ला बाहेकका क्षेत्र जबर्जस्ती अन्य प्रदेशमा गाभिएका छन् । यहाँका मधेश र थरुहटका जनता पहिचान र स्वशासनको हकमा असम्मानित महसुस गरेका छन् । हामी समग्र मधेश दुई प्रदेश पूर्वी र पश्चिमी मधेशहरुका रुपमा पुनर्सीमांकनको माग गर्दछौं ।’
तमलोपाले संविधान संशोधन सम्बन्धमा निर्वाचन प्रणाली, शासकीय स्वरुप लगायतका विषयमा आठ बुँदे सुझाव दिएको छ ।
संघीयतालाई बलियो बनाउनुपर्ने उसको जोड छ । सुझाव पत्रमा लेखिएको छ, ‘संविधान संशोधन मार्फत् संघीयतालाई कमजोर गर्ने वा यसको स्वरुप परिवर्तन गरी शक्तिको केन्द्रीकरणको कुनै पनि प्रयास स्वीकार्य हुने छैन भन्नेतर्फ ध्यान आकर्षित गर्दछौं ।’
प्रदेशलाई निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक प्रणाली
साथै प्रदेशलाई निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न पनि तमलोपाले सुझाव दिएको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेशलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरियोस्,’ तमलोपाले भनेको छ ।
राष्ट्रिय सभामा समेत जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने उसको माग छ ।
तमलोपाले नेपालमा शासकीय स्वरुपको निमित्त ‘वेष्टमिनिटर बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था’ नै सबैभन्दा उपयुक्त हुने जिकिर गरेको छ ।
साथै ‘स्थानीय सरकारको निर्वाचन गैरदलीय’ आधारमा हुने व्यवस्था गर्न पनि तमलोपाले सुझाव दिएको छ ।
प्रतिक्रिया 4