News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका, बेलायत र अस्ट्रेलिया सम्मिलित ओकस सैन्य गठबन्धनले समुद्रमुनि चल्ने मानवरहित पनडुब्बी ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेको छ ।
- यस पनडुब्बी ड्रोन परियोजनाका लागि बेलायतले १५ करोड पाउन्ड अर्थात् करिब २० करोड १० लाख डलर लगानी गर्ने भएको छ ।
- ओकस गठबन्धनलाई विशेषगरी हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई काउन्टर गर्ने रणनीतिका रूपमा लिने गरिएको छ ।
१७ जेठ, काठमाडौं । अमेरिका, बेलायत र अस्ट्रेलिया सम्मिलित (ओकस सैन्य गठबन्धन) ले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने भएका छन् ।
सिंगापुरमा आयोजित सुरक्षा सम्मेलन (सांग्रिला डायलोग)मा यो निर्णय भएको हो । सम्मेलनपछि तीनवटै देशका रक्षा मन्त्रीहरुले समुद्र मुनिको रक्षा प्रणाली चुस्त बनाउन र महत्वपूर्ण समुद्री केबलहरूको सुरक्षा गर्न अत्याधुनिक ‘अनक्रुड अन्डरसी भेइकल’ अर्थात् मानवरहित पनडुब्बी ड्रोन प्रविधि विकास गर्ने घोषणा संयुक्त रूपमा गरे ।
यो प्रविधि आगामी वर्षसम्ममा तयार भइसक्ने अपेक्षा गरिएको छ । यस परियोजनाको कुल लागत स्पष्ट नगरिए पनि बेलायती रक्षामन्त्री जन हिलीले यसमा आफ्नो देशले १५ करोड पाउन्ड (करिब २० करोड १० लाख डलर) लगानी गर्ने जानकारी दिएका छन् ।
सन् २०२१ मा स्थापना भएको ओकस रक्षा सम्झौताको मुख्य उद्देश्य परमाणु पनडुब्बी विकास गर्नु र सैन्य विशेषज्ञता साझा गर्नु हो । ओकस गठबन्धनलाई मुख्यत: इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रमा उसको गतिविधिलाई काउन्टर गर्ने रणनीतिका रूपमा हेरिँदै आएको छ ।
‘पिलर टु’ अन्तर्गतको पहिलो मुख्य परियोजना
यो ड्रोन प्रविधि ओकसको ‘पिलर टु’ अन्तर्गतको पहिलो ठूलो परियोजना हो । यस स्तम्भअन्तर्गत साझेदार देशहरूले लामो दूरीको हाइपरसोनिक मिसाइल, अन्डरवाटर रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता अत्याधुनिक प्रविधिमा सँगै काम गरिरहेका छन् ।
संयुक्त विज्ञप्ति अनुसार, यो नयाँ परियोजनाले पनडुब्बी ड्रोनका लागि अत्याधुनिक हतियार र प्रणालीहरू विकास गर्नेछ । यसले समुद्र मुनिका पूर्वाधारहरूको सुरक्षा गर्ने, सैन्य आक्रमणहरू गर्न सक्ने, निगरानी, सूचना संकलन र बन्दोबस्तीका सामान ओसारपसार (लजिस्टिक) गर्ने कार्य गर्नेछ ।
बेलायती रक्षामन्त्री हिलीले ओकस गठबन्धनको सुस्त प्रगतिलाई लिएर हुँदै आएको आलोचनालाई स्वीकार गर्दै भनेका छन्, ‘ओकसमा लामो समयसम्म हामीले कुरा धेरै गर्यौँ तर उपलब्धि थोरै दियौँ । हाम्रा तीनवटै सरकारको नेतृत्वमा अब त्यो स्थिति बदलिएको छ ।’
रक्षामन्त्री हिलीका अनुसार यी ड्रोनहरू प्रशान्त महासागर, एटलान्टिक महासागर र सुदूर उत्तरी (हाई नर्थ) क्षेत्रमा सुरक्षा सन्तुलन कायम राख्न सहयोगी हुनेछन् ।
रुस र चीनको बढ्दो खतरा
यो घोषणा हुनुभन्दा एक महिना अघि मात्र बेलायतले रुसमाथि आफ्नो समुद्री केबल र पाइपलाइनहरूमा गुप्त अपरेसन चलाएको आरोप लगाएको थियो, जसलाई रुसले अस्वीकार गर्दै आएको छ ।
गत डिसेम्बरमा मात्र बेलायत र नर्वेले उत्तर एटलान्टिकमा रुसी पनडुब्बीहरू र्ट्याक गर्न र समुद्री केबल जोगाउन सम्झौता गरेका थिए । बेलायत करिब ६० वटा समुद्री केबलहरूसँग जोडिएको छ, जहाँ हालैका वर्षहरूमा रुसी जहाजहरूको उपस्थिति ३० प्रतिशतले बढेको बताइएको छ ।
यसैगरी, ताइवान र स्विडेनको समुद्री क्षेत्रमा पनि चिनियाँ जहाजहरूले समुद्र मुनिको केबलमा क्षति पुर्याएको आशंका गरिएको छ । यद्यपि, शनिबार बीबीसीले सोधेको प्रश्नमा तीनै देशका रक्षामन्त्रीहरूले यो प्रविधि रुस वा चीन लक्षित हो या होइन भन्नेबारे सिधा जवाफ नदिएको समाचारमा उल्लेख छ ।
‘पिलर वान’ र अस्ट्रेलियाको चुनौती
बीबीसीका अनुसार ओकसको ‘पिलर वान’ अन्तर्गत बेलायत र अस्ट्रेलियाका लागि परमाणु ऊर्जाबाट चल्ने अत्याधुनिक आक्रमणकारी पनडुब्बीहरू निर्माण गरिँदैछ । अस्ट्रेलियाका लागि यो ऐतिहासिक सैन्य स्तरोन्नति हो । अमेरिकाले बेलायतपछि आफ्नो विशिष्ट आणविक सञ्चालन प्रविधि साझेदार गर्न लागेको अस्ट्रेलिया दोस्रो देश हो ।
तर, अस्ट्रेलियाको इतिहासकै सबैभन्दा ठूलो यो रक्षा परियोजना समयमै पुरा हुन सक्छ कि सक्दैन भन्नेमा आशंकाहरू उब्जिएका छन् । यी नयाँ पनडुब्बीहरू सन् २०४० को दशकभन्दा अघि तयार हुने छैनन् । त्यस अवधिसम्मका लागि अमेरिका र बेलायतले आफ्ना आणविक पनडुब्बीहरू अस्ट्रेलियामा पालैपालो तैनाथ गर्नेछन् । सन् २०३० को दशकमा अस्ट्रेलियाले अमेरिकासँग सेकेन्ड–ह्यान्ड आणविक पनडुब्बीहरू खरिद गर्नेछ ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले यो पनडुब्बी परियोजना अघि बढाउनुको विकल्प नभएको र यसको कुनै ‘प्लान बी’ नरहेको बताए ।
यसैबीच, अमेरिकी रक्षा सचिव पिट हेगसेथले यसै वर्षको अन्त्यसम्ममा अमेरिकी नौसेनाका कर्मचारीहरू अस्ट्रेलिया पुग्ने पुष्टि गरेका छन् ।
प्रतिक्रिया 4