+
+
Shares

हाल बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी

बन्दै गरेको नयाँ संसद् हलको फिनिसिङ लगायतका कार्य नसकिएकाले हाल बसिरहेकै बहुउद्देश्यीय हलबाट बजेट ल्याउने तयारी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १५:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ संसद् भवनको हल निर्माण नसकिएकाले आगामी आर्थिक वर्षको बजेट भाषण हाल बैठक बसिरहेकै बहुउद्देश्यीय हलबाट ल्याइने भएको छ ।
  • संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ हलमा काम चलिरहेकाले हालकै हलमा १५ जेठको संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको बताए ।
  • २०७६ सालमा निर्माण सुरु भएको नयाँ संसद् भवनको हालसम्म छ पटक म्याद थपिए पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

१३ जेठ, काठमाडौं । संघीय संसद् सचिवालयले हाल प्रतिनिधिसभाको बैठक बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी गरेको छ ।

बन्दै गरेको नयाँ संसद् हलको फिनिसिङ लगायतका कार्य नसकिएकाले हाल बसिरहेकै बहुउद्देश्यीय हलबाट बजेट ल्याउने तयारी भएको हो ।

बजेट प्रस्तुत गर्नु अगाडि रिहर्सल गर्ने अभ्यास छ । रिहर्सल बिहीबार बहुउद्देश्यीय हलमै गर्ने तयारी छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बन्दै गरेको हलमा काम चलिरहेकाले हल बसिरहेकै बहुउद्देश्यीय हलमा बजेट भाषणको तयारी भएको जानकारी दिए ।

उनले भनेका छन्, ‘नयाँ संसद् भवनको हलमा १५ जेठमा संयुक्त बैठक बस्ने र त्यहीँबाट सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी पूर्व तयारी हुन सकेको देखिएन । यो सुनिश्चित पनि हुन नसकेको सन्दर्भमा हाल बैठक सञ्चालन भइरहेकै बहुउद्देश्यीय हलमा १५ जेठको संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको छ ।’

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ ।

सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

नयाँ संसद् भवनको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन ।

यसरी म्याद थप्दै ६ पटा म्याद थपिइसकेको छ । पछिल्लो पटक ९० दिनको म्याद थप भएको थियो । ९० दिनको म्याद गत फागुनदेखि सुरु भएको थियो । यो म्याद यही जेठमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?