News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र यो महत्वाकांक्षी नभएको दाबी गरे ।
- प्रक्षेपित कुल गार्हस्थ उत्पादनको २८.५ प्रतिशत बराबर मात्र बजेटको आकार रहेकाले यो सानो रहेको उनले उल्लेख गरे ।
- हाल मुलुकको कुल ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको जानकारी अर्थमन्त्री वाग्लेले दिए ।
१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन् ।
बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाञ्छित सीमाभित्र नै बजेट आएको दाबी गरे । बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उनले बताए ।
विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे ।
‘अहिले जुन हल्ला फैलिएको छ कि बजेट ठूलो आयो, होइन बजेट सानो हो, प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ’ उनले भने । भूकम्पपछिका बजेट जीडीको ३० प्रतिशतमाथि आउने गरेकोमा अहिले त्यो ट्रेन्ड भत्काइएको उनले बताए । राज्यको क्षमता अनुकूलतामा बजेट आएको उनको दाबी छ ।
अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए । यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने गरेको उनले बताए । हालसम्म ऋणको आकार २९ खर्ब ७५ अर्ब रहेको वाग्लेले जानकारी दिए ।
राजस्व संकलनको लक्ष्य १५ खर्ब ८० अर्ब रहेको उल्लेख गर्दै उनले राजस्वका सवालमा केही महत्त्वाकांक्षी लक्ष्य रहेको स्वीकारे । विगतका वर्षमा ८/९ प्रतिशत हाराहारीका दरले मात्रै राजस्व वृद्धि भइरहेको सन्दर्भमा अहिले २० प्रतिशत वृद्धिको लक्ष्य लिइएको उनले बताए ।
प्रतिक्रिया 4