१६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकमाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ऊर्जा क्षेत्रको विकास र उपयोगबारे सरकार उल्टो बाटोमा हिँडेको भन्दै यो कदमलाई अविवेकी निर्णयको संज्ञा दिएका हुन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले विद्युत् प्रयोगकर्तामाथि भने उल्टै थप करको भार थोपरेको भन्दै उनले कसको हितमा यस्तो निर्णय गरियो भनी प्रश्न समेत उठाएका छन्।
‘नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम हो,’ महासचिव पोखरेलले भनेका छन्।
त्यसैगरी, पोखरेलले बजेटमार्फत विद्युतीय गाडी (ईभी) को प्रयोगलाई समेत निरुत्साहित गर्न खोजिएको बताएका छन्। पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि भएको समयमा ‘ग्रीन इनर्जी’ लाई प्रवर्द्धन गर्नुपर्नेमा उल्टै विद्युतीय गाडीमा करको भार थोपरेर सरकारले दुरुत्साहन गरेको उनको भनाइ छ।
बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन मात्रै यस्तो निर्णय गरिएको भए तत्काल गल्ती सच्याउन पोखरेलले सरकारसँग माग गरेका छन्। सरकार आफैंले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत वृद्धि हुँदा भ्याट लगाएर जनताको ढाड सेक्न नहुने भन्दै उनले यसलाई आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले विद्युत् भ्याट फिर्ता गर्न, जनताको हितमा निर्णय गर्न र स्वदेशी ऊर्जाको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया 4